लर्ड बुद्ध फाउन्डेसन (लर्ड बुद्ध ग्रुप अफ इन्स्टिच्युट) २२ वर्ष पहिला नेपालको पहिलो सूचना प्रविधि (आइटी) सम्बन्धी पढाइ हुने कलेज हो । यसरी नेपालमा आइटी शिक्षाको गोरेटो कोर्ने यो संस्थाको दुई दशक भन्दा बढीको यात्रा रोचक छ। अरूले कल्पना नै नगरेको यो क्षेत्रमा प्रवेश गर्दा नै यसका संस्थापक स्वर्गीय परमानन्द केजरिवालले अनौठो सपना देखेका थिए-नेपालका दुर्गम क्षेत्रमा बस्ने महिलालाई समेत कम्प्युटर शिक्षा दिने। अहिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित कार्यक्रमहरू मार्फत त्यो उद्देश्य पुरा गरिरहेकोमा गर्व गर्ने अवस्थामा पुगेको छ, लर्ड बुद्ध।
यसक्रममा आफूहरू सधैँ एउटा कुराले पिरोलिने गरेको स्मरण गर्छन्, फाउन्डेसनका अध्यक्ष इन्जिनियर पंकज जलान। उनले त्यो पिर पोखे, ‘आइटी कलेज सञ्चालन गर्दै गर्दा नेपाली महिलालाई कम्प्युटर चलाउन सिकाउन सक्छु कि सक्दिन कुराले धेरै सताउँथ्यो'। यसै बिच काठमाडौं, पोखरा, वीरगन्ज र जनकपुरमा पहिलो पटक कम्प्युटर सम्बन्धी तालिम सञ्चालन गर्यो फाउन्डेसनले । उक्त तालिममा महिलाको राम्रो सहभागिता रह्यो। त्यति बेला सुरु भएको एक हप्ते तालिम एक महिने हुँदै ६ महिने सम्म चल्यो। अहिलेसम्म करिब १० हजार महिलाहरूलाई लर्ड बुद्धले निःशुल्क कम्प्युटर तालिम प्रदान गरिसकेको सुनाउँदा जलनका आँखामा गर्वको भाव स्पष्ट रूपमा देखियो। तर, यस्तो गर्वको महसुस गर्ने तहसम्म आइपुग्न यसका संचालकहरुले गरेको सङ्घर्ष कम कष्टप्रद भने थिएन।
सुरुवाती संघर्षका कथा
त्यो समयमा सूचना प्रविधिको विकास विश्वव्यापी रूपमा भइरहेको थियो । नेपालमा भने ट्रेनिङ इन्स्टिच्युट मात्र थिए। आधिकारिक रूपमा आइटी डिग्री नै दिने कलेज थिएन । केही महिना अघि मात्र दिवङ्गत हुनु भएका आफ्ना पिता तथा एलबिइएफ कलेजका संस्थापक अध्यक्ष परमानन्द केजरिवाललाई सम्झिँदै जलाजले भने ’ बुबा शिक्षा क्षेत्रमा पहिलेदेखि नै लागिरहनु भएको थियो । उनको योगदानलाई सम्झँदै जलनले थपे, ’उहाँलाई नेपालमा आइटी कलेजको आवश्यकता छ भन्ने लागेर नेपालमा त्यस्तो कलेज खोल्ने कुरा गर्नुभयो हामीले पनि साथ दियौँ ।
नेपालमा कुनै पनि विश्वविद्यालय त्यस्तो प्रोग्राम नरहेको हुनाले उनीहरूले भारतको माखानलाल चतुर्वेदी राष्ट्रिय पत्रकारिता विश्वविद्यालयसँग कुरा गरेर नेपालमा यस्तो प्रोग्राम सञ्चालनको अनुमति लिए । तर, यता फेरी अर्को समस्या देखियो। नेपालमा त्यस समय कुनै पनि विदेशी विश्वबिध्यालयको सम्बन्धनमा अध्यापन गराइएको थिएन। क्याम्ब्रिजको ए लेबल थियो तर त्यो अर्कै प्रोग्राम हो।
'यसरी नयाँ काम गर्न थाल्ने भएपछि त्यसको जानकारी दिन शिक्षा मन्त्रालय गयौँ। उहाहरुले ठिकै छ त भन्नु भयो तर नियममा चलाउन मिल्ने वा नमिल्ने केही उल्लेख नभएको जानकारी पनि दिनुभयो। चलाए पनि भयो, केही फरक पर्दैन भन्ने आशय बुझेपछि समकक्षताको लागि त्रिभुवन विश्वविद्यालय गयौ। ' उनी थप्छन्, 'त्यहाँ नेपालमा आइटी शिक्षाको आवश्यकता बारे बुझाउने प्रयास गर्यौँ। तर, त्यस बेला त्यो सम्भव भएन।'
कहीँ न कहीँबाट त कुनै स्वीकृत लिनै पर्यो मन्त्रालयमा उनीहरूले निवेदन दिए तर मन्त्रालयले पत्रको जवाफ दिँदै भन्यो, 'तपाईँको पत्र प्राप्त भयो । यो सम्बन्धमा सम्बन्धित निकायमा सम्पर्क राख्नु होला।' अब पर्यो गाह्रो। शिक्षा मन्त्रालय भन्दा अर्को कुन निकायमा जाने ?
जे होस्, अन्यौलताका बिच एलबिइएफ कलेजले पढाई सुरु गर्यो। सुरुमा समस्या आउँछ, नयाँ बाटो हिँड्दा गाह्रो हुन्छ भन्ने सुरुमा नै सोचेका थिए उनीहरूले। त्यसैले पढाई सँगसँगै कार्यक्रम स्वीकृतिको लागि लबिङ पनि जारी राखे। अन्ततः उनीहरूको लगातारको प्रयास र दबाब पछि बि. स . २०५९ सालमा यस सम्बन्धी एउटा निर्देशिका आयो। त्यो निर्देशिकाको आधारमा अब बल्ल कलेज दर्ता भयो। त्यो बेला एन . पी साउद शिक्षामन्त्री हुनहुन्थ्यो। उहाँ कै पालामा विदेशी विश्व बिध्धालयसंग सम्बन्धन प्राप्त सस्थाहरुलाई निर्देशित गर्न भन्दै निर्देशिका बनेको थियो ।
यता विद्यार्थी पढ्दै थिए अर्को समस्या आयो, परीक्षाको सम्बन्धमा। उता बिश्वबिद्यालयमा नयाँ परीक्षा नियन्त्रक आएका रहेछन् । उनलाई कसैले 'इन्डिया नेपालको बोर्डर सँगै हो नजिकै छ भारतमा नै परीक्षा केन्द्र राख्दा हुन्छ' भनिदिएछन्। नयाँ मान्छे त्यही अनुसार एलबिइएफ कलेजका विद्यार्थीको परीक्षा केन्द्र गोरखपुर राखिदिएछन्।
यता नेपालको कलेज प्रशासनले सो कुरा दुई दिन अघि मात्र जानकारी पायो। त्यो बेला ६० जना विद्यार्थीहरू थिए । उनी सम्झन्छन्, 'सबैलाई बसमा हालेर रातारात त्यहाँ पुर्यायौँ। १५ दिन होटेलमा राख्यौ, हाम्रो आफ्नै खर्चमा ।' यसरी अघि बढ्दै जाने क्रममा बिमलेन्द्र निधि शिक्षामन्त्री हुँदा शिक्षा मन्त्रालयले त स्वकृति दियो। तर, अब त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिनु पर्ने काम बाँकी नै थियो ।
त्यो बेलामा प्रा . डा महेन्द्र सिंह रेक्टर हुनुहुन्थ्यो, त्रिभुवन बिश्वबिद्यालयको । उहाँले त सिस्टम पनि बुझ्नु भएको थियो । तर, आफूले चाहेर मात्र नहुने भएपछि उहाँले बाहिरको युनिभर्सिटीमा कसरी यस्तो काम हुन्छ भनेर अध्ययन गर्न एउटा टिम नै गठन गरेर इन्डिया , पाकिस्तान र श्रीलङ्का पठाउनुभयो। त्यसको संयोजक हुनुहुन्थ्यो, त्रिरत्न मानन्धर। त्यो टिमले प्रतिवेदन बुझायो। त्यसपछि बल्ल समकक्षता प्राप्त भयो।
कलेज खोल्नुको यस्तो थियो उद्देश्य
नेपालमा आइटी कलेज खोल्नुको खास दुई उद्देश्य रहेको जलान बताउँछन्। एउटा, आइटी एजुकेसनलाई गाउँ गाउँ सम्म पुर्याउने । त्यसको लागि उनीहरूले सुरुमा महिलाहरूको लागि निःशुल्क कम्प्युटर तालिम दिने योजना बनाए । ६ महिना , १ महिने ७ दिने सम्मको तालिम गराए । त्यसबारे उनी भन्छन्, ' आज त्यही आइटी प्रोग्रामले गर्दा कतिको जीवनमा ठुलो परिवर्तन ल्याएको देखेका छौ । त्यो देख्दा हामीलाई पनि ठुलो गौरव हुन्छ । त्यो बिचमा हामीले जनकपुर ,पोखरा , बिरंगन्जमा गरेर करिब करिब १० हजार महिलाहरूलाई तालिम दियौ ।'
अर्को उद्देश्य थियो, धेरै भन्दा धेरैलाई आइटी शिक्षा दिने। त्यसैले 'मास एजुकेशनल'लाई कसरी व्यवस्थित गराउन सकिन्छ भन्ने तर्फ उनीहरूले सोचे। त्यो सस्तो त हुने पर्ने थियो। त्यसैले नयाँ नयाँ कार्यक्रमहरू थप गर्दै लागे । यही क्रममा एमबिए बैंकिङ् नेपालमा ल्याउने पहिलो कलेज बन्यो- एलबिइएफ कलेज। त्यसै गरी एमबिए इ-बिजनेस पनि उनीहरूले सुरु गरे। बायो टेक्नोलोजीमा बीएस्सी नेपालमा भित्र्याउने पहिलो संस्थापनि एलबिइएफ कलेज नै हो।
फोकसमा आइटी र म्यानेजमेन्ट
'यस्तै नयाँ कार्यक्रम सुरु गर्ने क्रममा हामीले फेसन डिजाइन पनि चलायौ । फेसन डिजाइनको डिग्री दिने पनि हामी पहिलो हो', जलन बताउँछन्। तर, पछि फेरी धेरै कार्यक्रम यसले बन्द गर्यो। त्यस्तो निर्णय गर्नुको कारण खुलासा गर्दै उनले थपे, 'धेरै सन्तान भयो भने स्याहार गर्न धेरै गाह्रो हुदोरैछ । विभिन्न प्रोग्राम चलाउनु भन्दा आइटी र म्यानेजमेन्टलाई बढी फोकस दियौ । यो सेक्टरको मार्केटमा बढी डिमान्ड भएको र हाम्रो बढी इस्पेसलाइजेसन यो सेक्टरमा भएको कारणले यसमा नै अगाडि बढ्यौ ।'
यसरी सन् २०१३ देखि आइटी र म्यानेजमेन्ट लाइ नै फोकस गरेर अगाडि बढिरहेको छ, एलबिइएफ कलेज । अहिलेसम्म यो कलेजबाट करिब १० हजार विद्यार्थी पास भएर कार्य क्षेत्रमा गइसकेका छन् । ती मध्ये लगभग १३०/३५ जना त राम्रा कम्पनीको प्रमुखका रूपमा रहेको समेत उनले जानकारी दिए।
पछि सन् २०१५ मा अर्को एउटा समस्या पनि आइपर्याे । त्यसमा जानी जानी नै बदमासी गरिएको थियो । त्यसमा भएको के थियो भने कुनै पनि निर्णय त्यसपछिको मितिबाट लागु हुनुपर्नेमा त्यो भन्दा अघि देखि नै लागु हुने गरी गरियो। यसो गर्दा हामीले भारतको सिक्किम स्थित मणिपाल युनिभर्सिटीबाट सम्बन्धन लिएर वितरण गरेको डिग्री काम नलाग्ने भयो। भारतको एक राज्यको बिश्वबिद्यालयले अन्य प्रदेशमा सञ्चालन गरेको कलेजले बाँडेको डिग्रीलाई समेत मान्यता नदिने कुरा थियो।
त्यो समस्या विरुद्ध भारत गएर एलबिईएफ कलेजले मुद्दा लड्यो। मुद्दा जित्यो पनि। जसले गर्दा भारतका नै २८ लाख विद्यार्थीहरूले समेत लाभ लिए । अदालतले पुरानो डिग्रीलाई वैधानिकता दियो। त्यसपछि यस्तो सम्बन्धनमा रोक लग्यो। उनी भन्छन्, 'त्यसपछि हामी एसिया प्यासिफिक युनिभर्सिटी मलेसियासँग जोडियौ।' सो विश्वविद्यालय बारे उनले थप जानकारी दिए, 'अरू युनिभर्सिटी भन्दा एसिया प्यासिफिक अलि फरक छ यसले पुरै युकेको प्याटन फलो गर्छ । त्यो युनिभर्सिटी फाइभस्टार स्तरको युनिभर्सिटी हो ।
