aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

राष्ट्रिय जनगणना २०७८ मा ट्याबलेटबाट तथ्यांक संकलन गरिने

  • मानमती पन्त
    मानमती पन्त
  • आइतबार, २९ असार २०७६
राष्ट्रिय जनगणना २०७८ मा ट्याबलेटबाट तथ्यांक संकलन गरिने

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक संकलन प्रविधिमार्फत हुने भएको छ  । यसपटक जनगणना गर्दा ट्याबलेटमा डाटा इन्ट्री गरी तथ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । 

यसअघिका जनगणनामा तथ्यांक संकलन गर्दा कागजमा टिपेर गरिथ्यो । तर, अब कागजका साथै ट्याबलेटमा डाटा इन्ट्री गरिने भएको हो ।  प्रविधिमार्फत गणना गर्दा नतिजा छिट्टो निस्किने विभागको अनुमान छ । राष्ट्रिय जनगणना २०७८ को शुरु गर्नु अघि ‘पाइलट जनगणना’ शुरु गर्ने क्रममा केन्द्रीय तथ्यांक विभागले उक्त तयारी थालेको छ । अहिले प्रविधिसम्बन्धी अनुगमन, तथ्यांक संकलन र लगत संकलनलगायतका विषय ट्याबलेटमार्फत कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल भइरहेको विभागले जनाएको छ । 

विभागका अनुसार अहिले राष्ट्रिय जनगणना २०७८ को लागि प्रश्नावली तयार पार्ने काम भइरहेको छ । प्रशनावलीको मस्यौदा तयार गरी सरोकारवालासँग छलफल भइरहेको विभागको जनसंख्या शाखाले जानकारी दिएको छ । जनगणना प्रश्नावली तयार गर्दा लगत सूची फारम, मुख्य प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन भागमा तयार पारेको जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले बताए । उनले यसभन्दा अघिको जनगणनामा लगत सूची फारम र मुख्य प्रश्नावली मात्र तयार भएको बताए । 

पाइलट जनगणना शुरु भएसंँगै राष्ट्रिय जनगणना २०७८ को लागि सञ्चालन, व्यवस्थापन प्रक्रिया र तोकिएको मापदण्डको सम्पूर्ण बाटो खुलाइएको निर्देशक लामिछानेले जानकारी दिए । 

पाइलट जनगणनाले व्यवस्थापकीय, आर्थिक र प्राविधिक पक्षको अध्ययन गरिरहेको जनसंख्या शाखाले जानकारी दिए । प्रदेशस्तरमा सरोकार पक्ष र आगामी जनगणनाको लागि सुझाव संकलन कार्य सम्पन्न भएको जनसंख्या शाखाले जानकारी दिएको छ । 
लामिछानेले बजेट विनियोजन, पाइलट जनगणना तेस्रो चौमासिकमा गर्ने लक्ष्य राखेको बताए । पाइलट जनगणनाको नमुना सर्वेक्षणको लागि सात प्रदेशका १४ वटा जिल्लामा नमुना सर्वेक्षण गरिने भएको छ । 

जनगणनामा लामो र बोझिलो प्रश्नावली नराखी छोटो र स्पष्ट खाले राख्ने तयारी भएको भन्दै निर्देशक लामिछानेले भने–‘अहिले जनसंख्या शाखाले तयार पारेको प्रश्नावली ठिक छ कि छैन भनेर संघ, प्रदेश, स्थानीय र अन्य निकायमा सुझावका लागि पठाएको छ । यद्यपि, अहिलेसम्म प्रश्नावलीमा सुझाव भने आइसकेको छैन ।’ 

प्रत्येक १०–१० वर्षमा गरिने जनगणनाको ११औं संस्करण विगतको भन्दा फरक तरिकाबाट हुने भएको छ  । जनगणना लिन जाने कर्मचारी नयाँ तर निश्चित योग्यता पुगेका हुने छन् । तथ्यांक प्रशोधन कार्य करारमा कर्मचारीबाट गराइने निर्देशक लामिछानेले बताए । त्यसो गरे बेरोजगार युवाले रोजगार पनि पाउने र काम छिटो छरितो हुने उनको भनाइ छ । पहिले तथ्यांक संकलन गर्नको लागि टेन्डरमार्फत जिम्मेवारी दिने र पार्टीगत रुपमा विभाजन गरी शिक्षकलाई परिचालन गरिन्थ्यो  । त्यसले गर्दा जनगणनाको पूर्ण तथ्यांक आउन डेढ–दुई वर्ष लाग्थ्यो । तर, २०७८ को जनागणनाको परिणाम ९ महिनाभित्र सम्पन्न सार्वजनिक गर्ने लक्ष्य राखेको निर्देशक लामिछानेले बताए । 

प्रतिक्रिया दिनुहोस