aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एमालेभित्र नै ओलीलाई फेरि सर्वसम्मत अध्यक्ष बन्न अप्ठ्यारो पर्दै

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १२ कार्तिक २०७८
एमालेभित्र नै ओलीलाई फेरि सर्वसम्मत अध्यक्ष बन्न अप्ठ्यारो पर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा १०औं महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनअघि एमालेले वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गरेको छ । कतिपय ठाउँमा सर्वसम्मत त कतिपय ठाउँमा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ । केही ठाउँमा बाँकी रहेका अधिवेशन कात्तिक मसान्तभित्र सक्नुपर्ने निर्देशन पनि एमालेले दिइसकेको छ ।

१०औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरिसकेको एमाले अब क्रमशः जिल्ला, प्रदेशको अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारीमा छ । एमालेको महाधिवेशन १० देखि १३ मंसिरसम्म हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भइसकेको छ ।


बिहीबार बसेको स्थायी कमिटीको बैठकले वडा, पालिकास्तरको अधिवेशनको समीक्षाका साथै महाधिवेशन प्रतिनिधि चयनको मापदण्डबारे छलफल गरेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । शुक्रबार केन्द्रीय कमिटीको बैठक बस्दै छ । स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्न केन्द्रीय कमिटीको बैठक बस्नेछ । अन्तिम र एकअर्को केन्द्रीय कमिटीको बैठक महाधिवेशनको पूर्वसन्ध्यामा बस्नेछ ।

१०औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली नै देखिएका छन् । ओलीकै लागि प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गरिसकिएको छ । नवौं महाधिवेशनबाट पारित विधानअनुसार ७० वर्ष पुगेपछि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने थियो ।

तर, प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गर्दै आगामी फागुनमा ७० वर्ष पुग्न लागेका ओलीका लागि सहज बनाइएको छ । ७० वर्ष नपुग्दै कुनै नेता कुनै पनि पदमा निर्वाचित भएपछि बीचमै सक्रिय राजनीतिबाट बिदा नभई पूरा कार्यकाल जिम्मेवारी वहन गर्न पाउनेगरी भएको व्याख्या विशेषतः ओलीकै लागि हो ।

प्रतिक्रिया दिनुहोस