
दाङ । गत असार ६ मा एक कानुन व्यवसायीलाई घोराही–१५ की ३२ वर्षीया एक महिलाले ‘लेनदेन मुद्दामा सहयोग गरिदिनुपर्यो’ भनेर फोन गरिन् । पटक–पटक फोन गरेपछि उनी भेट्न बोलाइएको घोराही–१५ को कोहिनुर रेस्टुरेन्ट पुगे ।
उनी र उनका एक साथी महिलाले बियर खाए, कानुन व्यवसायीसँग केहीबेर छलफल गरे । अन्त्यमा निस्कने क्रममा ती महिलाले ‘मलाई किन हातपात गरेको, म अब जबर्जस्ती करणीको मुद्दा हाल्छु’ भन्दै गालीगलौज गर्न थालिन् । लामो वादविवाद चल्यो । अन्ततः उनीहरू अर्को दिन भेटेर कुरा गर्ने सर्तमा घरघर गए ।
भोलिपल्टदेखि घोराही–१५ कै ३५ वर्षीया अर्की महिलाले ती कानुन व्यवसायीलाई फोन गरेर तत्काल कुरा मिलाउन दबाब दिन थालिन् । आरोप लगाउने महिलाका पहुँच भएकी र उनले तत्काल मुद्दा हाल्न सक्ने भएकाले छिटो आएर पैसा दिई मिलाउनुपर्ने कुरा गरिन् । धेरै दिनसम्म फोनमै कुराकानी हुँदै अन्त्यमा छलफलका लागि ती पुरुषलाई असार २८ मा घोराहीकै सागर एन्ड सुनील रेस्टुरेन्ट तथा लजमा बोलाइयो । लजमा रहेका ती दुई सहित घोराही–५ की ३२ वर्षीया अर्की महिलाले पैसाका लागि ‘बार्गेनिङ’ गरे । दिउँसो २ बजे पुगेका ती पुरुष राति ९ बजेसम्म पनि होटलबाट निस्कन पाएनन् ।
५० लाख रुपैयाँ नदिए मुद्दा हाल्ने धम्की दिएर उनलाई निरन्तर तनाव दिइयो । कतिबेला पुलिसको सई, असई, हवल्दारलाई फोन गरेको भन्दै उनलाई तर्साइयो । कतिबेला ‘अब एकछिनमा पुलिस बोलाएर यहींबाट पक्राउ गराउँछौं’ भनियो । अन्त्यमा लामो दबाबपछि १८ लाख रुपैयाँ दिन सहमत गराइयो । ती पुरुषले एक साथीलाई बोलाएर तत्काल १ लाख नगद दिए र १७ लाखको सिभिल बैंकको चेक दिए । भदौ १५ को मितिमा दिइएको चेक भजाउन ती महिला दुईपटक बैंक पुगे तर चेक साटिएन ।
त्यतिबेलासम्म ती पुरुषले उक्त खाताको पैसा अर्को बैंकको खातामा सारिसकेका थिए । महिलाको षड्यन्त्रबाट पीडित भएका पुरुष सामाजिक प्रतिष्ठा बिग्रने डरले केही समय निकै विक्षिप्त भए । अन्त्यमा प्रहरीको शरणमा पुगे । प्रहरीले लामो अनुसन्धानपछि उनीहरूबीच भएका फोनवार्ता र प्रत्यक्ष वार्ताका अडियो रेकर्ड तथा चेकसहित तीन महिलालाई पक्राउ गर्यो ।
यस्ता घटना समाजमा धेरै भएको जानकारी पाएपछि अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए । ‘पीडित पुरुष आत्महत्याको सोचमा समेत पुगेका रहेछन् । अन्त्यमा कानुनी सहारा लिने निधो गरेपछि प्रहरीले अनुसन्धान थाली सबै प्रमाणसहित महिलाहरूलाई पक्रन सफल भयो,’ उनले भने, ‘हनी ट्र्यापमा पारेर रकम असुल्न खोजेको देखिएको छ । पीडितहरू इज्जतको डरले यस्ता घटना बाहिर ल्याउन सक्दैनन् ।’ रकम असुल्न ती महिलाहरूले विभिन्न गुन्डासमेत प्रयोग गरेको उनले बताए ।
‘विभिन्न व्यक्तिहरू प्रयोग गरेर रकम असुल्ने प्रयास भएको छ, धम्की दिइएको छ,’ उनले भने, ‘विभिन्न प्रलोभनमा पारेर नजिक हुने र अन्त्यमा बलात्कारको आरोप लगाएर फसाउन खोजेको देखिन्छ । समाजमा यस्ता पीडित अरू पनि हुन सक्छन् ।’ यस घटनाले अन्य घटनालाई निरुत्साहित गर्न सहयोग पुग्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस