
काठमाडौं। कर्मचारीको सरुवा र बढुवाको लागि दल वा संगठनका नेताबाट आउने फोनले आजित सचिवहरू अन्ततः त्यस्तो काममा नलाग्न भन्दै कर्मचारीलाई नै सम्झाउन थालेका छन्। यस्तै फोन र दबाबले दिक्क भएका अर्थ सचिव मधु कुमार मरासिनीले आइतबार मन्त्री कै सामुन्ने भन्सारका कर्मचारीलाई झपारे।
भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आदेश दिए, "सरुवाको लागि कुनै पनि दल, नेता वा संगठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न गर्नुस्।" उनले यसरी सोर्स लगाउने कर्मचारीलाई मन्त्रालयले कसरी हेर्छ भन्ने पनि स्पष्ट पारे।
अर्थ सचिव मरासिनीले भने, "त्यसरी फोन सोर्सफोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाईज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन् त्यो आफै बुझ्नुहुन्छ ।" सरुवाको लागि फोन गराई दबाब सृजना गर्ने कर्मचारीहरूको माग सुनुवाइ नहुने समेत उनले स्पष्ट पारे।
कार्यक्रममा अर्थ सचिव मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरे । सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसाथ गरी काम गर्नुपर्नेमा उनको जोड थियो।
सोही अवसरमा भन्सारका कर्मचारीलाई राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमानदारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए। उनले सेवाग्राहीका गुनासाहरूलाई तत्काल सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरूको संरक्षण र प्रोत्साहन गर्ने गरी नीति आएकोमा सरकारलाई धन्यवाद दिएका थिए । उनले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुसी समेत व्यक्त गरे।
स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नको लागि कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा उनको जोड थियो। भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले लक्षअनुसारको राजश्व सङ्कलन गरिने प्रतिबद्धता सो अवसरमा व्यक्त गरे । उनले सदाचारलाई शिरमा तथा राष्ट्रहितलाई छातीमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस