
देशभर अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी–पहिरो र डुवानको समस्या सुरु भएको छ । लगातारको झरिका कारण पहिरोले अधिकांश मुख्य राजमार्गमा सवारी आवागमन अवरुद्ध बनाएको छ ।
मौसम विभागले अझै केहि दिन मुसलधारे पानी पर्ने संभावना रहेकाले सचेत रहन आग्रह गरेको छ । गृह मन्त्रालयले शुक्रवार अपरान्ह् सार्वजनीक गरेको तथ्यांक अनुसार, वर्षा तथा बाढीका कारण देशका विभिन्न ठाउँमा ११ जनाको ज्यान गएको छ ।
मन्त्रालयका अनुसार, काभ्रे र भोजपुरमा दुई दुई जनाको ज्यान गएको छ । रौतहट, रामेछाप र ललितपुरमा एक–एक जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकमा भोटेकोशीको बाढीमा परेका एक जनाको शव भेटीएको छ भने दुई जना अझै बेपत्ता छन् । सिन्धुपाल्चोकको मिसा क्षेत्रमा निरन्तर रुपमा बाढी पहिरोको प्रलय दोहोरिई रहेको छ ।
असार २१ गतेदेखि सुरु भएको भोटेकोशीको बिपत्ति शुक्रवार पनि कायम रह्यो । अविरल वर्षासंगै स्थानीय हाइड्रोपावरमा कार्यरत दुई जना बेपत्ता भएका छन् ।
भोटेकोशीको बाढीले निरन्तर रुपमा मानवीय, सडक, निजी आवास, हाइड्रोपावर लगायतमा क्षति पु¥याई रहेको छ । भोटेकोशीमा बेपत्तामध्ये हाइड्रोपावरमा कार्यरत इलेक्ट्रिसियन रामअवतार चौधरीको शव भेटीए पनि कम्पनीका साइट इन्चार्ज यादवप्रसाद काफ्ले बेपत्ता छन् ।
यस्तै, जुगल गाउँपालिका २ घट्टेखोलास्थित लघु ऊर्जा जलविद्युत परियोजना निरीक्षणका लागि खटिएका इन्जिनियर मुक्ती सिबाकोटी अझै बेपत्ता छन् । यस्तै वर्षका कारण काभ्रेको बनेपा नगरपालिका–३ चुनातालमामा भूकम्पले क्षति पु¥याएको एक घर भत्किँदा दुई जनाको मृत्यु भएको छ ।
अन्य तीन घाइते भएका छन् । थप दुईजना पुरिएको आशंकामा प्रहरी तथा स्थानीयले खोजी जारी राखेका छन् ।
त्यसैगरी, रामेछापमा एउटा गोठ भत्किँदा एक वृद्धाको मृत्यु भएको छ भने एक महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यसैगरी, रौतहटको लाल बकैया खोलामा मोटरसाइकलसहित खोलामा डुब्दा एक व्यक्तिको मृत्यु भएको छ ।
त्यसैगरी, भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ । त्यसैगरी, ललितपुरको माल्टा बगुवामा घरमाथिको ढिस्को भत्किएर घर पुरिँदा एक बालकको मृत्यु भएको छ ।
सिन्धुलीको फिक्कल गाँउपालिकामा एक महिलाको ज्यान गएको छ । गृह मन्त्रालयले यो अवधीमा– देशका विभिन्न ठाउँमा अहिलेसम्म पाँच जना वेपत्ता भएको जनाएको छ ।
अविरल वर्षाका कारण पाँचथर, महोत्तरी, सुनसरि, सर्लाही, रौतहट, विराटनगर, धरान, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, गोरखा लगाएतका पहाडी तथा तराईका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं । काठमाडौंको मुलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको नजिकैको घरको पर्खाल भत्कदा ज्यान गएको हो ।
महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दका अनुसार मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको ज्यान गएको हो ।
चन्दका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको हो । उनीहरु मजदुर रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कलंकीबाट १ जना बेपत्ता भएका छन्।
बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न बाढीमा हाम्फालेका विनोद चौधरी बेपत्ता भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनको खोजी भइरहेको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। बाढीले महानगरीय प्रहरी प्रभाग कलंकी डुबानमा परेको छ। कलंकी खोलामा आएको बाढी बस्तीमा पसेको छ।
प्रहरीका अनुसार मुलपानीको स्वास्थ्य चौकी पहिरोले पुरेको छ। बाढीले कीर्तिपुर, कालिमाटी, कुलेश्वरलगायत क्षेत्र बढी जोखिममा छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार टोली सक्रिय रहेको प्रवक्ता बोगटीले जनाए।
प्रतिक्रिया दिनुहोस