aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बागमतीले चार घर बगायो, ६० घर जोखिममा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
बागमतीले चार घर बगायो, ६० घर जोखिममा

सिन्धुली । लगातारको वर्षाका कारण बागमती र मरिण नदीमा आएको बाढी बस्तीमा पस्दा सिन्धुलीका दुई बस्ती डुवानमा परेका छन् । बागमती नदीले चार घर बगाएको छ ।

६० घरबढी उच्च जोखिममा परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका को बसपार्कमा बागमती नदी पस्दा त्यहाँका चार घर बगाएको हो ।

गाउँपालिकाका अध्यक्ष कार्साङ लामाका अनुसार बागमती नदीले बसपार्कमा रहेका राशरण राई, खड्ग वाइवा, पूर्णबहादुर घलान र ज्ञानबहादुर घलानको घर गोठ बागमती नदीले बगाइसकेको छ ।

‘त्यहाँका ८ घर उच्च जोखिममा परेका छन् । घरहरु पनि नदीले कटान गरेर बगाउनै लागेको छ । उद्धार गर्न जान सक्ने अवस्था छैन्,’ अध्यक्ष लामाले भन्नुयो ।

सोही ठाउँका स्थानीय ६० जनाको घर डुबानमा परेको छ । उनीहरु घर छाडेर सुरक्षित स्थानमा सरेपनि गाई बस्तु, अन्नपात, लत्ताकपडा सबै घरसंगै डुवाएको छ । स्थानीय सत्यमान तामाङका अनुसार बस्ती डुबान भएको छेउमा प्रहरी भएपनि ठुलो बाढीका कारण प्रहरी पुग्न सकेका छैनन् ।

शुक्रबार बिहानबाट नदीले बाहव परिवर्तन गरि बस्तिमा पसेको हो । बागमती नदीमा आएको बाढीले ठुलो क्षेत्रफलमा खेतियोग्य जमिन समेत कठान गरेको छ ।

उता मरिण गाउँपालिकामा मरिण नदीमा आएको बाढीका कारण एक दर्जनबढी घर जोखिममा परेका छन् । चार पाँच घर डुवानमा परेको स्थानीयले जानकारी दिएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए। बम्जनका अनुसार मरिण गाउँपालिका वडा नम्बर ७ को बाह्रविसे डुवानमा परेको छ । ‘त्यहाँ केही घरहरु समेत डुवानमा परेको भन्ने सुन्नमा आएको छ हामी त्यस क्षेत्रमा जाँदै छौं,’ बम्जनले भने।

प्रतिक्रिया दिनुहोस