aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
'पोस्ट बजेट प्रेस मिट'

अब झारपात उखेल्ने काममा सरकारले खर्च गर्दैन : अर्थमन्त्री शर्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
अब झारपात उखेल्ने काममा सरकारले खर्च गर्दैन : अर्थमन्त्री शर्मा

काठमाडौं । शुक्रवार संसदमा पेस गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रूपले उठेका सवालहरूमा स्पष्ट पारेको छ ।

आइतबार मन्त्रालयमा आयोजित 'पोस्ट बजेट प्रेस मिट' मा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेयकका मुख्य मुख्य विषयहरू उपर उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

प्रस्तुत छ, सो प्रेस मिटमा उठेका प्रश्न र त्यसका जवाफहरूको सम्पादित अंश :

सवाल: पाँच लाख परिवारलाई दश हजारका दरले राहत बाँड्ने योजना आएछ जबकि राष्ट्रिय योजना आयोगको तथ्याङ्क अनुसार बहु आयामिक गरिबीको मारमा ५० लाख व्यक्ति छन् । यो पनि पहुँचवालाको खल्तीमा पुग्ने त होला ?

जवाफ: कोरोनाले रोजगारी गुमाई सङ्कटग्रस्त अवस्थामा पुगेका,  एकदमै पिँधमा रहेका गरिबहरूलाई स्थानीय तहमार्फत मापदण्ड बनाएर यस्तो रकम वितरण गरिन्छ । वास्तविक पीडितहरूको हातमा पुग्ने गरी मापदण्ड बनाइन्छ । यसले साङ्केतिक रूपमा भए पनि केही न केही राहत महसुस गराउनेछ । नेपालमा यो यसरी लक्षित वर्गको हातमा एकैचोटी रकम स्थानान्तरण भएको यो पहिलो पटक हो । पारदर्शी र निष्पक्ष हिसाबले नै वितरण हुनेछ ।

सवाल: एकातिर राजश्व छुट दिने अर्कोतिर राजश्वको लक्ष बढाउने अन्तरविरोधी भएन र ?

जवाफ: स्वदेशी उत्पादन बढाउने, रोजगारी सृजना गर्ने र आयात प्रतिस्थापनको लक्षमा सहयोग पुर्याउने  खालका उद्योगहरूलाई छुट दिएको हो । उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन दिँदा राजश्व पनि बढ्छ । दीर्घकालीन हिसाबले देशलाई फाइदा हुन्छ । राजश्व वृद्धि गर्ने अन्य उपायहरू पनि छन् । करको दायरा विस्तार गरेर भए पनि राजश्व वृद्धिको लक्ष पूरा गर्न सकिन्छ ।

सवाल: उद्योगमा लगानीको स्रोत नखोज्ने व्यवस्था गरेर अनियमित ढंगले कमाएको सम्पत्तिलाई शुद्धीकरण गर्न खोजेको जस्तो देखियो नि ?

जवाफ: जुनसुकै लगानीको कुरा गरेको हैन । भ्रष्टाचारको माध्यमबाट, तस्करीको माध्यमबाट आर्जन गरेको सम्पत्ति लगानी गर्न नपाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ । त्यो कुरामा सरकार सचेत छ । त्यसो हुन दिइँदैन । 

सवाल: सहकारीले कम्पनी खोलेर लगानी गर्न पाउने नीति आएछ, यसो गर्दा जनताको सम्पत्ति दुरुपयोग हुने खतरा अझ बढ्दैन र ?

सहकारी क्षेत्रमा थुप्रिएको पुँजीलाई विद्यमान कानुनी व्यवस्थाले लगानीको लागि ढोका खोलेको छैन । सहकारीसँग भएको ठुलो पुँजी उत्पादनको क्षेत्रमा लगानी भयो भने त्यसबाट रोजगारी सृजना हुनुको साथै राष्ट्रिय पुँजी निर्माणमा योगदान हुनसक्छ । उत्पादन वृद्धि भयो भने आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत टेवा पुग्न सक्छ । यसको कार्यान्वयनको लागि आवश्यक कानुनी प्रबन्ध गर्ने भनिएको हो । 

सवाल: रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने भन्ने कुरा सुन्न थालेको एक दशक पुग्न लाग्यो तर कहिल्यै कार्यान्वयनमा आउन सकेन, अहिले आउँछ भन्ने के ग्यारेन्टी छ ?

हाल रेमिट्यान्सको ९० प्रतिशतभन्दा बढी उपभोगमा खर्च भइरहेको देखिन्छ । जसले गर्दा देशको उत्पादन वृद्धि हुन सकेन र नयाँ रोजगारी पनि सृजना हुन सकेन । विदेशमा कमाएको सबै पैसा दैनिक उपभोग र विलासितामा खर्च हुने ग¥यो । तर अब त्यो प्रवृत्ति बदल्छौँ । रेमिट्यान्सको ३० प्रतिशत हिस्सा उत्पादनमूलक क्षेत्रमा लगाउने गरी आवश्यक व्यवस्था गर्छौ ।

सवाल: प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा वैदेशिक ऋण लिने तर विगतमा झैँ झारपात उखेल्ने काममा खर्च गरेर देश उँभो लाग्छ त ?

विगतमा त्यस्तो भएको भए पनि यो सरकारले त्यस्तो हुन दिनेछैन । उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने गरी कार्यक्रम बनाइन्छ । झारपात उखेल्ने काममा खर्च हुँदैन, अब ।  केही न केही उत्पादन पनि हुने र बेरोजगारहरूलाई रोजगारी पनि मिल्ने मोडालिटीमा त्यो रकम खर्च गरिन्छ ।

सवाल: राजनैतिक परिवर्तनका आन्दोलनमा मारिएका परिवारहरूलाई मासिक तीन हजार भत्ता बाँड्ने कार्यक्रमले राज्य कोषमा अनावश्यक दायित्व थपेको देखिन्छ । भोलि यो बढ्दै जान्छ, कसरी धान्न सकिन्छ ?

जवाफ: तपाई हामी अहिले जुन राजनीतिक व्यवस्थामा छौँ, यो ल्याउनको लागि कयौँले प्राण दिएका छन् । उनीहरूका परिवारलाई राज्यले निराश पार्नु न्यायसङ्गत हुँदैन । परिवर्तनको आन्दोलनमा योगदान गरेका, ज्यानको बलिदान गरेका आश्रित परिवारहरूको संरक्षण गर्ने दायित्व राज्यको हो ।

यही दायित्वबोध गरेर हामीले थोरै सम्झन खोजेको मात्र हो । राज्यले हामीलाई सम्झेको रहेछ भन्ने कुराको महसुस गराउनु र उनीहरूलाई निराश हुन नदिनु हामी सबैको कर्तव्य हो । राज्यले उनीहरूलाई सम्मान स्वरूप मासिक तीन हजार उपलब्ध गराउने भनिएको हो । सामाजिक सुरक्षा कोषलाई आत्मनिर्भर बनाएर उक्त दायित्व घटाउन गर्न सकिन्छ । हामीले सामाजिक सुरक्षा कोषमा राज्यको कोषबाट पैसा हालिरहनु नपरोस् भनेर कोषलाई आत्मनिर्भर बनाउने योजना पनि बनाइरहेका छौँ ।

सवाल: ठुला बडाले चढ्ने महँगा कारमा कर बढाउनुपर्नेमा सर्वसाधारण चढ्ने मोटरसाइकलमा कर बढाउनुभएछ । यो कस्तो खालको नीति हो ?

जवाफ: खासमा यो आयात प्रतिस्थापनसँग जोडिएको विषय छ । कच्चा पदार्थ मात्र आयात गरी स्वदेश मै मोटरसाईकलहरु, गाडीहरू एसेम्बल्ड गरेर सुलभ दरमा उपभोग गर्न पाइयोस् भन्ने उद्देश्यले यस्तो गरिएको हो । विद्युतीय गाडीहरू, विद्युतीय बसहरू स्वदेशमै उत्पादन होउन् भन्ने आशय हो । स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यमा आधारित भएर यसो गरिएको हो । तत्काल केहीलाई असर परेको देखिए पनि दीर्घकालीन हिसाबले राष्ट्रको हितमा निर्णय गरिएको हो ।

सवाल: स्रोत सुनिश्चित नभएका १४ सय सडक आयोजना स्थगित गर्नुभएछ । मन्त्रीको दबाबमा कस्ता कस्ता काम हुने रहेछन् भन्ने कुरा बुझ्ने मौका पाइयो । हाम्रो कर्मचारीतन्त्र पनि कस्तो रहेछ मन्त्रीले जे भन्यो खुरुखुरु त्यही मान्दिने ?

जवाफ: यस्तो पनि हुने रहेछ भन्ने कुरा मैले पनि पहिलो पटक थाहा पाएँ, अर्थ मन्त्रालयमा आएर । मैले भन्दिएर तपाईँले पनि थाहा पाउनुभयो । अब त्यस्तो नगरौँ भन्ने कुरामा अर्थ मन्त्रालयको अहिलेको टिम सचेत छ । त्यही कारण नै हामीले स्रोत विनाका आयोजना स्थगित गर्ने गरेका हौँ । वित्तीय अनुशासन कायम गर्ने दिशामा यो निर्णयले महत्त्वपूर्ण काम गर्नेछ भन्ने विश्वास छ ।

सवाल: प्रतिस्थापन विधेयकमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष राख्नुभएको रहेछ, यो पूरा हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिएन । यसमा के भन्नुहुन्छ ?

जवाफ: तपाईँले अहिले विश्वास गर्नु पनि पर्दैन किनकि काम भएपछि विश्वास गर्ने हो । हामी काम गरेर देखाउने पक्षमा छौँ । अहिले तपाईँको कुरा ठिकै छ । लक्ष प्राप्त भएपछि आफै विश्वास गर्नुहुनेछ ।

सवाल: शिक्षा क्षेत्रमा पढ्दै कमाउँदै कार्यक्रम अघि सारिएको छ । यो कस्तो खाले कार्यक्रम हो ?

जवाफ:अहिले हरेक प्रदेशमा ४÷४ वटा विद्यालयमा नमुनाको रूपमा यो कार्यक्रम सञ्चालन गर्ने लक्ष राखिएको छ । प्राविधिक र व्यावसायिक शिक्षाको परिणाममुखी अभ्यास गर्ने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो ।

सुर्खेत लगायत देशका केही स्थानहरूमा यसको व्यवहारिक अभ्यास भइरहेको छ । त्यो सफल पनि छ । त्यसैलाई नीतिमा रूपान्तरण गरेर देशभर विस्तार गर्न खोजिएको हो । विद्यार्थीहरूले सैद्धान्तिक कुराको सिकाई साथसाथै उत्पादनका काममा सरिक भएर आय आर्जन गर्ने मोडालिटी हो । 

सवाल: मासिक १० प्रतिशतका दरले विकास खर्च गर्ने भनिएको रहेछ । के यो सम्भव छ ?

यसलाई सम्भव तुल्याउने गरी योजना तयार भइरहेको छ । पुँजीगत खर्च बढाउने गरी सोचिएको हो । यो हामी गरेर देखाउँछौँ । अहिले यसमा धेरै भन्नुभन्दा पनि काम भएपछि देखिनेछ ।

(पत्रकार सम्मेलनमा अभिव्यक्त विचार र सचिवालयमा भएको छलफलमा आधारित)

प्रतिक्रिया दिनुहोस