
एजेन्सी । भारतीय शेयर बजारका ‘बिगबुल’ राकेश झुनझुनवाला अहिले मुम्बईमा आलिसान महल बनाइरहेका छन् । उनको सपना भने अनौठो छ, त्यो घरमा हुने पहिलो डिनरमा पहिले नै मृत्यु भइसकेका बेलायतका चर्चित प्रधानमन्त्री विस्टर्न चर्चिल, भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेई लगायतकालाई निम्त्याउने ।
तर, उनले चाहने हो भने अर्का एक व्यक्ति चाहिँ अहिले पनि उक्त डिनरमा सामेल हुन सक्छन् । ती हुन्, अमेरिकी शेयर बजारका चर्चित लगानीकर्ता जर्ज शोरोस । यस अघि नै झुनझुनवालाले आफूलाई अब धेरै पैसा नचाहिएको बताइसकेका छन् ।
उनले नयाँ घरमा डान्स सिक्ने, पौडी खेल्न सिक्ने र उल्लेखित मानिसहरूलाई बोलाएर डिनर खाने रहर जनाएका हुन् । केही समयअघि मात्र उनले पाँच अर्ब भारतीय रुपैयाँ बराबरीको खर्च गरेर सामाजिक सेवामा कदम राखिसकेका छन् । सो परोपकारी सेवाको घोषणा सभामा उनले भनेका थिए– भगवानसँग अब म थप पैसा माग्दिन । अहिले भएको सम्पत्ति परोपकारी सेवामा खर्च गर्न सक्ने हिम्मत जुटाइदिए पुग्छ ।
झुनझुनवाला अब चाडै नै एउटा एयरलाइन्स कम्पनी सञ्चालन गर्न गइरहेका छन् । यो बारेमा धेरै कुरा खुलासा नभए पनि उनको व्यापारी कारोबारमा एयरलाइन्स सञ्चालन दोस्रो इनिङकारुपमा आउने बताइएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार चाडै नै शेयर कारोबारबाट अवकाश लिन लागेका उनी अहिले आफ्नो स्वास्थ्यमा ध्यान केन्द्रित गरिरहेका छन् । हाल उनी बालबालिकासँग खेल्ने र तौल घटाउने काममा आफ्नो अधिकांश समय व्यतीत गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस