aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ब्याजदरको उतारचढावले शेयर बजार अस्थिर

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • शुक्रबार, ०५ कार्तिक २०७८
ब्याजदरको उतारचढावले शेयर बजार अस्थिर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा देखिएको उतारचढावले यो साता शेयर बजार अस्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंकहरुको ब्याजदर घटाए पनि सेयर बजारमा भने नकारात्मक नै असर देखियो ।

दसैं बिदापछि खुलेको बजार यो साता ८३ अंकले घटेको छ । दसैंअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६३९ अंकमा बन्द भएको थियो । साताको पहिलो दिन आइतबार नेप्से १७ अंकले बढेपछि सोमबार र मंगलबार उच्च अंकले घटेको थियो । यसैगरी बुधबार ६० अंकले बढेको नेप्से साताको अन्तिम दिन बिहीबार १४.७० अंकले घटेर २५५६.९५ अंकमा झरेको छ ।

यो साता बैंकको ब्याजदरका कारण बजार प्रभावित भयो । बैंकहरुले कात्तिकका लागि प्रकाशित गरेको ब्याजदर पौने १२ प्रतिशतसम्म तोकेपछि बजार उच्च अंकले घटेको थियो ।

मंगलबार राति निर्देशन जारी गर्दै १० प्रतिशतसम्म मात्र ब्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको राष्ट्र बैंकले बुधबार भने मौखिम रुपमा ब्याजदरको सीमा नै तोकिदिएको थियो ।

बैंकहरुले बुधबार नै ब्याजदर परिवर्तन गर्दै राष्ट्र बैंकको चाहनाअनुसार एकल विन्दुमा नै ब्याजदर कायम गरेका छन् । बैंकहरुले ब्याजदर घटाए पनि बिहीबार बजारमा सकारात्मक प्रभाव पर्न सकेन ।

बिहीबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचक पनि घटेका छन् । म्युचुअल फण्ड र अन्य समूह बाहेकका समूहगत परिसूचक ओरालो लागे । सबैभन्दा बढी विकास बैंक समूह २।०३ प्रतिशतले घटेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार २१६ कम्पनीका ६१ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्व ६३ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । यसदिन १५१ कम्पनीको मूल्य घट्दा ३० कम्पनीको मूल्य वृद्धि भएको छ भने पाँच कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस