aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ असोज २०७८
चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र

बागमती । दशैंलगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकरी बाबुराम अर्यालका नेतृत्वमा  अनुगमन समितिले  यही असोज ११ गतेबाट बजार अनुगमन थालेको थियो ।  समितिले हेटौँडा उपमहानगपालिकालगायत जिल्लाका अन्य गाउँपालिकाका ९५खाद्यान्न तथा किराना पसल, होटल, रेष्टुराँ र औषधि पसलको अनुगमन गरेको जनाएको छ ।

ती मध्ये  ५७ खाद्यान्न तथा किराना पसलको अनुगमन गर्दा खरिद बिल पेश नगरेको एक पसललाई  १५ हजार रुपैयाँ जरिवाना गरेको बताइएको छ । अन्य पसललाई प्रष्टरूपमा देख्ने गरी मूल्यसूची राख्न साथै ग्राहकलाई बिल दिन र भीडभाड नगरी कोरोनाबाट सुरक्षित रहन मापदण्ड पालना गर्न सुझाव समितिले दिएको थियो ।

त्यसैगरी अनुगमनका क्रममा हेटौँडाको स्कुलरोडमा रहेको तीनवटा फैन्सी स्टोरलाई खाता आद्यवधिक नगरेको पाइएकाले  २५ हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकरी अर्यालले जानकारी दिए । समितिले दुई पसललाई जनही रु पाँच हजार र एउटा पसललाई  १५ हजार रुपैयाँ जरिवाना गरिएको उनले बताए ।

यसअघि अनुगमन समितिले हेटौँडा–१० मा रहेको गुराँस  पोलिक्लिनिक तथा साई फार्मेसीमा अनधिकृत व्यक्तिले औषधि बिक्री गरेकाले कारबाही गरेको थियो । सो समितिमा उपभोक्तावादी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको समेत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस