
काठमाडौँ । मुलुकको विदेशी मुद्रा सञ्चिति ३० दिनमा करिब ४५ अर्ब रुपैयाँले घटेको छ । आयातमुखी अर्थतन्त्र भएको नेपालमा विदेशी मुद्रा कम हुँदै गएमा अत्यावश्यक वस्तु आयातमा समेत कडाइ गर्नुपर्ने अवस्था आउन सक्ने राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ ।
मुद्रा बाहिरिने क्रम तीव्र गतिमा बढेपछि एकै महिनामा करिब ३३ करोड अमेरिकी डलरको सञ्चिति घटेको हो । सामान निर्यात गरेर विदेशी मुद्रा ल्याउने नेपालको अवस्था सधैं नाजुक छ । नेपालमा विदेशी मुद्रा आउने प्रमुख माध्यम ‘रेमिट्यान्स’ हो । तर पछिल्ला महिनामा रेमिट्यान्स वृद्धि भएको छैन, त्यस्तै अर्को स्रोत पर्यटन पनि ठप्प छ । विदेशी मुद्रा आप्रवाह कम भए पनि उपभोग्य वस्तु आयातका लागि निरन्तर विदेशी मुद्रा बाहिर पठाउनुपर्दा सञ्चिति घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो र दोस्रो महिना (साउन र भदौ) मा आयात वृद्धि उच्च रहेकाले सञ्चितिमा दबाब परेको अर्थविद्हरू बताउँछन् । गत साउन र भदौमा १ खर्ब ५० अर्बका दरले वस्तु र सेवा आयात भएको छ । यो औसतभन्दा बढी हो । गत आर्थिक वर्षमा मासिक औसतमा ८० देखि ९० अर्ब बराबर आयात हुँदै आएको थियो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत असार मसान्तमा विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड (११ अर्ब ७५ करोड अमेरिकी डलर) थियो । तर, साउन मसान्तमा कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँ (११ अर्ब ४२ करोड अमेरिकी डलर) छ । एक महिनामा सञ्चिति ३.२ प्रतिशत र अमेरिकी डलरमा २.८ प्रतिशतले घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
विदेशी मुद्रा सञ्चिति घटेपछि मुलुकको आयात गर्ने क्षमता स्वतः कमजोर भएको छ । असार मसान्तसम्मको सञ्चितिले ११.२ महिनासम्म वस्तु आयात र १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले बताएको थियो । तर साउनको सञ्चितिले ९.३ महिनाको वस्तु र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ । यसरी मुलुकको आयात क्षमता असारको तुलनामा साउनमा करिब २ प्रतिशत बिन्दुले घटेको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ । ‘आर्थिक वर्ष २०७८र७९ मा कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुने गरी मौद्रिक तथा बाह्य क्षेत्र व्यवस्थापन गरिनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ ।
तर, गत भदौ महिनामै मुलुकको आयात घटेर करिब ७ महिना हाराहारीमा झरेको प्रारम्भिक तथ्यांकहरूले देखाएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘भदौमा विदेशी मुद्रा सञ्चिति करिब ७ महिनाको आयात धान्न पुग्नेमात्र रहने देखिन्छ,’ उनले भने, ‘यो खतराको संकेत हो । यसैगरी सञ्चिति निरन्तर घट्दै गए अप्ठ्यारो हुन्छ ।’
विदेशी मुद्रा सञ्चिति घटेर आयातसमेत प्रभावित भएमा सामाजिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव हुने श्रेष्ठको भनाइ छ । ‘विदेशी मुद्रा रित्तिँदै गएमा अत्यावश्यक वस्तुको आयातमा पनि कडाइ गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले थपे, ‘त्यो अवस्था आउन नदिन विदेशी मुद्रा सञ्चिति बढाउने वा नघट्ने विभिन्न उपाय अपनाउनुपर्ने बेला भएको छ ।’
यो अवस्थालाई राष्ट्र बैंकले सूक्ष्म रूपमा नियमन गरिरहेको र सम्भावित नीतिगत व्यवस्था गर्न सरकारलाई सुझाव दिने उनले बताए । ‘प्रारभिक चरणमा विदेशी मुद्रा सटही र अनुत्पादक क्षेत्रमा जाने कर्जा प्रवाहमा कडाइ भइसकेको छ,’ उनले थपे, ‘दसैंपछि आयात, रेमिट्यान्स आप्रवाह, कर्जा प्रवाहलगायतको अवस्था कस्तो हुन्छ रु त्यसका आधारमा थप नीतिगत व्यवस्था गर्छौं ।’ शोधानान्तर घाटामा गएको र विदेशी मुद्रा सञ्चिति घटिरहेकाले सचेत बन्नुपर्ने अवस्था रहे पनि आत्तिहाल्नुपर्ने स्थिति नरहेको उनले बताए ।
‘आउँदो कात्तिकमा राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्छ, त्यतिबेलासम्म पनि यही तवरले विदेशी मुद्रा सञ्चिति घट्यो भने राष्ट्र बैंकले ब्याजदर बढाउनुपर्ने अवस्था पनि आउन सक्छ ।’
प्रतिक्रिया दिनुहोस