
काठमाडौं । विश्वका धेरै मुलुकहरु जस्तै नेपालमा पनि महिला र पुरुषमा विभेद देखिएको पाइन्छ । महिलाहरु आर्थिक, शैक्षिक, राजनीतिक र अन्य क्षेत्रमा पछि नै परेको देखिन्छ ।
विगत केहि वर्षयता राजनैतिक चेतनाको विकाससंगै महिलाहरुले पनि घरबाहिर निस्केर काम गर्न थालेको देख्न सकिन्छ । यसले के देखाउछ भने अन्य देशको तुलनामा राजनीति क्षेत्रमा नेपाली महिलाहरू धेरै अगाडी बढेका छन् । कानुनले नै राज्यको विभिन्न अंगहरुमा महिलाहरूका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि निर्वाचनमा थप आरक्षणको व्यवस्था गरिएको छ ।
महिलाका नाममा घरजग्गा पास गर्दा कम राजश्व तिरे हुने व्यवस्था गरिएको छ । यसले महिलामा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग गरेको छ । महिलालाई जोश, जागर त्यस प्रति आर्कषित गर्न विभिन्न क्षेत्रमा आरक्षण कोटा समेतको व्यवस्था गरेको छ । सरकारले त्यति व्यवस्था गर्दा पनि महिलाहरु पछि नै परेको तथ्याकंले देखाएको छ ।
नेपालमा जनसंख्याको रुपमा महिला ५१ दशमलब ५० प्रतिशत रहेको छ । जनसंख्याका रुपमा पुरुष भन्दा महिला अघि भए पनि विकासका रुपमा पछि नै परेका छन् ।
नेपालको निजामती सेवामा महिला कर्मचारीको हिस्सा १९ दशमलव ३ प्रतिशत पुगेको छ । देशको कुल जनसंख्यामा ५१ दशमलव ५ प्रतिशत हिस्सा ओगटेका महिलाको यो उपस्थिति जनसंख्याको तुलनामा कमी नै हो । तथापि, आजभन्दा ठीक ८ वर्षअघि महिला कर्मचारीहरूको यो हिस्सा केवल १० प्रतिशत हाराहारी मात्रै रहेकोमा हाल उल्लेख्य वृद्धि भएको देखिन्छ ।
अर्कोतर्फ, पछिल्लो समयमा लोकसेवा आयोगद्वारा विज्ञापन गरिने निजामती सेवाका विभिन्न पदहरूमा दरखास्त दिने महिलाहरूको संख्यासमेत बढिरहेको छ ।
नेपाल सरकारले महिलाको लागि दिएको विभिन्न शैक्षिक कार्यक्रम लगायतका अन्य जनचेतना मूलक कार्यक्रमले उनीहरुको क्षमता अभिवृद्धि समेत गराएको छ ।
अहिले महिला हिंसा विरुद्धका थुप्रै कानुनहरू बनेका छन् । महिला हिंसा कम गर्न महिलाप्रतिको शोषण, उत्पीडन, हिंसा, अत्याचार, दुव्र्यवहार अन्त्यका निमित्त थुप्रै कानुन बनेका छन् ।
यति हुँदा पनि नेपालमा महिलामाथि हुने हिंसाका विभिन्न स्वरूपहरू छन् । बहुविवाह, बाल विवाह, दाइजो प्रथा, कुटपिट, सम्बन्ध विच्छेद, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जबर्जस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, घुम्टो प्रथा, अनमेल विवाह, छाउपडी प्रथा, वादी प्रथा, देउकी प्रथा आदि महिला हिंसाका केही रूप हुन् ।
नेपालको सन्दर्भमा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा महिलामाथि हिंसा रहेको पाइन्छ । हिमाल, पहाडदेखि तराई–मधेससम्म, उच्च घरानादेखि सुकुम्बासी झुपडीसम्म, राजनीतिज्ञदेखि मतदातासम्म जहासुकै र जोसुकैबाट तथा जतिबेला पनि महिला हिंसा हुन सक्ने सम्भावना रहेको छ ।
नेपालमा जे जस्ता कानुन बने पनि त्यो लागु हुन भने सकेको छैन । महिलालाई अहिले बोक्सीको आरोपमा कुटाई सहेर पनि महिला समाजमा बस्न बाध्य भइरेहका छन् ।
कतिपय शिक्षित महिला अहिले पनि घरको चार दिवालमा सिमित रहेका छन् । जसमा योग्यता र दक्षता हुदाँ हुदाँ पनि घर बाहिर गएर काम गर्ने वातावरण नमिलेर घरधन्दामा लागि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस