
नयाँदिल्ली । प्रस्तावित बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइनको भारततर्फका संरचना निर्माण गर्न नेपाल–भारतबीच ‘सेयर होल्डर एग्रिमेन्ट’ भएको छ । नेपाल विद्युत् प्राधिकरण तथा भारत सरकार मातहतको पावर ग्रिड कर्पोरेसन इन्डिया लिमिटेडबीच सिमानादेखि गोरखपुरसम्म चार सय केभी प्रसारण लाइन निर्माणको काम दुवै देशको संयुक्त लगानीमा बढाउने गरी सम्झौता भएको हो ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले पावर ग्रिडसँग ज्वाइन्ट भेन्चरमा पूर्वाधार निर्माण गर्ने सम्झौता गरेको हो । प्राधिकरण र पावर ग्रिडका अधिकारीबीच ‘सेयर होल्डर एग्रिमेन्ट’ सम्झौतापत्रमा हस्ताक्षर तथा सहमतिको कपी एकअर्कालाई हस्तान्तरण गरियो । नेपाल र भारतबीच दोस्रो क्रस बोर्डर ट्रान्समिसन लाइन बनाउने विषयलाई गति दिने सन्दर्भमा महत्त्वपूर्ण काम भएको प्राधिकरणका निर्देशक प्रबल अधिकारीले जानकारी दिए ।
‘बुटवलबाट सीमासम्म हामी आफ्नै हिसाबले प्रसारण लाइन निर्माण गर्छौं,’ उनले भने, ‘भारतपट्टि भने ज्वाइन्ट भेन्चरमा निर्माण गरिने सम्झौता भएको हो । बिलकुलै नयाँ मोडालिटीमा काम अगाडि बढ्छ ।’ बुटबलदेखि सीमासम्म प्रस्तावित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बाट प्राप्त हुने अनुदानबाट निर्माण गर्ने तयारी छ, जुन सहायता स्वीकार गर्ने–नगर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । अमेरिकी सहयोगबाट नेपालतर्फको प्रसारण लाइन निर्माण हुने भएकाले एमसीसी कार्यान्वयनका लागि भारतसँग सम्झौता गर्नुपर्ने पूर्वसर्त राखिएको छ, जसको निर्माण प्रक्रिया अघि बढाउने गरी प्राधिकरणले सम्झौता गरेको हो ।
सम्झौताअनुसार प्राधिकरण र पावर ग्रिड दुईवटै कम्पनीको समान स्वामित्व रहने गरी एउटा ज्वाइन्ट भेन्चर कम्पनी स्थापना गरिनेछ । त्यही कम्पनीमार्फत दुवैले ५०र५० प्रतिशत लगानी गरेर ट्रान्समिसन लाइन बनाइनेछ । ज्वाइन्ट भेन्चर कम्पनीले नै ट्रान्समिसन लाइन निर्माणलाई कार्यान्वयनमा लैजानेछ । प्रबन्धपत्र, नियमावलीहरूको निर्माणपछि कम्पनी दर्ता गरिनेछ । ती सबै कामका लागि ३ महिना समय लाग्न सक्ने अनुमान गरिएको अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस