aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दशैं, दशा र जलवायु सम्मेलनमा देउवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ कार्तिक २०७८
दशैं, दशा र जलवायु सम्मेलनमा देउवा
  • केदार सिटौला

हट्यो सारा हिलो मैलो

हरायो पानीको वर्षा

भवानीको भयो पूजा

चल्यो आनन्दको वर्षा

दसैँको बारेमा कवि शिरोमणि लेखनाथ पौड्यालले यसरी वर्णन गरेका थिए। त्यस्तै उनले तिहार भन्ने कविता पनि लेखेका छन्।  जसमा लेखनाथ पौड्याल भन्छन् :- 

खेती-पाती पूर्ण तयारी 

ढकमक्क फुलले ती फूलबारी  

हँसिला मुखका सब नर नारी

सबतिर लक्ष्मी-पुजा भारी    

कवि शिरोमणि लेखनाथ पौड्याललेले आज भन्दा करिब १०० वर्ष अगाडी नै आफूले देखे भोगेका ऋतुहरूको बारेमा ऋतु विचार भन्ने खण्डकाव्य लेखेका थिए। जसमा उनले नेपालमा आउने सबै ६ वटै ऋतुहरू (वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त र शिशिर ) बारे विस्तृत रूपमा व्याख्या गरेका छन्।

के लेखनाथ पौड्यालले वर्णन गरेको दसैँ-तिहार र शरद ऋतु अहिलेको मौसम बिच केही तालमेल खान्छ ? बिलकुलै खाँदैन। हाम्रा महत्त्वपूर्ण चाड पर्व कुन तिथिमा पर्छन्, त्यसको धार्मिक कारणलाई छोडिदिने हो भने त्यसको समय चाही शरद ऋतुमा नै किन पर्छ। यो चाही विचार गर्नु पर्ने पक्ष छ। 

शरद ऋतु र हाम्रा चाडबाडको सम्बन्धबारे जगदीश घिमिरेले आफ्नो प्रख्यात पुस्तक अन्तर्मनको यात्रामा लेखेका छन्- हाम्रा ऋतुहरूमा सबै भन्दा सर्वश्रेष्ठ ऋतु नै शरद हो। मूल फुटेर खोला, कोसी, झरना संगलिएका हुन्छन्। पाखा बाली थन्किएर अन्नको सहकाल हुन्छ। घाँसको सहकाल हुन्छ। गाइभैसी ब्याएका हुन्छन्। गोरसको सहकाल हुन्छ।  पधेरामा मूल फुटेर खानेपानीको सहकाल हुन्छ। पेटभरि खानेकुरा र भाग्ययोग्य अनुसार गोरस जुर्दा मान्छेका अनुहार चम्किने बेला पनि यही हो।  मङ्सिर-पुसमा धान काटेपछि निरस देखिने खेतका गराहरू यसै बेला धानका बाला झुलेर सरस भएका हुन्छन्। 

के अहिले जगदीश घिमिरेले लेखे जस्तो मौसम छ त यति बेला ? बिलकुल छैन। यति बेला मध्य बर्षाकाल जस्तो मौसम छ। जल तथा मौसम विज्ञान विभागले मनसुन नेपालबाट फर्केको घोषणा गर्ने बित्तिकै वैशाख-जेठ लाई बिर्साउने गर्मी सुरु हुन्छ। अनि एक हप्ता पछि फेरी असार-साउन महिनालाई माथ गर्ने गरी वर्षा सुरु हुन्छ।

देश भरका खोला नालाहरूमा बाढी उर्लेर आउन थालेको छन् । किसानहरूको काट्न बाँकी र काटिसकेको धानबालि खेतमै डुबाएको र बगाएको खबर आइरहेको छ। समयमै रासायनिक मल र अनेक अभाव र समस्याका बाबजुद पनि किसानहरूले उब्जाएको धानबालि नष्ट हुँदा अब आउने हिउँदमा ठुलै खाद्य सङ्कट उत्पन्न हुने सम्भावना देखिँदै छ। नेपाल जस्तो खाद्य पदार्थमा परनिर्भर देशको लागि यो ठुलै विपत्ति हो।  

अहिले मौसममा उलटफेर भइरहेको छ त्यसको मुख्य कारण जलवायु परिवर्तन नै हो। हुन त केही जान्ने बुझ्नेले भन्न सक्लान् आज भन्दा यति वर्षा अगाडी पनि हिले दसैँ भएको थियो। यस्तै ठुलो पानी परेको थियो, देश भरी बाढी पहिरो आएको थियो। हो, पहिला पनि यस्ता असामान्य मौसमी घटनाहरू हुन्थे।  तर ती घटनाहरू बिरलै घट्थे। मानिसको जीवनकालमा एक पटक वा दुई पटक। 

तर, केही दशक यता यस्ता असामान्य मौसमी घटनाहरूको तीव्रता बढ्न थालेको छ। नासाका जलवायु परिवर्तन सम्बन्धी प्रख्यात वैज्ञानिक जेम्स हान्सेनले जलवायु परिवर्तनको असामान्यता लाई लिएर क्लाइमेट डाइस (climate dice ) भनेर व्याख्या गरेका छन्। जेम्स हान्सेनको क्लाइमेट डाइस मोडेल अनुसार १९५१ देखि १९८० सम्मको तापक्रमको तथ्याङ्क लिएर पासाको ६ वटा पाटा मध्ये दुई वटा लाई अत्यधिक गर्मीको देखाउने रातो रंग, २ वटा जाडो लाई निलो र सामान्य मौसम लाई देखाउने सेतो रंग लगाइएको थियो। त्यस बेला ३ वटै मौसम हुन सक्ने बराबर सम्भावना थियो। तर १९८० पछि ४ पाटा रातो, एउटा निलो र एउटा सेतो रंग लगाउनु पर्छ। जसले गर्दा अहिलेको अवस्थामा सामान्य भन्दा असामान्य मौसम हुने सम्भावना प्रबल हुन्छ।

जलवायु परिवर्तनको मुख्य कारण मानिएको कार्बन उत्सर्जनमा नेपालको भूमिका जम्मा ०.०९ प्रतिशत मात्र छ।  तर जलवायु परिवर्तनको कारण सबैभन्दा जोखिममा पर्ने देशहरूको सुचीमा नेपाल चौथोमा पर्छ। जलवायु परिवर्तनका कारण आफूले गर्दै नगरेको पापको सजाय पनि नेपालले भोग्न अभिसप्त छ। जलवायु परिवर्तनलाई सामना गर्ने जम्मा दुई वटा विधि छन्। पहिलो हो, न्यूनीकरण र अर्को अनुकुलिकरण। 

नेपालको कार्बन उत्सर्जनमा सुरु देखि नै हिस्सा कम छ अब यो देशले थप कार्बन उत्सर्जन न्यूनीकरण गर्ने सवाल नै भएन। बाँकी रह्यो अनुकुलिकरण। नेपालले अब भोग्नु पर्ने अप्रत्याशित मौसमी घटनाहरू जस्तै बाढी, पहिरो, खडेरी, खाद्य सङ्कट र पुनर्वास जस्ता कुराहरू तर्फ ध्यान दिनु पर्ने हुन्छ। 

खाद्यान्नमा आत्मनिर्भरता पनि राष्ट्रिय सुरक्षाको एक प्रमुख अङ्ग हो। यदुनाथ खनाल भन्ने गर्थे खाद्य बस्तुमा आत्मनिर्भर नभई परराष्ट्र नीतिमा सबल बन्न सकिँदैन। यदि जलवायु परिवर्तनले भारत लगायतका अन्य देशहरूलाई पनि  नराम्रो सँग असर पुर्‍यायो भने नेपालले चाहेर पनि खाद्यान्न किन्न नपाउन सक्छ। जलवायु परिवर्तनका असरहरू झन् झन् घनिभूत भन्दै गइरहेको छन् । तर, हाम्रो तयारी खासै केही देखिएको छैन !

तर, प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा सहभागी हुनका लागि कात्तिक तेस्रो साता स्कटल्यान्ड जाने भएका छन् । स्कटल्यान्डको ग्लास्गोमा  नोभेम्बर १ र २ मा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी 'वर्ल्ड लिडर समिट'मा सहभागी हुन जानुअघि उनले यो विषयमा कुन तहसम्म अध्ययन गर्छन् र आफ्नो आवाजलाई कति दर्बिलो ढगले प्रस्तुत गर्छन् त्यो पनि यो सन्दर्भमा महत्त्वपूर्ण हुन्छ। कसैले देउवालाई महाकालीमा यस बेला आएको बाढी र देशैभरका किसानको धान बालीमा भएको क्षतिबारे ग्लास्गो पुग्नु अघि नै जानकारी गराउला त ?

 

प्रतिक्रिया दिनुहोस