
काठमाडाैं । विशेष अदालतले तत्कालिन जिल्ला न्यायाधीश ओमकार उपाध्यायलाई ३० हजार धरौटीमा छोडेको छ।
आइतबार विशेषका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीशहरू द्वारीकामान जोशी र प्रमोदकुमार वैद्य श्रेष्ठको इजलासले उनीसँग ३० हजार धरौटी लिएर छोड्न आदेश गरेको हो। धरौटीमा छुटेका उपाध्यायको मुद्दाको अन्तिम सुनुवाई भने बाँकी नै छ।
आजै अदालतमा हाजिर हुन आएका उपाध्याय ३० हजार धरौटी बुझाएर गएको प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए।
न्यायपरिषदले तनहुँका तत्कालिन जिल्ला न्यायाधीश ओमकार उपाध्याय विरूद्ध नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्दै जेठ १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
न्यायपरिषदको छानबिन नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै कारबाही सिफारिस गरेपछि जिल्ला न्यायाधीशबाट उपाध्यायले दुईहप्ता अघि राजीनामा दिएका थिए।
उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजाय र जरिवाना हुनुपर्ने परिषदले दावी गरेको छ। नक्कली प्रमाणपत्र पेश गरेर सरकारी वा सार्वजनिक पदमा काम गरेको प्रमाणित भए १० देखि २० हजारसम्म जरिवाना र ६ महिना देखि एकवर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।
भारतको कानपुर विश्वविद्यालय (हाल छत्रपति साहुजी महाराज विश्वविद्यालय) बाट स्नातक तहको शैक्षिक प्रमाणपत्रका रूपमा प्रोभिजनल सर्टिफिकेटमात्र बुझाएको न्यायपरिषदले जनाएको थियो। जबकी स्थायी शैक्षिक प्रमाणपत्रमात्र बुझाउनुपर्ने हुन्छ।
परिषदले छानविन गर्दा उनले उक्त स्थायी शैक्षिक प्रमाणपत्र पेश नगरेको /गर्न पनि नसकेको भेटिएको थियो।
प्रतिक्रिया दिनुहोस