
काठमाडौं । प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ। सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको हो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गरेका प्रस्तावलाई बहुमतले पारित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकैबीच विधेयक पारित गरिएको छ । प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ । यससँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ।
तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो। अर्थमन्त्री शर्माले आज भएको छलफलका क्रममा प्रतिस्थापन विधेयकमा अध्यादेशमा भएका तीन प्रतिशत कुराहरूमात्र फेरबदल गरिएको बताएका थिए।
सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए । विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा राष्ट्रहित र जनआकाङ्क्षालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस