
काठमाडौं । विशेषगरि तिहारमा फूलको माग धेरै हुने गर्छ । तिहारमा घर मन्दिर र कार्यालयहरु पूलले सजाउने भएकाले पनि तिहारमा फूलको माग धेरै हुने गरेको छ । त्यसमा पनि तिहारको मुख्य दिन भाईटीकामा दिदिबहिनिहरुले दाजु भाईहरुलाई सयपत्री फूलको माला लगाइदिने नेपाली प्रचलन रहि आएको छ । जसका कारण तिहारमा सयपत्री, मखमली, गोदावरी लगायत फूलको ठूलो माग हुने गर्छ । तर, यस वर्षको तिहारमा माग अनुसार पर्याप्त मात्रामा स्वदेशी फूलको व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुष्प व्यवसायीहरु रहेका छन् ।
कोरोना महामारीका कारण फूलका बिरुवा उत्पादनमा कमी भएकोले नजिकिँदै गरेको तिहारमा पर्याप्त मात्रामा स्वदेशी फूलको व्यवस्थापन गर्न सक्ने अवस्थामा आफूहरूसँग नभएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताउछन् । उनले भने, ‘सबैभन्दा बढी तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको माग हुने गरेको छ । यस वर्ष निषेधाज्ञा र लामो समयसम्म झरी परेकोले नयाँ बिरुवा उत्पादनमा कमी आएको छ । जसले गर्दा यस वर्षको तिहारमा फूलको मागलाई नेपाली उत्पादनले धान्न सक्ने अवस्था छैन ।’
उनले फूल उत्पादनमा कमी आउनुमा बजार अभाव र मजदुर समस्या पनि रहेको बताछन् । उनले भने, ‘फूल व्यवसायमा करिब ४० हजार परिवार संलग्न छन् । उनीहरूले उत्पादन गरेका फूल कोरोना महामारीका कारण सबैजसो खेर गयो । व्यवस्थित बजार नहुँदा व्यवसायीहरूले ठूलो घाटा बेहोर्नु प¥यो । व्यापार नभएपछि नयाँ बिरुवा उत्पादन गर्ने कुरा पनि भएन । जसको असर नजिकिँदै गरेको चाडपर्वमा देखिदैँछ ।’
कोरोना महामारीको बेला फूलको व्यापार २५ प्रतिशत मात्रै भएको उनले सुनाए । अध्यक्ष तामाङले भने, ‘करोनाका बेला हामी धेरै नै मार्कामा प¥यौँ । कोरोना महामारी भन्दा अघिका वर्षहरूमा वार्षिक ५ अर्ब बराबरको फूलको कारोबार हुन्थ्यो । तर, कोरोना महामारीका कारण गत वर्ष एक अर्ब ६५ करोडको मात्रै कारोबार भएको थियो ।’
उनका अनुसार गत वर्षको तिहारको पाँच दिनमा १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । तर, यस वर्षको तिहारमा १० करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान उनले गरेका छन् । जसमा सबैभन्दा बढी सयपत्रि फूलको कारोबार हुन्छ भने मखमली र गोदावरीको कारोबार केहि कम हुने गर्छ ।
साथै उनले हरेक वर्ष स्वदेशी उत्पादनले धान्न नसकेका कारण करोडौँ रुपैयाँ बराबरको फूल आयात हुने गरेको बताए । उनले यस वर्ष कम्तिमा साढे दुई लाख माला आयात हुने अनुमान गरिएको समेत जानकारी दिए । ‘गत वर्ष पनि करौडौँ मूल्य बराबरको फूल आयात भएको थियो । यस वर्ष नेपालमा उत्पादनमा कमी आएको कारण डेढ करोड रुपैयाँसम्मको फूलको माला आयात हुने देखिन्छ ।’ उनले भने, ‘सबैभन्दा बढी फूल भारतको कोलकत्ताबाट आयात गर्ने गरिएको छ ।’
यस वर्ष उत्पादनमा नै कमि भइरहेको बेला केहि दिन अघि आएको वर्षाले फूल खेतीमा धेरै नै क्षति भएको उनले गुनासो गरे । अध्यक्ष तामाङले भने, ‘बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेला भएका फूल धेरै नै नष्ट भएको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशमा क्षति भएको छ । जहाँ उत्पादित फूल ७० प्रतिशतसम्म वर्षाका कारण क्षति भएको छ । यससँगै मकवानपुर, धादिङ र चितवनमा पनि २० प्रतिशतसम्म क्षति भएको छ । अन्यमा केहि कम क्षति भएको हाम्रो तथ्यांक छ ।’
अध्यक्ष तामाङका अनुसार यस वर्षको तिहारका लागि साढे १८ लाख मालाको माग रहेको छ । जसमा करिब ३ लाख मखमली र गोदावरी रहेको छ भने अन्य बाँकी सबै सयपत्रिको माग रहेको छ । एक मिटर सयपत्री फूलको मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्छ । यस वर्ष फूलको मूल्य स्थिर रहन सक्ने पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस