aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

दशैंमा पेट्रोलियम पदार्थ व्यवस्थापन यसरी हुँदैछ

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, २२ असोज २०७८
दशैंमा पेट्रोलियम पदार्थ व्यवस्थापन यसरी हुँदैछ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँको बिदामा डिपोहरू खुला राख्ने भएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

दशैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्पहरू खुला राख्न निगमले निर्देशन गरेको छ । प्रवक्ता उपाध्यायले भने, “दशैँमा कुनै पनि स्थानमा पेट्रोलियम पदार्थको अभाव हुँदैन, आपूर्ति निरन्तर चल्छ, माग बढ्ने भएकाले हामी सोहीअनुसार तयारी अवस्थामा छौँ ।” निगमका अनुसार सामान्य अवस्थाको तुलनामा दशैँ, तिहारमा करिब २५ प्रतिशतले पेट्रोलियम पदार्थको माग बढ्छ ।

आपूर्ति सहज भएकाले समस्या नहुने निगमको दाबी छ । हाल निगमले कुल क्षमताको ७५ प्रतिशत पेट्रोलियम पदार्थको भण्डारण गरेको छ । ६८ हजार किलोलिटर भण्डारण क्षमता छ । जुन नेपालमा सात दिनका लागि पुग्छ ।

मासिक दुई अर्ब घाटा
निगमको मासिक घाटा दुई अर्ब १० करोड रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै निगमको घाटा पनि वृद्धि भएको छ । हरेक १५ दिनमा एक अर्ब पाँच करोड रुपैयाँ घाटा भइरहेको निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर करिब छ, डिजलमा तीन र एलपी ग्यासमा प्रतिसिलिन्डर चार सय ९५ रुपैयाँ घाटा रहेको उपाध्यायले बताए । १५ दिनमा एलपी ग्यासमा ७३ करोड रुपैयाँ घाटा रहेको उनको भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस