aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

तात्यो अख्तियार धमाधम 'स्टिङ अप्रेसन'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ असार २०७६
तात्यो अख्तियार धमाधम 'स्टिङ अप्रेसन'

कर्णाली प्रदेश डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा चार लाख घुससहित पक्राउ परे । शुक्रबार प्राविधिक उपसचिव लामाले छुट पुर्जाँको म्याद थप गराइदिने भन्दै घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै डिएफओ लामालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

बिहीबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्राडा राजकुमार रौनियार र डा रामहरि रौनियारलाई ८ लाख घुससहित अख्तियारले पक्राउ ग¥यो। त्यस्तै, असार १० गते शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका इकाइ प्रमुख धनबहादुर वली घुस लिँदालिँदै अख्तियारको पन्जामा परेका छन्। उनी शिक्षक सरुवा प्रक्रिया सहजीकरणका लागि सेवाग्राहीसँग २५ हजार घुस लिँदालिँदै पक्राउ परेका हुन्।

उनलाई कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। असार ४ गते त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, विज्ञान संकायका सहायक डिन प्रो.डा.शम्भुप्रसाद पटेल ५० हजार घुससहित पक्राउ परे। विज्ञान संकायका सहायक डिन प्रो.डा. पटेलले कलेजको सम्बन्धन नवीकरण गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए। उनीमाथि कीर्तिपुर ट्यङ्लाफाँटस्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

अख्तियारको स्टिङ अप्रेसनमा न्याय, प्रशासन, इन्जिनियरिङ, शिक्षालगायत क्षेत्रका कर्मचारी तथा पदाधिकारी परेका छन्। कुनै क्षेत्र अछुतो छैन। अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले पछिल्लो समय स्टिङ अप्रेसनमा ठूला केस परेको बताए। उच्चपदस्थ कर्मचारी नै स्टिङमा परेका छन्। ‘भीसी, डिन, कानुनका उपसचिवसम्म घुससहित पक्राउ परिरहेका छन्,’ उनले भने। उनका अनुसार यसवर्ष १२० भन्दा बढी स्टिङ अप्रेसन गरिएको छ। जुन गत वर्षभन्दा २३ बढी हो। यो समाचार आजको अन्नपुर्ण पोष्ट  दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस