
काठमाडौँ। दशैं परिवारसँग रम्ने र घुमफिर गर्ने उपयुक्त समय हो। तर, धेरैले यो समयलाई महत्त्वपूर्ण पुस्तक पढेर उपयोग गर्ने समेत गरेका छन्। यदि तपाई यो सालको दसैँमा लगानी, व्यापार तथा व्यावसायिक क्षेत्रका नयाँ ज्ञान लिने सोचमा हुनुहुन्छ भने यो दसैँमा यी १० पुस्तकहरू तपाइका लागि सही छनौट हुन सक्छन् ।
फियरलेस जीनियसः द डिजिटल रोभोल्यूशन इन सिलिकन भ्याली
यो पुस्तकमा प्रविधिको दुनियाँका उस्ताद मानिने एप्पल कम्पनीका स्वर्गीय पूर्व प्रमुख स्टिभ जब्स, बिल गेट्स र जोन डोएर जस्ता व्यक्तिको विषयमा उल्लेख छ । उनीहरूले जीवनमा के के गरे र कसरी यति ठुला व्यक्ति बने भन्ने उल्लेख रहेको यो पुस्तक निक्कै प्रेरणादायी मानिन्छ । खासगरी व्यापार र प्रविधिमा चासो राख्ने व्यक्तिलाई यो पुस्तक साँच्चिकै पठनीय बन्न सक्छ । लेखक डग मेनुजले सन् १९८५ देखि सन् २००० बिचका १५ वर्षमा कसरी डिजिटल क्रान्ति भयो भन्नेबारे यसमा सविस्तार उल्लेख गरेका छन्।
थिङ्क लाइक अ फ्रिक
यो पुस्तकमा विभिन्न चर्चित पुस्कका लेखकको जस्तै कसरी सोच्ने भनेर अनौठा कुरा गरिएको छ । जीवनमा सफल हुन चाहनेले यो पुस्तकलाई पनि आदर्श मानेका छन् । स्टीभन डी लेविट र स्टेफेन जे डबनरको यो पुस्तकमा असामान्य, अजीव र बिरलै औसत मानिसहरूले सोच्ने भन्दा फरक विचारहरूको वर्णन छ। रोचक उदाहरणहरू, सम्मोहक कथाहरू र अपरम्परागत विश्लेषणसंगै दुई लेखकहरूले हामीलाई धेरै तर्कसङ्गत, रचनात्मक र उत्पादक सोच्न सक्षम हुनको लागी प्रोत्साहित गर्छन्। तपाईँ यसलाई विभिन्न क्षेत्रहरूमा अभ्यास गर्न सक्नुहुन्छ, व्यापारदेखि खेलकुद र राजनीतिसम्म।
हाउ गुगल वर्क
यो पुस्तकमा गुगलका पूर्व कार्यकारी अध्यक्ष एवं पूर्व सिइओ एरिक शिम्ट र प्रोडक्ट्सका पूर्व एसभिफी जोनाथन रोजनवर्गले गुगल सर्च इन्जिन कसरी बन्यो र यो बनाउने विचार कहाँबाट आयो भन्ने उल्लेख गरेका छन् । त्यति मात्र होइन यसमा प्रविधिले दुनियाँमा ल्याएको परिवर्तन र फेरिएको शक्ति सन्तुलनका विषयमा उल्लेख छ ।
गर्लबोस
गर्ल बोस नामको पुस्तकमा सोफियाले आफूले कम्पनी स्थापना गरेदेखि यसमा सफलता पाएर उद्यमी बन्दासम्मको कथा छ । यो कथा धेरैका लागि प्रेरणाको श्रोत बन्न सक्छ । अझ केटीहरूका लागि विशेषरुपमा यो उत्प्रेरक बन्न सक्छ। यसमा सफल उद्यमी बन्नका लागि टिप्स समेत दिइएको छ ।
क्यापिटल इन द ट्वान्टी फर्ष्ट सेन्चुरी
पछिल्लो समयको सबैभन्दा बढी पढिएको पुस्तक मानिने 'क्यापिटल इन द ट्वान्टी फर्ष्ट सेन्चुरी' नामक पुस्तकमा लेखक थमस पिकेटीले ब्यवसायमा कसरी अनुचित तरिका अपनाइन्छ र यसले गर्दा धनी र गरिबको खाडल बढिरहेको छ भनेर चर्चा गरेका छन् । समाजमा असन्तोष पैदा हुने कारणबारे उल्लेख गरेको यो पुस्तकलाई कतिपय कार्ल मार्क्सको दास क्यापिटलसँग पनि तुलना गर्छन्।
क्रिकएटिभिटी इङ्क
क्रिएटिभीटी इङ्क यस्तो पुस्तक हो जसमा म्यानेजर अर्थात् व्यवस्थापकले जान्ने पर्ने कुरा उल्लेख छ । यो पुस्तक व्यवस्थापक अर्थात् म्यानेजर बन्न चाहने व्यक्तिले पढ्नै पर्छ । एड क्याट्मलको यो पुस्तक धेरै व्यवस्थापकको लागि गुरु साबित भैसकेको छ।
द इन्टेलिजेन्ट इन्भेष्टर
शेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेटले समेत पढ्न जोड दिएको बेन्जमिन ग्राहमद्वारा लिखित यो पुस्तकको नाम हो, ‘द इन्टेलिजेन्ट इन्भेष्टर’ । बफेटले सन् १९५० मा ‘फादर अफ भ्यालु इन्भेष्टिङ्ग’ यो पुस्तकको पहिलो संस्करण पढेका थिए। बेन्जामिन ग्राहमलाई भ्यालू इन्भेस्टिङका पिता मानिँदै आएको छ । जस अनुसार आफ्नो वास्तविक मूल्य भन्दा कम दाममा कारोबार भइरहेका सेयरहरू आधारभूत विश्लेषणको माध्यमबाट पहिचान गरी खरिद गर्नुपर्दछ भन्नेमा उनको जोड छ ।
रिच ड्याड पोर ड्याड
युवा लगानीकर्ताले पढ्नुपर्ने एक बहुचर्चित पुस्तक हो ‘रिच ड्याड पोर ड्याड’ । यस पुस्तकमा गरिब र मध्यमवर्गीयले पैसाका लागि मात्रै काम गर्ने तर धनीले सिक्नका लागि काम गर्ने धारणा लेखक रोबर्ट कियोसाकीले व्यक्त गरेका छन् ।
द एसे अफ वारेन बफेट
आधुनिक इतिहासको सर्वाधिक सफल लगानीकर्ताका रूपमा चिनिएका बफेटले आफ्ना निबन्धहरूमा कर्पोरेट अमेरिका र सेयरहोल्डरहरुसँग सम्बन्धित विविध विषयहरूमा आफ्नो धारणा राखेका छन् । वारेन बफेटले यस पुस्तकबाट युवा लगानीकर्ताले कम्पनीको व्यवस्थापन र यसका सेयर होल्डरहरू बिचको सम्बन्धको बारेमा लेखेका छन् । पुस्तकमा बफेटले कर्पोरेट गभर्नेन्स, वित्त, लगानी, साधारण सेयरका विकल्प, मर्जर तथा एक्विजिसनका बारेमा चर्चा गरेका छन् ।
थिंक एन्ड ग्रो रिच
‘थिंक एन्ड ग्रो रिच’ महामन्दीको समयमा लेखिएको पुस्तक हो । यो पुस्तक हालसम्म विश्वभर १० करोडप्रति भन्दा बढी बिक्री भइसकेको छ । लेखक नेपोलियन हिलले आफ्नो जीवनकालमा धनी व्यक्तिहरूसँगको सहकार्यमा आधारित भएर बृहत् अनुसन्धान गरेका थिए । आन्द्रे कार्निजको सुझावमा हिलले आफ्नो अवलोकन, अनुसन्धानका आधारमा प्राप्त निष्कर्षहरू प्रस्तुत गरेका छन् । उनले सफल र व्यक्तिगत उपलब्धिका लागि १३ सिद्धान्त यसमा प्रकाशित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस