
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज शुक्रवार ७१ वर्षका भए । यो अवसरमा भारतको संस्कृति मन्त्रालयले मोदीले प्राप्त गरेका उपहारहरूलाई बिक्रीका लागि िलिलामीमा राखेको छ । अनलाइनमा राखिएको यो लिलामी आज १७ सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म चल्नेछ ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार यस पटकको लिलामीमा १३ सय वटा वस्तुहरू राखिएका छन् । जसमा टोकियो ओलम्पिक र प्यारा ओलम्पिकका विजेताहरूले मोदीलाई दिइएको उपहार समेत सामेल छन् । टोकियो प्यारा ओलम्पिकमा सिल्भर मेडल जित्ने सुहास एलवाईको रैकेट र गोल्ड मेडल जित्ने निरज चोपडाको जेवलिन पनि त्यसमा छन् ।
हालसम्म सो ब्याडमिन्टन रैकेटलाई १० करोडसम्म हाल्ने ग्राहक आइपुगेका छन् भने जेवलिन एक करोड २० लाखमा किन्न खरिददार तयार भइसकेका छन् । त्यसैगरि, बक्सर, लब्लिना, बोर्गोहेनेको ग्लब्सलाई एक करोड ८० लाखमा किन्न बोली लागिसकेको छ । जसको आधार मूल्य ८० लाख राखिएको थियो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री मोदीलाई दिएको अयोध्या राम मन्दिरको मोडल समेत आधार मूल्य १० लाख रुपैयाँ कायम गरेर बिक्रीमा राखिएको छ भने उत्तर खण्डका पर्यटन मन्त्री सतपाल महाराजले मोदीलाई दिएको वुडन रेप्लिकालाई पाँच लाख मूल्य कायम गरेर लिलामीमा राखिएको छ ।
यो लिलामीमा समान बिक्री गरेर भएको आम्दानी नमामि गंगे मिसनलाई दान दिने योजना संस्कृति मन्त्रालयको रहेको छ । यसअघि सन २०१९ मा पनि नेशनल ग्यालरी मोर्डन आर्टमा यसैगरि लिलामीमा समान बेचेर सो मिसनलाई दान दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस