aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

काँग्रेसमा पनि शुरु भयो भाइ मारेर छिमेकी पोस्ने चालबाजी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असोज २०७८
काँग्रेसमा पनि शुरु भयो भाइ मारेर छिमेकी पोस्ने चालबाजी

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली काँग्रेसको आसन्न महाधिवेशनले त्यस दलका नेताहरूलाई आफ्नो स्तर र हैसियत समेत बिर्साएर तल्लो तलको अस्वस्थ प्रतिस्पर्धासम्म झारेको छ । आफ्नो नेतृत्वमा आउने सम्भावना भएको बागमती सरकारको मुख्यमन्त्री फरक गुटमा रहेर राजनीति गरिरहेका व्यक्तिलाई बनाउनु भन्दा बरु अर्कै दललाई जिम्मा लगाउने हतकन्डामा काँग्रेस नेता शेखर कोइराला लागेपछि यस्तो टिप्पणी सामान्य बनेको छ ।  

बिहीबार बिहान ट्विटरमा कोइरालाले लेखेका छन्– बागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली काँग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन काँग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ । 

यसरी काँग्रेसकै बागमती प्रदेश सांसद इन्द्र बहादुर बानिया बागमती प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा चलिरहेका बेला उनलाई लक्षित गर्दै शेखर कोइरालाले गरेको टिप्पणी अराजनीतिक प्रकृतिको मात्रै नभएर नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्रलाई नै आघात पुग्ने खालको भन्दै काँग्रेसजनले नै आपत्ति जनाइरहेका छन् । 

कोइरालाको यस्तो सार्वजनिक प्रतिक्रिया आएपछि बागमती प्रदेशका काँग्रेस कार्यकर्ताहरू भने नेपाली काँग्रेस कोइराला परिवारको पुस्तैनी सम्पत्तिका रूपमा हेर्ने कोइरालाहरूको दोषी दृष्टिकोणको उपजका रूपमा यसलाई आफूहरूले लिएको बताउँछन् । एक कार्यकर्ताले भने, ‘यो भाइलाई मारेर (सम्पत्तिमा अधिकार नदिएर) छिमेकी पोस्ने अत्यन्तै सङ्कीर्ण सोच र शैली हो । हामी लोकतान्त्रिक पार्टीमा यस्तो कुरा कल्पना पनि गर्न सक्दैनौँ ।’ 

काँग्रेसको आगामी महाधिवेशनमा आफूलाई सभापतिको दाबेदारकोरुपमा पेस गरिसकेका कोइरालाले यसरी तल्लो स्तरमा गएर कुनै एक व्यक्तिलाई लक्षित गरी टिप्पणी सार्वजनिक गर्नुले उनको राजनीतिक क्षमतामा समेत प्रश्न उठेको छ । 

उता, उनको ट्विटमा लक्षित गरिएका काँग्रेस प्रदेश सांसद तथा मुख्यमन्त्रीका दाबेदार इन्द्र बहादुर बानियाले पूर्णरुपमा खारेज गर्दै भने, ‘अहिलेसम्म त्यस्तो कुनै सल्लाह भएकै छैन । न त एकिकृत समाजवादीसँग हामी आगामी मुख्यमन्त्री को बन्ने भन्ने विषयमा औपचारिक अनौपचारिक छलफलमा नै बसेका छौँ ।’ 

उनले कोइरालाको ट्विटकाबारेमा धेरै लामो टिप्पणी गर्न चाहेनन् । तर, के चाहिँ भने भने, ‘सबैले आ–आफ्नै क्षमता र योग्यता अनुसारको राजनीति गर्ने हो । उहाँको स्तरका नेताले कतिसम्म तल झर्न हुन्छ या हुँदैन उहाँले नै जान्ने हो । म यसबारे धेरै बोल्दिन ।’ 

धेरै अघिदेखि नै बागमती प्रदेशको सम्भावित मुख्यमन्त्रीमा बानियाको नाम चर्चामा छ । उनी प्रदेश सभामा काँग्रेस संसदीय दलका नेता समेत हुन् । त्यसैले सम्भावित जिम्मेवारीबारे उनले स्पष्टरुपमा कुरा राखे, ‘पार्टीले बागमती प्रदेशको सरकार काँग्रेसकै नेतृत्वमा सञ्चालन गर्ने भन्ने निर्णय गर्‍यो । र, अन्य सत्ता गठबन्धनका दलहरूसँग सहमति जुट्यो भने हामी नेतृत्वका लागि योग्य छौँ, जिम्मेवारीबाट भाग्ने कुरै आउँदैन ।’ 

 

प्रतिक्रिया दिनुहोस