काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमय गरेर १६ वटा मुद्दा दर्ता गरेको छ । विभागका अनुसार असोज महिनासम्ममा विभागले ७७ करोड ८९ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै राजस्व चुहावटतर्फ ६ वटा मुद्दा दर्ता गरेको हो ।
विदेशी विनिमयतर्फ ६४ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै १० वटा मुद्दा दर्ता गरेको विभागले जनाएको छ । केही मुद्दाहरु दर्ताको क्रममा रहेकाले मंसिर भित्रमा थप १०र१५ वटा मुद्दा दर्ता हुने विभागका एक कर्मचारीले जनाए ।
राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष २०७७र०७८ मा ५४ वटा मुद्दामा ३ सय १७ जना प्रतिवादीविरुद्ध १९ अर्ब ८१ करोड रुपैयाँ बराबरको बिगो कायम गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । साथै विदेशी विनिमयतर्फ विभागले ५४ वटा मुद्दामा १ सय १४ जनालाई प्रतिवाद्धी बनाउँदै ४ अर्ब ९४ करोड रुपैयाँको मागदावी गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७६र०७७ मा विभागले ९७ वटा मुद्दामा ३ सय २० प्रतिवादीविरुद्ध राजस्व छली गरेको आरोपमा १५ अर्ब १५ करोड रुपैयाँ बराबरको बिगो दावी गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो, जुन त्यस अघिल्लो वर्षको भन्दा केही धेरै हो । विभागले अघिल्लो आर्थिक वर्ष २०७५र०७६ मा ९३ वटा मुद्धामा ३ सय १ जनाविरुद्ध ९ अर्ब ८३ करोड रुपैयाँ बराबारको बिगो दावी गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।
आर्थिक वर्ष २०७४र०७५ मा भने वर्ष भरीमा राजस्व चुहावटका मात्र ८ वटा मुद्दा दर्ता भएका थिए । उक्त वर्ष ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको राजस्व चुहावट भएको भन्दै सो वाराबरको बिगो दाबी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस