
काठमाडौं । सरकारी कोषबाट एकै दिनमा झण्डै १५ अर्ब रुपैयाँ खर्च भएको छ । प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन विधेयक पास हुन नसक्दा सरकारी कोष नै ठप्प हुने स्थिति सिर्जना भएपछि सरकारले बुधबार एकैदिन १४ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको हो । मंगलबार ६७ करोड रुपैयाँमात्र खर्च भएको थियो ।
महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले भने महिनाको अन्तिम भएकाले त्यति खर्च हुनु खासै ठूलो कुरा नभएको बताए । “आठ अर्ब चालु तथा ६ अर्ब वित्तीय व्यवस्थापनतर्फ खर्च भएको छ । महिनाको अन्तिम छ, अधिकांश रकम त तलब भत्तामा नै खर्च भएको हुनुपर्छ । कतिपय खर्च त हल्लाखल्लाले पनि भएको होला,” उनले भने ।
तर, हाम्रो प्रणालीमा रकम झिकेर राख्न भने नमिल्ने पौडेलले जनाए । “केही दिन चेक काट्न नपाइने भयो, पैसा राखेपछि खर्च गरौंला भन्ने हाम्रो व्यवस्था छैन,” उनले भने, “यो काम गरेको पैसा भनेर काम गरिसकेपछि लिन मात्र मिल्ने हो । तलब खाने समय भएकाले त्यसैको खर्च भएको हुनुपर्छ ।”
खर्च भएको रकममा ८ अर्ब ७० करोड चालु तथा १६ करोड रुपैयाँ पुँजीगत खर्च छ । त्यस्तै, वित्तीय व्यवस्थापनमा ६ अर्ब रुपैयाँ खर्च भएको छ । यससँगै सरकारले बुधबार अर्थात् खर्च गर्न पाउने अन्तिम दिनसम्ममा ८९ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ । यसमा ५८ अर्ब ३९ करोड रुपैयाँ चालु, २ अर्ब ६० करोड रुपैयाँ पुँजीगत तथा २८ अर्ब ७३ करोड रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ छ ।
बुधबारदेखि बजेट रिक्तता भएकाले सरकारले संवैधानिक निकायको साधारण खर्चबाहेक अन्य शीर्षकमा खर्च गर्न पाउने छैन । यससँगै कर्मचारीको तलब भत्तादेखि अन्य साधारण खर्च तथा पुँजीगत खर्चका लागि सरकारले चेक काट्न पाउने छैन । अर्थात् विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएसम्म सरकार मातहतमा हुने सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प भएका छन् ।
तर, सरकारलाई कर उठाउन भने रोक लागेको छैन । बुधबारसम्ममा सरकारले १ खर्ब ६४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । बजेट रिक्तता भए पनि सरकारलाई राजस्व संकलन गर्न भने कुनै रोकतोक नहुने महालेखा नियन्त्रकको कार्यालयले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस