aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

आत्मनिर्भर बनिसकेका उद्योगलाई प्रोत्साहन गर्न माग

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, ०३ असोज २०७८
आत्मनिर्भर बनिसकेका उद्योगलाई प्रोत्साहन गर्न माग

विराटनगर । उत्पादनमा आत्मनिर्भर बनिसकेका उद्योगलाई प्रोत्साहन गर्न उद्योगीहरूले माग गरेका छन् । यस्ता उद्योगलाई प्रोत्साहनका लागि पैठारी हुने तयारी वस्तुमा भन्सार शुल्क बढाउनुपर्ने र खुला सीमा नाकामा निगरानी बढाउनुपर्ने माग उद्योगीहरूको छ ।

मोरङ व्यापार संघले शनिवार विराटनगरमा आयोजना गरेको ‘उद्योग तथा वाणिज्य क्षेत्रका समस्या तथा समाधान विषयक’ अन्तरक्रियामा उद्योगी तथा व्यवसायीले यस्तो माग राखेका हुन् । कार्यक्रममा उद्योगी व्यवसायीका गुनासो सुनेपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उत्पादनमा आत्मनिर्भर उद्योगहरूलाई प्रोत्साहन गर्ने र तयारी वस्तुको आयात निरुत्साहन गर्न भन्सार महशुल बढाउनुपर्ने विषयमा आफू सहमत रहेको बताए । आफूले राजधानी फर्किएपछि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई त्यसका लागि निर्देशन दिने उनको भनाइ छ ।

खाद्यान्न, बिस्कुट, चप्पल लगायतका उद्योगको उत्पादनले आन्तरिक माग पूरा गरेकाले आयात गर्नुपर्ने अवस्था नरहेको सभापति श्रीवास्तवले बताए । बंगलादेशबाट अनियन्त्रित रूपमा आइरहेको जुसको भन्सार शुल्क बढाएपछि आउन छाडेको प्रसंग उल्लेख गर्दै उनले आत्मनिर्भर उद्योगलाई प्रोत्साहन गरिनुपर्नेमा आफु सकारात्मक रहेको बताए ।

मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष नवीन रिजालले पछिल्लो समय कोभिडका कारण थला परेका उद्योगलाई चलायमान बनाउन सरकारले ल्याएको मौद्रिक नीति र आर्थिक विधेयकको कार्यान्वयनमा जोड दिए । सरकारले पछिल्लो पटक स्टिल उद्योगका लागि ल्याएको नीतिले सीमित उद्योग नाफामा जाने र धेरै उद्योग बन्द हुने भन्दै उनले सबैलाई स्वीकार्य हुने व्यवस्था गरिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस