
काठमाडौँ। नेपालको अर्थतन्त्रमा कृषिको योगदान ३२ प्रतिशत रहेको बताइन्छ। कृषि क्षेत्रको कुल योगदान मध्ये धानको मात्र हिस्सा १२ प्रतिशत रहेको अर्थविदहरु बताउँछन्। यसरी हेर्दा अहिलेको बेमौसमी वर्षा र बाढीले नेपालको अर्थतन्त्रमा नै ठुलो असर पुर्याउने देखिएको छ।
दसैँको बेला आएको यो वर्षाले नेपालको धान बालीको औसतमा २० प्रतिशत नष्ट गरेको छ। जसले के देखाउँछ भने पछिल्लो बाढी र बर्षातको कारणले मात्र नेपालको कुल अर्थतन्त्र नै दुई प्रतिशत भन्दा बढीले खुम्चने अवस्थामा पुगेको छ।
हुन पनि यो वर्षाले धान काट्ने तयारी गर्दै गरेका किसानको धान सखापै पार्यो। चार दिनको वर्षाले लुम्बिनी प्रदेशमा ३६ हजार चार सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धान बाली पूर्ण रूपमा नष्ट भएको तथ्याङ्क सार्वजनिक भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा वर्षाले ९३ हजार ५७६ हेक्टरमा काटेर तयारी अवस्थामा रहेको र ढलेको धान खेती वर्षाले क्षति पुर्याएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।
उता धानको सर्वाधिक राम्रो उत्पादन हुने जिल्ला झापामा लगातार आएको हावापानीले कम्तीमा ६० हजार मेट्रिक टन धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। झापामा ८६ हजार ५ सय हेक्टरमा धान खेती भएको थियो। झापामा १६ प्रतिशत धान बालीमा क्षति पुगेको बताइन्छ।
मध्य तराइको जिल्ला सिराहा र सप्तरीमा पनि करिब २० प्रतिशतसम्म उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ। सिराहा जिल्लामा कुल ७३ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टर र सप्तरीको ६८ हजार हेक्टरमध्ये ६३ हजार हेक्टरमा धान वाली लगाइएको थियो। तर, गएको आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण धान ढल्ने र डुब्ने अवस्था आउँदा उत्पादनमा करिब २० प्रतिशत क्षति पुगेको हो।
नेपालको पूर्वी र मध्य तराइमा मात्र होइन मध्यपश्चिमका पहाडी र सुदूर पश्चिमका क्षेत्रहरूमा समेत धान बालीमा ठुलो क्षति पुगेको छ। डडेलधुरामा लगातारको वर्षाका कारण पाक्नै लागेको धान बालीलाई क्षति पुर्याएको छ भने पर्वत, बाग्लुङ्ग लगायतका जिल्लाको पनि अवस्था उस्तै छ ।
प्रतिक्रिया दिनुहोस