aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

विदेशी मुद्रा सटहीमा कडाइ

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • विहीबार, १४ असोज २०७८
विदेशी मुद्रा सटहीमा कडाइ

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा कडाइ गर्न थालेको छ । शोधनान्तर स्थिति घाटामा र विदेशी विनिमय सञ्चिति दबाबमा पर्न थालेपछि बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि डाकेर तोकिएको सीमासम्मका लागि पनि सीमित मात्रामा मात्रै नगद भुक्तानी गर्न र बाँकी कारोबारमा विद्युतीय कार्ड प्रयोगमा प्रोत्साहन गर्न राष्ट्र बैंकको बैकिङ विभागले मौखिक निर्देशन दिन थालेको हो ।

विभागले सोमबार र मंगलबार बैंकका प्रतिनिधिलाई बोलाएर मौखिक रूपमा यस्तो निर्देशन दिएको राष्ट्र बैंक स्रोतले बताएको छ । तर विदेशी मुद्रा सटहीसम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा परिवर्तन गरिएको छैन । आवश्यक परेका व्यक्तिले मात्र विदेशी मुद्रा पाउन् र त्यसको अपचलन नहोस् भन्नका लागि बैंकहरूसँग छलफल भएको राष्ट्र बैंकले स्विकारेको छ ।

हाल कायम व्यवस्थाअनुसार विदेशमा रोजगारीका लागि जाने कामदारले प्रतिव्यक्ति बढीमा २ सय अमेरिकी डलर र घुम्न ९पर्यटक भिसामा० जानेले प्रतिव्यक्ति बढीमा १ हजार ५ सय अमेरिकी डलर सटही गर्न पाउँछन् । खासगरी कोरोना संक्रमणको जोखिम घट्दै गएपछि बैंकहरूबाट पर्यटक भिसाका लागि धेरै विदेशी मुद्रा सटही भएको भेटिएपछि कडाइ गर्न राष्ट्र बैंक तातेको हो । राष्ट्र बैंकले स्थलगत अनुगमन गर्दा पर्यटक भिसामा जानेले धेरै मुद्रा सटही गरेको भेटाएको थियो । यसकारण औचित्य पुष्टि हुने गरी सीमित नगद र बाँकी कार्डमार्फत सटही सुविधा दिन बैंकहरूलाई आग्रह गरिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘हामीले विद्युतीय कार्डको प्रयोगलाई प्रोत्साहन गर्न खोजेका हौं, विदेशी मुद्रा सटहीमा कडाइ गरिएको छैन,’ उनले भने ।

कोरोना महामारीको प्रभाव घट्दै गएपछि यूएईलगायत मुलुकले कामदार भिसा जारी गर्न थालेका छैनन् तर पर्यटक भिसा लिई जाने र काम खोज्ने क्रम बढेको छ । यसमा धेरै एजेन्ट (दलाल) र केही म्यानपावर कम्पनीको पनि संलग्नता भेटिएको स्रोतको दाबी छ । यसरी पर्यटक भिसामा जाने कामदारबाटै धेरै विदेशी मुद्रा सटही भएकाले उक्त मुद्रा अपचलन भएको हुन सक्ने आंशका राष्ट्र बैंकको छ । पर्यटक भिसामा उड्ने कामदारमार्फत एजेन्टले विदेशी मुद्रा सटही गर्ने र पछि फिर्ता लिने गरेको पाइएको स्रोत बताउँछ ।

पर्यटन भिसामा विदेश जाँदा विमानस्थलस्थित अध्यागमन विभागमा ५ सयदेखि १ हजार अमेरिकी डलरसम्म देखाउनुपर्ने प्रावधान छ । विभागका अनुसार खासगरी कोरोनाको दोस्रो लहरपछि धेरै कामदार पर्यटक भिसामा गएका छन् । ‘ती कामदारको नाममा सटही गरेको सबैजसो विदेशी मुद्रा सम्भव भए नेपालकै विमानस्थलमा (जाँच सकिएपछि) र नभए गन्तव्य मुलुकका विमानस्थलमा पुगेपछि एजेन्टमार्फत फिर्ता लिइँदो रहेछ,’ स्रोतले भन्यो । यस्तो गतिविधि रोक्न पनि राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा कडाइ गर्ने आन्तरिक निर्णय गरेको हो । यो विषय राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर, विदेशी विनिमय विभाग हुँदै बैंकिङ विभागसम्म आइपुगेको छ । उक्त निर्णयअनुसार नै विभागले बैंकहरूलाई डाकेर विदेशी मुद्रा सटहीमा संयमित हुन निर्देशन दिएको हो ।

आयात निरन्तर बढिरहेको, रेमिट्यान्स घटेको, पर्यटन गतिविधि सुस्ताएको लगायत कारण यो आवमा विदेशी मुद्रा सञ्चिति र शोधनान्तर दबाबमा पर्ने निश्चित छ । यसको सुरुवात गत जेठदेखि नै भइसकेको छ । यद्यपि गत असारमा रेमिट्यान्स केही बढेपछि शोधनान्तर स्थिति सामान्य बचतमा देखिएको थियो । जुन १ अर्ब २३ करोड अमेरिकी डलर थियो । तर त्यो अवस्था साउनसम्म पनि टिकेन । जसका कारण साउनमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा गयो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा थियो ।

प्रतिक्रिया दिनुहोस