aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

दुईपांग्रे र चारपांग्रे सवारीमा विभिन्न छुट र अफरै अफर

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • आइतबार, १० असोज २०७८
दुईपांग्रे र चारपांग्रे सवारीमा विभिन्न छुट र अफरै अफर

काठमाडौं ।  दसैंको चहलपहल सुरु भएको छ । दसैं सकिँदा–नसकिँदै तिहारको रौनक पनि सुरु हुन थाल्छ । सँगै छठ त छँदै छ । यही मेसोमा अटो व्यवसायीले दुईपांग्रे र चारपांग्रे सवारीमा विभिन्न छुट र अफर योजना ल्याएका छन् । कोभिडका कारण गत वर्ष सुस्ताएको अटो व्यवसाय यस वर्ष भने उत्साहजनक रहेको व्यवसायी बताउँछन् । 

कम्पनीहरूका बिक्री कक्ष यति बेला सजिसजाउ छन् । छुट र नयाँनयाँ योजनाले ग्राहक लोभ्याइरहेका छन् । गत वर्षको तुलनामा यस वर्ष चारपांग्रे सवारीको माग बढी छ । ‘अघिल्लो दसैंमा कोभिडले व्यवसायीलाई गाह्रो पारेको थियो,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘अहिले जोखिम कायमै रहे पनि बजार बढेको छ । तर चारपांग्रे सवारीको मागअनुसारको आयात छैन ।’

गत वर्षको तुलनामा यो वर्ष व्यापार दोब्बर छ । त्यसमा पनि सबैभन्दा धेरै माग विद्युतीय सवारीको रहेको अध्यक्ष दुलालले जानकारी दिए । ‘५ सय वटा गाडीको माग हुँदा ५० वटाको मात्र आयात छ,’ उनले भने, ‘माग धेरै भयो, कोभिडका कारण भारतलगायत विदेशी मुलुकमा उत्पादन कम हुँदा आयात हुन सकेन ।’ अब विस्तारै उत्पादन बढ्दै जाने र अनुसार पनि बढ्ने उनको भनाइ छ । गत असार मसान्तसम्मको तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात ७० प्रतिशत बढेको दुलालले जानकारी दिए ।

चारपांग्रे मात्र होइन, चाडबाडका बेला दुईपांग्रेको बजार पनि राम्रो छ । ‘दुईपांग्रे आयात पनि गत वर्षको तुलनामा करिब ८० प्रतिशत बढेको छ,’ उनले भने, ‘चाडबाडले बजार तातेको हो ।’ एकरदुई महिनामा थप उत्पादन बढ्ने उनले सुनाए । चाडपर्वको मौका पारेर विभिन्न अटो कम्पनीहरूले थरीथरीका छुट योजना ल्याएका छन् । दुईपांग्रेअन्तर्गत बजाज, टीभीएस, हिरो, सुजुकी र बेनेलीका मोटरसाइकल तथा स्कुटरमा छुट योजना राखिएको छ । त्यस्तै ड्याट्सन, हुन्डाई र ग्रेट वाल मोटर्सका गाडीमा दसैंतिहार लक्षित छुट तथा उपहार योजना अघि सारिएको छ ।

बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द्र एन्ड कम्पनीले ‘बजाज खुसीको ३ डोज’ योजना ल्याएको छ । टीभीएस दुईपांग्रे मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस छ प्राइजको सरप्राइज’ र हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ‘हिरोको बेला हिरोको मेला’ अफर ल्याएको छ ।

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बित्रेता भीजी अटोमोबाइल्सले ‘दसैं आयो, उमंग छायो, क्यासब्याका साथै बम्पर पायो’ र बेनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले ‘थ्री एक डिस्काउन्ट फिएस्टा’ नामक उपहार तथा छुट योजना ल्याएका हुन् । कम्पनीका यी योजना छठसम्म लागू हुने जनाइएको छ ।

बजाजका मोटरसाइकल खरिद गर्नुअघि १० हजार रुपैयाँसम्मको अग्रिम नगद छुट पाउन सकिन्छ । मोटरसाइकल किन्दा एक लाख रुपैयाँसम्मको नगद छुट र बम्परमा १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म जित्न सक्ने अवसर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस