
काठमाडौं । बाढीले ललितपूरका तीन गाउँपालिकामा सबैभन्दा बढी क्षती भएको छ । लगातार परेको बर्षाले बागमती गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका र महाङ्काल गाउँपालिकामा बढी क्षति पु¥याएको छ ।
ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात समेत ठप्प भएको छ ।
कोञ्ज्योसोम गाउँपालिकाको अवस्था अन्य क्षेत्र भन्दा एकदमै नाजुक बनेको छ । यहाँ बाढीकै कारण दुई जनाको मृत्यु भएको छ ।
तीन दिनदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको ललितपूर जिल्ला प्रशासन कार्यालयका प्रवक्ता खिमराज भूषालले जानकारी दिए ।
महाँकाल गाउँपालिकामा पानी र पहिरोका कारण तीन जनाको ज्यान गएको छ भने अन्य क्षेत्रमा पनि धेरै धन–क्षति भएकोको प्रवक्ता भुषालले बताए ।
उनका अनुसार गोदावरीमा १२ थान पाल, कम्बल, भाँडाकुँडा र म्याट वितरण गरिएको बताए । त्यसैगरी कोञ्ज्योसोममा ३० थान र महाँकाल र वाग्मतीमा २०–२० थान पाल, कम्बल, भाँडाकुँडा र म्याट वितरण गरेको जानकारी दिए ।
त्यसै गरी ललितपुर महानगरपालिका–२८ मा कर्मनाशा खोलाको पानीले पनि जनजीवनमा प्रभाव पारेको छ ।
यसैगरी ग्वार्को किष्ट अस्पताल नजिक पर्ने महानगरपालिका र महालक्ष्मी नगरपालिका जोड्ने पुलमा पानी बग्ने निरन्तरतामा बाधा पर्दा यहाँका ४ सय घर डुबानमा परी करीब एक हजारदेखि एक हजार २ सय मानिसको जीवन प्रभावित भएको जिल्ला प्रशासन कार्यालय ललितपूरले जानकारी दिए ।
अहिले तत्कालको लागि गोटीखेलको बाटो खुलाउनको लागि स्थानीय र अन्यको सहयोगमा बाटो खुलाउने काम जारी भइरहेको प्रवक्ता भूषालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस