aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

अर्थमन्त्री र सचिवद्वारा भन्सारका कर्मचारीलाई कडा निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
अर्थमन्त्री र सचिवद्वारा भन्सारका कर्मचारीलाई कडा निर्देशन

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरूमा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले आइतबार भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । 

भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । उनले माल वस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमानदारिता कायम गरी राजश्व सङ्कलन वृद्धि गर्न कर्मचारीहरूलाई आग्रह गरे ।

कार्यक्रममा अर्थ सचिव मधु कुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरे । सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसाथ गरी काम गर्नुपर्नेमा उनको जोड थियो। उनले सरुवाको लागि कुनै पनि  दल, नेता वा सङ्गठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिए।

सरुवाको लागि फोन गराई दबाब सृजना गर्ने कर्मचारीहरूको माग सुनुवाइ नहुने स्पष्ट उनले स्पष्ट पारे। ‘त्यसरी फोन सोर्सफोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाईज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन् त्यो आफै बुझ्नुहुन्छ ।’

भन्सारका कर्मचारीलाई राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमानदारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए। उनले सेवाग्राहीका गुनासाहरूलाई तत्काल सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए । 

सो कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरूको संरक्षण र प्रोत्साहन गर्ने गरी नीति आएकोमा सरकारलाई धन्यवाद दिएका थिए । उनले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुसी समेत व्यक्त गरे। 

स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नको लागि कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा उनको जोड थियो। भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले लक्षअनुसारको राजश्व सङ्कलन गरिने प्रतिबद्धता  सो अवसरमा व्यक्त गरे  । उनले सदाचारलाई शिरमा तथा राष्ट्रहितलाई छातीमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस