aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पाकिस्तानी हवाई मार्ग भारतकाे लागि खुल्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
पाकिस्तानी हवाई मार्ग भारतकाे लागि खुल्याे

काठमाडौं । पाकिस्तानले भारतका लागि हवाई क्षेत्र खुला गरेको छ । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले मंगलबारबाट हवाई क्षेत्र खुला गरेको जानकारी दिएको हो । बालाकोट आक्रमणपछि पाकिस्तानले भारतीय विमानका लागि हवाई मार्ग बन्द गरेको थियो । हवाई मार्ग खुला गरेर पाकिस्तानले भारतसँगको सम्बन्धमा मिठास भर्न खोजेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

पाकिस्तानको यो कदमले भारतको एयर इन्डियालाई ठूलो राहत मिलेको समाचारमा उल्लेख छ । किनभने पाकिस्तानको हवाई मार्ग बन्द भएपछि एयर इन्डिया अर्कै बाटो प्रयोग गर्न बाध्य थियो ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतीय एयरलाइन अपरेटरहरुले अब छिट्टै पाकिस्तानको हवाई क्षेत्र हुँदै सामान्य मार्ग प्रयोग गर्न थाल्ने छन् ।

पाकिस्तानको नागरिक उड्ड्यन प्राधिकरणले गएराति पौने १ बजेतिर एयरमेन -नोटाम)लाई एक सूचना पठाएर पाकिस्तानको हवाई क्षेत्र सबै प्रकारका सार्वजनिक उडानका लागि खुल्ला भएको जानकारी दिएको थियो । दुवै देशको हितलाई ध्यानमा राखेर यो कदम चालिएको प्राधिकरणका अधिकारीको भनाइ छ ।

गत १४ फेब्रुअरीमा जम्मु कश्मिरको पुलवामा भारतीय सीमा सुरक्षाकर्मीमाथि आतंकवादी हमला भएपछि दुई देशबीच शत्रुवत व्यवहार अझै उत्कर्षमा पुगेको थियो ।

आक्रमणकारी जैश-ए-मोहम्मद समूहलाई पाकिस्तानको संरक्षण रहेको भन्दै भारतले पाकिस्तानी भूमिमा २६ फेब्रुअरीमा हवाई आक्रमण गरेको थियो । आक्रमणबाट आतंकवादीको मुख्यालय ध्वस्त पारेको दावी भारतले गरे पनि पाकिस्तानले भने सो आक्रमणबाट जंगलका रुख बिरुवामा मात्र क्षति पुगेको बताउँदै आएको छ ।

सोही क्रममा पाकिस्तानले भारतीय एउटा वायु सेनालाई जमिनमा खसाल्नुका साथै त्यसका पाइलट अभिमन्यूलाई समेत नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै भारत पछि हटेको थियो । त्यसपछि पाकिस्तानले ती पाइलटलाई ससम्मान रिहा गरिदिएको थियो ।

सोही घटनादेखि पाकिस्तानले भारतीय विमानहरुका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस