
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमा भएका उतार चढावका लागि आफू जिम्मेवार नरहेको स्पष्ट पारेका छन् । शुक्रवार संसदमा उठेको प्रश्नको जवाफ दिँदै उनले पुँजी बजारलाई माथि उठाउन आफूले कुनै भूमिका नखेलेको बताएका हुन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अर्थमन्त्रीले गभर्नरलाई फोन गरेर शेयर बजार उचाल्न लगाएको विषयमा उनीसँग जवाफ मागेका थिए । सुवालको प्रश्न थियो, ‘केही दिन अघि ३७ लाख शेयर कारोबारीमध्ये जम्मा एक सय जनाले मात्र फाइदा उडाउँदा रहेछन् भन्ने अनि उनीहरूकै हित हुने गरी गभर्नरलाई फोन गरेर शेयर मूल्य बढाउ लगाउने काम कसको हितका लागि गरेको हो ?’
उनले अगाडी थपेका थिए, ‘अर्थमन्त्री ज्यू के तपाइको फोनले शेयरकोमूल्य बढ्छ ? कसको स्वार्थका लागि अर्थमन्त्रीले गभर्नरलाई फोन गर्नु भएको हो ?’
सुवाललाई जवाफ दिँदै अर्थमन्त्रीले भने, ‘गभर्नरलाई फोन गरेर शेयर बजार बढाउन मैले भूमिका खेलेको भन्ने कुरा समाचारमा आए पनि त्यो सत्य नभएको स्पष्ट पार्न चाहन्छु ।’
उनले नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरूले गरेको घोटालाका सन्दर्भमा पनि जवाफ दिएका छन् । उनले भने, ‘आन्तरिक घोटालाका सम्बन्धमा छानबिन गर्न मन्त्रीपरिषद्ले उच्च अदालतका न्यायधिसको नेतृत्वमा छानबिन समिति गठन गरिसकिएको छ ।’
प्रतिक्रिया दिनुहोस