मासबेस पार्टीलाई क्याडरबेस बनाउन खोजिएको र कडा अनुशासनको प्रावधान नियमावलीमा राखिएको भन्दै कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका छन् ।
शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्ने १७ मध्ये अधिकांशले कम्युनिस्ट दलले जसरी लेबी लगाउने हो भने कांग्रेसले लोकतान्त्रिक चरित्र नै गुमाउन सक्ने भन्दै पार्टीलाई सचेत गराए ।
नियमावलीमा आएका लेबी, अनुशासनको कारबाही र नियन्त्रणका प्रावधान कांग्रेसलाई नसुहाउने र अन्तर्राष्ट्रिय प्रावधानविपरीत भएको उनीहरूको भनाइ थियो ।
चार लाख ७० हजार क्रियाशील सदस्य रहेको कांग्रेसले पहिले सदस्य लिँदा र नवीकरण गर्दा एक सय रुपैयाँ तिर्नुपथ्र्यो । तर, संशोधित नियमावलीले नयाँ सदस्यताको पाँच सय र नवीकरण शुल्क एक सयबाट बढाएर तीन सय ६५ रुपैयाँ बनाएको छ । यसरी क्रियाशील सदस्यहरूलाई नै दिनको एक रुपैयाँ लेबीस्वरूप लिने व्यवस्था गरेपछि कांग्रेसमा यसको विरोध भएको हो ।
अधिकांशले लेबी शब्द नराख्न र रकम घटाउन माग गरेका छन् । नवीकरण शुल्क थोरै बढाए पनि लेबीका रूपमा लिन नहुने उनीहरूको भनाइ थियो । यो समाचार आजको नयाँ पत्रिकामा छ ।
प्रतिक्रिया दिनुहोस