अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सस्तो दररेटको प्रस्तावलाई बेवास्ता गरी ठेकेदारसँग मिलेर महँगो दररेटको स्वास्थ्यसम्बन्धी सामग्री खरिद गरेको आरोपमा तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास (बिपी दास)सहित आठजनाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा १५ करोड ७७ लाखभन्दा माथिको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उपकुलपति दाससहित अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापा र रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवविरुद्ध मुद्दा दायर भएको हो ।
उपकरण सप्लायर्स प्रोसिजन मेडिकल प्रालि र वायोमेड इन्टरनेसनल प्रालिका प्रोप्राइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्ट्रिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवालविरुद्धसमेत मुद्दा दायर भएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
प्रतिक्रिया दिनुहोस