
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आफ्नो सेवामा भएको अन्तिम बोइङ लिलाम गरिसकेपछि इन्जिन भेटिएको छ । एउटा इन्जिन रहस्यपूर्ण रूपमा स्पेनको म्याड्रिडमा राखेर जहाज काठमाडौंबाट लिलाम गरिएको थियो । सिंगो जहाज जम्मा ६७ करोडमा लिलाम गर्ने टुंगो लागेपछि इन्जिनसहित ४५ करोडका पार्टपुर्जा भेटिएका छन् । तर, यस विषयमा अनुसन्धान भएको छैन ।
राष्ट्रिय ध्वजावाहक निगमका दुई बोइङले पूर्व ओशाकादेखि र पश्चिम फ्र्यांकफर्ट र लन्डनसम्म सेवा दिएका थिए । तर, निगमले फ्रेन्च कम्पनीका चार एयरबस ल्याएपछि अमेरिकी कम्पनी बोइङका पुराना जहाज विस्थापित गर्ने नीति लिएको थियो । जहाज पुराना भएकाले दोब्बर इन्धन खपत हुने, बारम्बार बिग्रिरहने, मर्मत खर्च उच्च हुने, प्रविधि पनि पुरानो भएकाले समस्या भएको भन्दै निगमले ३० वर्ष पुराना बोइङ हटाउन खोजेको हो ।
३० वर्षमा ८६ हजार घण्टा उडिसकेको ‘कर्णाली’ २०७४ मंसिरमा ‘विमान जहाँ जुन अवस्थामा छ, सोहीअनुसार स्वीकार गर्नुपर्ने’ सर्तमा लिलाम बढाबढबाट नेपाली कम्पनी बीबी एयरवेजलाई १४ करोड ९२ लाख रुपैयाँमा बिक्री गरिएको थियो । त्यस्तै सन् १९८८ मा खरिद गरिएको र ८९ हजार घण्टा उडेको ‘गण्डकी’ लिलाम गर्न पनि २०७५ मा प्रक्रिया सुरु गरिएको थियो । जहाज लिलाम गर्दा यसमा भएका ६ सय पार्टपुर्जासमेतको मूल्यांकन गर्दै न्यूनतम मूल्य ९० करोड निर्धारण गरिएको थियो ।
मूल्यांकन प्रतिवेदनका आधारमा ‘विमान जेजस्तो अवस्थामा छ’ भन्ने सिद्धान्तअनुरूपै २०७६ असारमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्यो । तर, निगमले सूचीमा राखेका सामानका आधारमा सबैभन्दा उच्च अंक ४९ करोड ९४ लाख रुपैयाँको मात्र प्रस्ताव पर्यो । यो अंक मूल्यांकनकर्ताले तोकेको भन्दा ४१ करोड रुपैयाँ कम थियो ।
त्यसपछि दुई पटक प्रस्ताव आह्वान गर्दा पनि जहाजको न्यूनतम मूल्य तिर्ने प्रस्ताव नआएपछि सबैभन्दा धेरै अंक कबोल गर्ने अमेरिकी कम्पनी सीएसडीएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ नामको खरिदकर्तालाई जहाज जिम्मा लगाउने निर्णय भयो । सीएसडीएसले ६७ करोडमा जहाज लान सम्झौता गरेअनुसार तीन करोड ३५ लाख रुपैयाँ धरौटी पनि राखेको छ, ६३ करोड रुपैयाँ भने भुक्तानी गर्न बाँकी छ । कबोल गरेका सबै रकम तिरिसकेपछि निगमले जहाजको नामसारी दिनुपर्नेछ ।
१ सय ९० सिट क्षमताको दोस्रो बोइङ र स्टोरमा रहेका पार्टपुर्जा लिलाम गरेपछि निगम र बोइङको कथा टुंगिने थियो । तर, इन्जिनसहित सयौं पार्टपुर्जा सूचीकृत नै नभएको पत्ता लागेपछि रहस्यपूर्ण कथा बल्ल सुरु भएको छ । अझ इन्जिन नेपालमा पनि होइन, स्पेनको म्याड्रिडस्थित आइबेरिया एयरलाइन्सको वर्कशपमा भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस