
काठमाडौं । राष्ट्र बैंकले तीनदेखि पाँच प्रतिशत ब्याजदरमा प्रवाह गर्दै आएको सस्तो कर्जा (पुनर्कर्जा) उपयोग गर्नेमा पर्यटन क्षेत्र सबैभन्दा अघि देखिएको छ । गत आर्थिक वर्ष र नयाँ आर्थिक वर्षको साउनमा राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको पुनर्कर्जामध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रमा प्रवाह भएको हो ।
पर्यटन कोरोना महामारीमा अति प्रभावित क्षेत्र हो । अर्थतन्त्रका अरू धेरै क्षेत्रले गति समातिसक्दा पनि पर्यटन क्षेत्र अझै तंग्रिन सकेको छैन । सोही कारण सरकारले यो क्षेत्रलाई कोभिडको महामारीबाट अति प्रभावितको सूचीमा राखेको छ । सोही सूचीमा रहेका कोभिडबाट अति र मध्यम प्रभावित क्षेत्रलाई राष्ट्र बैंकले सिधै र बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जा सुविधा दिँदै आएका छन् । तीमध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रले उपयोग गर्दै आएको राष्ट्र बैंकको तथ्यांक छ ।
गत साउनमा मात्र राष्ट्र बैंकले १ अर्ब ५७ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ । त्यसमध्ये १ अर्ब ११ करोड साधारण र ४५ करोड रुपैयाँ विशेष पुनर्कर्जा छ । उल्लिखित कर्जामध्ये पर्यटन क्षेत्रले ५७.११ प्रतिशत उपयोग गरेको राष्ट्र बैंकले जनाएको छ । यो राष्ट्र बैंकले सिधै प्रवाह गर्ने पुनर्कर्जाको तथ्यांक हो । यसबाहेक बैंक तथा वित्तीय संस्थाले र लघुवित्तले एकमुष्ट प्रवाह गर्ने पुनर्कर्जामा पनि कोरोनाबाट अति प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखिएको राष्ट्र बैंकको दाबी छ ।
कोभिडको जोखिमबाट सबैभन्दा धेरै प्रभावित भएकै कारण पर्यटन क्षेत्रले पुनर्कर्जामा प्राथमिकता पाएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । पर्यटनसँगै होटल, रेस्टुराँ, शैक्षिक संस्था, पार्टी प्यालेस, यातायातलगायत अति प्रभावित क्षेत्रलाई पुनर्कर्जामा प्राथमिकता दिइएको उनले बताए । सोही क्रममा पर्यटन क्षेत्रबाट कर्जा माग बढी आएकाले कुल कर्जाको ठूलो हिस्सा त्यता गएको उनको भनाइ छ । राष्ट्र बैंकले प्रत्यक्ष रूपमा प्रवाह गर्ने पुनर्कर्जामा मात्र नभएर बैंक तथा वित्तीय संस्थाले एकमुष्ट प्रवाह गर्ने ५ करोड रुपैयाँभन्दा कम रकमका पुनर्कर्जामा पनि पर्यटनलगायत क्षेत्रलाई प्राथमिकता दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
गत आर्थिक वर्षमा प्रवाह गर्न मिल्ने २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ पुनर्कर्जामध्ये गत असार ३१ सम्म १ खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ लगानी भइसकेको छ । त्यसमध्ये करिब ४६ अर्ब १३ करोड रुपैयाँ ग्राहक ऋणीअन्तर्गत राष्ट्र बैंकले सिधै लगानी गरेको छ । सोही कर्जाको ४७.२६ प्रतिशत (२१ अर्ब ८० करोड रुपैयाँ) पर्यटन क्षेत्रमा प्रवाह भएको हो ।
प्रतिक्रिया दिनुहोस