
लुम्बिनी । संसारकै विश्वासिलो ट्राभल गाइडबुक पब्लिसर्स कम्पनी ‘लोन्ली प्लानेट’ ले सन् २०२२ मा विश्वमै घुम्नुपर्ने मुलुकमा नेपाललाई समावेश गरेपछि लुम्बिनीका पर्यटन व्यवसायी उत्साहित छन् । कोरोना संक्रमणले थलिएको नेपाली पर्यटन उकास्न लोन्ली प्लानेटले प्रकाशन गरेको सूची प्रभावकारी हुने उनीहरूको भनाइ छ ।
चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले पर्यटकीय गन्तव्य र यात्राबारे जानकारी दिँदै सन् २०२२ मा घुम्नुपर्ने १० उत्कृष्ट मुलुकभित्रको सूचीमा नेपाललाई राखेको हो । २०४ पृष्ठको पुस्तकमा लोन्ली प्लानेटले घुम्नैपर्ने उत्कृष्ट १० मुलुकसँगै १० क्षेत्र र १० सहरको सूची पनि सार्वजनिक गरेको छ । उत्कृष्ट १० भित्र पहिलो नम्बरमा कुक आइल्यान्ड छ । नर्बे, मौरिसस र बेलिज क्रमशः दोस्रो, तेस्रो र चौथोमा छन् । पाँचौं, छैटौं र सातौंमा क्रमशः स्लोभेनिया, एङ्गुइला र ओमान छन् । नेपाल, मलावी र इजिप्ट क्रमशः आठौं, नवौं र दसौं उत्कृष्ट मुलुकको सूचीमा परेका छन् ।
‘विश्वका दुई सय मुलुकमध्ये उत्कृष्ट १० भित्र पर्नु नेपालका लागि गौरवको कुरा हो,’ लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले भने, ‘यसले कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई अवश्य पनि राहत दिनेछ ।’ लोन्ली प्लानेटको ट्राभल गाइडबुक धेरै भाषामा निस्कन्छ । ‘पर्यटकले आफ्नै भाषामा गाइडबुक पढ्न पाउँदा निकै उत्साहित हुन्छन्,’ पर्यटन व्यवसायी लीलामणि शर्माले भने, ‘यसले उनीहरूलाई घुम्न उत्प्रेरित गर्छ ।’ घुमन्तेका लागि ‘लोन्ली प्लानेट’ को ट्राभल गाइडबुक महत्त्वपूर्ण मानिन्छ ।
बुकमा नेपालका आकर्षण र महत्त्वपूर्ण पयर्टकीय स्थल, होटल, नक्सा र यातायातसम्बन्धी सूचना दिइएको छ । ‘संसार घुम्दै रमाउनेको ध्यान अब नेपालसँगै लुम्बिनीतिर आकर्षित हुनेछ,’ भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘त्यसअनुसार हामीले तयारी थालिहाल्नुपर्छ ।’ ‘लोन्ली प्लानेट’ ले यसअघि सन् २०१७ मा पनि नेपालका सगरमाथा, अन्नपूर्ण, लाङटाङ, हेलम्बु र मनास्लु क्षेत्र छनोटमा परेको थियो ।
प्रतिक्रिया दिनुहोस