
अधिकांश नेपालीहरूले दसैँ मानिरहेका बेला अचानक बेमौसमी वर्षा भयो। जसले भित्राउने बेला भइसकेको नेपाली किसानको मुख्य बाली धानको ठुलो हिस्सा नष्ट गर्यो। परिणामतः लाखौँ किसानहरू भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ। अनौठो संयोग नै मान्नुपर्छ 'हाम्रा कार्यहरू हाम्रो भविष्य हुन्- राम्रो उत्पादन, राम्रो पोषण, राम्रो वातावरण र राम्रो जीवन' भन्ने नारा सहित विश्व खाद्य दिवस २०७८ मनाएकै साता नेपाली किसानको जीवन कष्टपूर्ण बन्ने गरीको विपद् आइपर्यो।
यसरी धान बालीमा पुगेको क्षतिले नेपालको समग्र अर्थतन्त्रमा नै ठुलो नकारात्मक प्रभाव पार्ने देखिन्छ। नेपालको समग्र जीडीपी नै दुई प्रतिशत भन्दा बढीले सङ्कुचित पार्ने त्यो वर्षाले धान बालीमा पुर्याएको क्षति र नेपालका पूर्वाधारहरूमा हालैका बाढी र पहिरोले गरेको विनाशले कृषि उत्पादनमा आत्म निर्भर बन्ने नेपालको सपनामा खन्याएको 'चिसो पानी'बारे सचेत नेपालीहरूले गहिरो चिन्ता व्यक्त गरेको देखिन्छ। तर, यस्ता प्रतिकुलताले नयाँ अवसरको ढोका खोल्छ र त्यसको लागि एउटा अविच्छिन्न प्रणको आवश्यकता पर्छ भन्ने तथ्यलाई स्वीकार गर्ने हो भने हामीले पनि भिन्नै तरिकाले सोच्नु पर्छ। उत्तर कोरियाले गरेको प्रयास र हात परेको उपलब्धिबाट समेत धेरै सिक्न सकिन्छ।
हुन त उत्तर कोरियाको नाम आउने बित्तिकै हाम्रो मानसपटलमा दक्षिण कोरियासँगको तुलनामा एउटा गरिब, भोकमरीग्रस्त र लडाकु देशको तस्बिर अगाडी आउँछ। अझ त्यसमाथि निरन्तर रूपमा पश्चिमी सञ्चार माध्यममा उत्तर कोरिया सम्बन्धी नकारात्मक खबरहरू मात्र आउँछन्। त्यस्तै मध्येको एउटा खबर जो उत्तर कोरियाबारे सधैँ जोडिएर आउँछ त्यो हो, सन् १९९० को दशकको मध्यमा भएको भयङ्कर अनिकाल र भोकमरीका कारण उत्तर कोरियामा लाखौँ मान्छेहरूको मृत्यु भएको घटना। यो लेखमा उत्तर कोरियाले भोगेको त्यो कहालीलाग्दो समय र त्यसलाई उसले कसरी सामना गर्यो त्यसबारे केही प्रकाश पार्ने प्रयास गरिएको छ। जुन अहिलेको नेपालका लागि समेत अनुकरणीय हुनसक्छ।
सन् १९९० को दशकको सुरुवातसँगै भएका ३ वटा महत्त्वपूर्ण घटनाहरूले उत्तर कोरियामा बहुआयमिक सङ्कट ल्यायो। ती घटना मध्ये पहिलो थियो, सन् १९९१ मा भएको सोभियत सङ्घको विघटन। यसको प्रत्यक्ष प्रभाव उत्तर कोरियाली अर्थतन्त्रमा पर्न गयो। जसको कारण यो देशको ८० प्रतिशत वैदेशिक व्यापार ठप्प भयो। त्यो बेला पेट्रोलियम पदार्थको लागि उत्तर कोरिया पूर्ण रूपमा सोभियत सङ्घ माथि निर्भर थियो। पेट्रोलियम पदार्थको आयात पनि ७५ प्रतिशतले घट्यो। यसले यो देशलाई ठुलै आर्थिक सङ्कटमा परिरहेको थियो।
