
काठमाडौं । काठमाडौंको मुलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको नजिकैको घरको पर्खाल भत्कदा ज्यान गएको हो ।
महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दका अनुसार मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको ज्यान गएको हो ।
चन्दका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको हो । उनीहरु मजदुर रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कलंकीबाट १ जना बेपत्ता भएका छन्।
बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न बाढीमा हाम्फालेका विनोद चौधरी बेपत्ता भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनको खोजी भइरहेको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। बाढीले महानगरीय प्रहरी प्रभाग कलंकी डुबानमा परेको छ। कलंकी खोलामा आएको बाढी बस्तीमा पसेको छ।
प्रहरीका अनुसार मुलपानीको स्वास्थ्य चौकी पहिरोले पुरेको छ। बाढीले कीर्तिपुर, कालिमाटी, कुलेश्वरलगायत क्षेत्र बढी जोखिममा छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार टोली सक्रिय रहेको प्रवक्ता बोगटीले जनाए।
प्रतिक्रिया दिनुहोस