राम्रो काम गर्दा कमाएका शत्रुहरू
यसरी राम्रो काम गर्दा समेत धेरैले दुख दिएको तितो अनुभव छ, जलानसँग। भन्छन्, 'धेरैको आँखाको तारो भएका छौँ। जो परिवर्तन हुन चाहँदैनन् उनीहरू हाम्रो रिस गर्छन्।' आफ्नो कलेजले उत्पादन गरेको एक जना पनि विद्यार्थी खाली बस्नु नपरेको उनी दाबी गर्छन्। यो क्रममा भोगेको एउटा घटना उनले बताए :
सन् २००१ को कुरा हो भक्त बहादुर बलायर विज्ञान प्रविधि मन्त्री हुनुहुन्थ्यो। त्यस बेलामा सरकारले १० हजार जनालाई आइटी तालिम दिनु पर्छ भनेर एडिबी र वर्ल्ड बैङ्कको प्रोजेक्ट आएको थियो । त्यो प्रोजेक्टमा हामीले पनि टेन्डर हाल्यौ । ३५/४० ओटा संस्था छनौट भए। यसरी टेन्डर हाल्नेमा २ ओटा मात्र कलेज थिए अरू सबै ट्रेडिंग इन्स्टिच्युट। तिनीहरू सबै के कारणले हो हाम्रो विरुद्धमा देखिए । किन थाहा छैन ? विज्ञान मन्त्रालय छिर्दा कार्यालय सहायक देखि हाकिमसम्म कसैले हेर्न चाहँदैनन् । लर्ड बुद्ध बन्ने बित्तिकै मुन्टो बङ्गाएर हिँड्छन्। टेन्डर खोल्ने दिनमा ३५ – ४० अटा सबै प्रतिस्पर्धी म माथि खनिए । हाम्रो फाउन्डर इन्डियन भन्ने देखि लिएर एनजिओले यस्तो काम गर्न पाउदैनन भनेर लफडा गरे। अन्ततः त्यहाँ यस्तो प्रोजेक्ट थियो जुन गर्न हामी मात्र सक्थ्यौ। त्यसैले पायौँ। अनि त्यसलाई उत्कृष्ट ढङ्गले पुरा गर्यौँ। बल्ल हाम्रो क्षमता देखियो। त्यसले नै हामीलाई सोसाइटीमा चिनायो ।
जनकपुरमा उच्च कोटीको स्कुल स्थापना
शिक्षाको तहबाट हेर्ने हो भने प्रदेश न. २ को राजधानी भएर पनि जनकपुरमा शिक्षाको स्तर धेरै नै तल छ। त्यहाँका बिद्यार्थीहरु विद्यालय तहको गुणस्तरीय शिक्षाको लागि बर्दिबास, सिन्धुली पढ्न जान्थे । उनी भन्छन्, 'आफ्नो ठाउँलाई पनि केही गर्नु पर्छ भनेर जनकपुरमा स्कुल खोल्यौ । काठमाडौँमा खोलेको भए राम्रै पैसा कमाइन्थ्यो होला तर आफ्नो ठाउँ हुनाले उता खोल्यौँ ।' उनका अनुसार त्यहाँ पढाउन भारतबाट राम्रा शिक्षकहरू ल्याइएको छ।
भौतिक पूर्वाधारको हिसाबले समेत त्यहाँको एक नम्बर भन्न मिल्ने त्यो विद्यालयले कोरोना महामारीमा समेत कहिले पनि कक्षा रोकेन। आइटीमा राम्रो दक्खल भएको तिमीले चलाएको कारण सुरु देखि नै अनलाइन कक्षा सञ्चालन गरेको जलान बताउँछन् ।
प्रतिक्रिया दिनुहोस