त्यसै बेला उत्तर कोरियामा संस्थापक नेता किम इल सुङ्ग को निधन १९९४ मा भयो। यो दोस्रो घटना थियो। उत्तर कोरियाका जनताले किम इल सुङ्ग बाहेक अरू कुनै नेता लाई देखेकै थिएनन्। ४८ वर्ष देखी यो देशका शासक थिए, उनी। उनलाई गुमाउनु कुनै परिवारले आफ्ना संरक्षक गुमाए सरहको मनोवैज्ञानिक क्षति थियो। यसको लगत्तै तेस्रो ठुलो विपत्ति उत्तर कोरियाले भोग्नु पर्यो। शताब्दीमै एक चोटि पर्ने ठुलो पानी उत्तर कोरियामा सन् १९९५ र १९९७ मा पर्यो। यो बर्सातको तीव्रता यस्तो थियो कि ७ घण्टाको बिचमा ८७७ मिलिमिटर पानी परेको थियो। जसका कारण त्यहाँ धेरै ठुलो बाढी आयो र र त्यसले व्यापक भौतिक र आर्थिक क्षति पुर्यायो। सबै भन्दा ठुलो क्षति चाहिँ खेतीयोग्य जमिन, जलविद्युत आयोजना, कोइला खानी, सिचाई र जमिनमुनि राखिएको खाद्यान्न भण्डारमा पुर्याएको थियो ।
नेपाल कै जस्तो व्यथा
नेपाल झैँ उत्तर कोरियाको ८० प्रतिशत जमिन पहाडी भूभागले बनेको छ। त्यहाँको २० प्रतिशत जमिन मात्र खेती योग्य छ। जसमा छ महिना मात्र खेती गर्न सकिन्छ। बाँकी ६ महिना चिसो र तुसारो परेर खेती गर्न सम्भव हुँदैन। जसको कारण त्यहाँ १ बाली मात्र लगाउन मिल्छ। तसर्थ उत्तर कोरिया खाद्यान्न उत्पादनमा आत्मनिर्भरता हासिल गर्नु साधारण अवस्थामा पनि सधैँ नै चुनौतीपूर्ण नै हुन्छ। अझ यस्तो विषम परिस्थितिमा त झनै गाह्रो हुने नै भयो। उत्तर कोरियामा खेती गर्नको लागि सिचाई बिधुतबाट सञ्चालित पम्पिंग प्रणालीमा आधारित थियो। यसको लागि निरन्तर बिधुतको प्रवाह चाहिन्छ। तर, बाढीले जलविद्युत उत्पादन केन्द्रहरुलाई बिगारिदिएको थियो। उर्जाको अभावमा सिचाई गर्ने पम्पहरू सचालन गर्न सम्भव भएन।
त्यस्तै, बाढीको कारण उत्तर कोरियाका प्राय सबै कोइला खानीहरूमा पानी भरिएका थिए। पेट्रोलियम पदार्थ र बिजुली बेगर यी खानीहरूबाट पानी तानेर नफालुन्जेलसम्म खानी सञ्चालन गर्न सकिँदैन थियो। कोइलाको उत्खनन बेगर कृषिको लागि आवश्यक लागि रासायनिक मल उत्पादन गर्न सकिँदैन थियो। जसका कारण बर्सौसम्म उत्तर कोरियाको सीमित खेतीयोग्य जमिनमा समेत कुनै कृषि उत्पादन हुन सकेन। यो समयलाई उत्तर कोरियनहरूले कठिन अभियान (Arduous March ) अभियानको रूपमा लिन गरेका छन्।
त्यो बेला अन्नको अभावमा मानिसहरूले घाँस र रुखका बोक्राहरू समेत खाए। यो क्रममा लाखौँ मानिसहरू मरे। विदेशबाट खाद्यान्न सहायता त आयो तर त्यसले उत्तर कोरियाले भोगेको समस्याको दीर्घकालीन समाधान हुन सक्दैन थियो। त्यसैले यो समस्या समाधान उत्तर कोरियाले आफ्नै तरिकाले गर्न थाल्यो। उत्तर कोरियाका नेता किम इल सुंगको एउटा प्रमुख सिद्धान्त छ 'जुछे', जसको अर्थ हुन्छ, आत्मनिर्भरता। जुछेको वास्तविक अर्थ हुन्छ आफ्नो समस्याको समाधान आफैले र आफ्नो संसाधनमा आधारित भएर गर्नु पर्छ कुनै विदेशी शक्तिमा निर्भर भएर होइन।
