aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

विदेशी विमान कम्पनीले मात्रै ३४१.२ मिलियन रुपैयाँ लगे

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • आइतबार, ०३ असोज २०७८
विदेशी विमान कम्पनीले मात्रै ३४१.२ मिलियन रुपैयाँ लगे

काठमाडौं ।  त्रिभुवन विमानस्थल स्वदेशीभन्दा विदेशी जहाजले नै भरिएको हुन्छ। तिनै जहाजको टिकट खरिदमा बर्सेनि करोडौं रकम बिदेसिन्छ। २०७७र७८ मा मात्रै ३४ करोड १२ लाख रुपैयाँ विदेशी जहाजको टिकट खरिदमा बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीहरूले यात्रु सेवाबापत ३४१.२ मिलियन रुपैयाँ लगेका छन्। यति ठूलो रकम हवाई टिकट खरिदबाट मात्रै बाहिरिएको हो। 

त्यस्तै, आव २०७६/७७ मा ८५ करोड १२ लाख, आव २०७५र७६ मा ४ अर्ब ३९ करोड, आव २०७४/७५ मा १० अर्ब ७३ करोड र आव २०७३/७४ मा ८ अर्ब १२ करोड रुपैयाँ बाहिरिएको छ। कोभिडका कारण पछिल्लो २ वर्षमा अन्तर्राष्ट्रिय उडानमा कटौतीसँगै केही रकम भने घटेको तथ्यांकले देखाउँछ। 

कोभिडअघिसम्म कुल २८ वटा अन्तर्राष्ट्रिय कम्पनीहरूले नेपालमा उडान भर्दै आएका थिए। हाल  कतार, एयर इन्डिया, फ्लाइ दुबई, टर्किस एयर, जजिरा एयर र एयर अरेबियाले मात्रै नियमित उडान भर्दै आएका छन्। सिंगापुर एयरलाइन्स केही समयभित्रै नियमित उडानमा थपिने क्रममा रहेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। 

क्षेत्रीका अनुसार कोरोनाले अन्तर्राष्ट्रिय उडान संख्यामा कटौती भएको छ। यसमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका नेपाली ध्वजावाहक नेपाल एयरलाइन्स र निजी विमान कम्पनी हिमालय एयरलाइन्सलाई भने समेटिएको छैन। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार सन् २०२० मा फ्लाइट मुभमेन्ट र यात्रु चापका आधारमा नेपाल एयरलाइन्स नै पहिलो नम्बरमा छ। नेपाल एयरलाइन्सले उक्त अवधिमा १ हजार ८ सय ६२ अन्तर्राष्ट्रिय उडान गरेको थियो। नेपाल एयरलाइन्सले २ लाख ७३ हजार ९ सय ५ जना यात्रीलाई सेवा दिएको थियो। 

तथ्यांकअनुसार दोस्रो नम्बरमा रहेको कतार एयरवेजले ९ सय ४० उडान गरेको थियो। कतारले १ लाख ५० हजार ९ सय ८५ जनालाई सेवा दिएको छ। यात्रु चापको आधारमा हिमालय एयरलाइन्स तेस्रो नम्बरमा रहेको छ। हिमालयले १ हजार ३ सय ४० उडान भर्दा ९० हजार ४४ जनालाई सेवा दिएको छ।  

नेपाली एयरलाइन्सहरूको सीमित गन्तव्यका कारण विदेशी जहाजहरूको वर्चस्व कायम भएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धीसागर लामिछाने स्वीकार्छन्। ‘हाम्रा सेवा सीमित भएर नै हो,’ लामिछाने भन्छन, ‘अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली एयरलाइन्सहरूको क्षमता विस्तार गर्न आवश्यक छ।’ 

नेपाली ध्वजावाहकसँगै निजी कम्पनीका विमानहरूको पनि क्षमता विस्तार गर्न जरुरी रहेको लामिछानेको भनाइ छ। यसका साथै भएका विमानस्थहरूको सेवामा सुधार र थप अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्न जरुरी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस