aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लगातार वर्षाका कारण विराटनगर डुबानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
लगातार वर्षाका कारण विराटनगर डुबानमा

विराटनगर । तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकाश नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् ।

विराटनगर सीमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर–१ स्थित परोपकार घाटका छेउछाउका ५० भन्दा वढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण विराटनगर–१२ को केही क्षेत्रसमेत डुवानमा परेको छ । उक्त स्थानमा रहेका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको कारण कुनै मानवीय क्षति भएको छैन । कटहरी गाउँपालिका–१ झझौरा टोल र बख्खु टोलमा ५० भन्दा बढी घर डुबानमा परेको छ ।

विराटनगरका सडक निर्माणाधीन अवस्थामा रहेकाले अविरल वर्षाका कारण नगरवासीलाई हिँडडुल गर्न पनि सकस परेको छ । केही महिना अगाडि सडक तथा नाली निर्माण गर्न भत्काइएको र निर्माण कार्य सम्पन्न नभएकाले सडक हिलाम्मे भएकाले यो समस्या देखिएको हो ।

विराटनगर महेन्द्र चोकदेखि पूर्व ट्राफिक चोकसम्म, ट्राफिक चोकदेखि उत्तर तीनपैनीसम्म, प्रादेशिक अस्पताल (कोशी अस्पताल) चोकदेखि उत्तर तीनपैनी चोक, ट्राफिक चोकदेखि पूर्व न्यूरो अस्पताल जाने सडक, देवकोटा चोक छेउछाउका सडक, जनपथ सडक, सरौचियाबाट राजमार्ग जोड्ने केही सडक कच्ची भएकाले मानिस तथा यातायातका साधनलाई ओहोरदोहोर कठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस