
काठमाडौं । सामान्यतया आम नेपालीको बुझाइ छ भारतका सहरहरूमा ठग, जाली र फटाहहरु जताततै घुमिरहेका हुन्छन् । झन् लुटेराको त बिगबिगी नै छ । तर, हालै गरिएको एउटा अध्ययनले भारतको आर्थिक राजधानीसमेत भनेर चिनिने मुम्बई विश्वकै दोस्रो इमान्दार सहर रहेको देखाएको छ ।
द वालेट एक्सपेरिमेन्ट नामकरण गरिएको सो अनुसन्धानमा कुन सहरका मानिसको चरित्र कति इमान्दार छ भन्ने परीक्षण गरिएको थियो । रिडर्स डाइजेस्टे गरेको यो प्रयोगमा संसारका १६ वटा ठुला सहरमा १९२ वटा पर्सहरू फालिएका थिए ।
यसरी हरेक सहरमा १२ वटाका दरले फालिएका पर्सहरूमा कुनै व्यक्तिको नाम, ठेगाना, फोन नम्बर, परिवारका सदस्यको फोटो, कुपन र बिजनेस कार्ड समेत राखिएको थियो । त्यसमा स्थानीय मुद्राको हिसाबले ५० डलर हुनेगरि पैसा समेत हालिएको थियो । र, ती पर्सहरू कसैले भेटेर फिर्ता गर्छ की गर्दैन भन्ने प्रयोगको उद्देश्य थियो ।
यो सामाजिक अन्वेषणमा मुम्बई सहरमा छोडेका १२ वटा पर्समध्ये ९ वटा फिर्ता भए । यसरी मुम्बई विश्वकै दोस्रो इमान्दार सहरमा पर्यो । फिनल्यान्डको हेलसिन्किमा १२ वटा राखिएकोमा ११ वटा फिर्ता आए । र, त्यो सहर संसारकै सर्वाधिक इमान्दारहरुको सहरकारुपमा दर्ज भयो ।
तेस्रोमा भने अमेरिकाको न्युयोर्क र हंगेरीको राजधानी बुढापेस्ट परेका छन् । जहाँ ८÷८ वटा पर्सहरू फिर्ता आए भने मस्को र एम्सटर्डममा ७ वटा, बर्लिन् र लुब्लियानामा ६ वटा, लन्डन र वार्सामा ५ वटा मात्र फिर्ता आएका थिए ।
यो सूचीको सबै भन्दा तल भने पोर्चुगलको लिस्वोन सहर रहेको छ । जहाँ १२ वटा पर्समा जम्मा १ वटा मात्र पर्स फिर्ता आयो । ब्राजिलको रियो दि जेनेरियो, स्विजरल्याण्डको युरिक र रोमानियको बुकारेस्टमा ४ वटा पर्स फिर्ता आए भने चेक रिपब्लिकको प्रागमा ३ वटा र स्पेनको म्याड्रिडमा २ वटा मात्रै पर्स फिर्ता भएका थिए ।
प्रतिक्रिया दिनुहोस