उत्तर कोरियाले फेरी आफ्नो कृषि व्यवस्थालाई सञ्चालन गर्नका लागी पहाडमा परेको पानीलाई कुलोहरू बनाएर बेसीमा रहेको खेतसम्म पुर्याउन गुरुत्वाकर्षणलाई प्रयोग गर्ने योजना बनायो। उनीहरूले पहाडमा पानी सञ्चय गर्ने जलाशयहरू बनाए र जसलाई कृषि योग्य जमिनसम्म पुर्याउन कुलो, सुरुङ र नहर जस्ता जलमार्गहरू बनाए। उत्तर कोरियासँग यी संरचना बनाउन चाहिने भारी मेसिनहरू ती क्षेत्रमा पुर्याउन र सञ्चालन गर्न इन्धन पनि थिएन। त्यसैले उत्तर कोरियाले ती सम्पूर्ण संरचनाहरू मानव श्रम शक्ति प्रयोग गरेर नै निर्माण गर्यो। हजारौँ मानिसहरू यो काममा लागे। यसरी त्यहाँ सरकारले सयौँ किलोमिटर लामो सिचाई प्रणाली निर्माण गर्यो। फलस्वरूप यो देश खाद्य आत्मनिर्भरताको नजिक पुग्यो। उत्तर कोरियालाई पहिलेको रूपमा फर्किन १५ वर्ष जति लागेको थियो।
सुरक्षा चिन्ताको बेग्लै भारी
यो आर्थिक र खाद्य सङ्कटको सँगसँगै उत्तर कोरियाले सुरक्षा सङ्कट पनि व्यहोरिरहेको थियो। जुन सङ्कटको भारी नेपालले बोक्नु परेको छैन। त्यसैले हामी उत्तर कोरिया भन्दा धेरै सहज अवस्थामा छौँ। उत्तर कोरियाको अमेरिकासँग सन् १९९४ मा भएको आणविक मामिला सम्बन्धी सहमतिले कुनै गति लिन सकेको थिएन। आफ्नो सुरक्षालाई भरपर्दो बनाउन तत्कालीन नेता किम जोङ्ग इलले सेनालाई पहिलो प्राथमिकता (सोङ्गगुन) दिने नीति अघि सारे। यस नीति अन्तर्गत सेना र रक्षा मामिलालाई पहिलो प्राथमिकता दिइयो। उत्तर कोरियाले क्षेप्यास्त्रको निर्माण र परीक्षण गर्ने कामलाई तीव्रता दियो।
सन् २००२ अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले उत्तर कोरिया, इरान र इराक लाई शैतानको धुरी (axis of evil ) भनेर नामकरण गरेका थिए। अझ सन् २००३ मा अमेरिकाले इराक माथि हमला गरेर सद्दाम हुसेनलाई अपदस्थ गर्दै हत्या गरेपछि उत्तर कोरिया आफ्नो सुरक्षा प्रति सतर्क हुनु स्वाभाविक नै थियो। यसै क्रममा यो देशले सन् २००६ मा पहिलो एटम बमको परीक्षण गर्यो।
अमेरिकी सरकारको धम्कि र नाकाबन्दीको बाबजुद पनि उत्तर कोरिया हतियार विकासको क्रममा तल्लीन रह्यो। सन् २०१७ सम्ममा ६ चोटि आणविक हतियारको परीक्षण गरिसकेको छ। जसमा सन् २०१७ मा परीक्षण गरिएको हाइड्रोजन बम समेत सामेल छ। त्यस्तै त्यही वर्ष उसले अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहाद्पीय ब्यालेसटिक क्षेप्यास्त्रको समेत सफलतापूर्वक परीक्षण गर्यो।
सन् २०१७ को डिसेम्बर ३१ मा उत्तर कोरियाली नेता किम जोङ्ग उनले उत्तर कोरियाले आणविक रक्षा क्षमता हासिल गरेको छ भनेर घोषणा गरे। उत्तर कोरियाले रक्षा क्षेत्रमा हासिल गरेको क्षमताको विश्लेषण गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए – मलाई लाग्छ किम जोङ्ग उनले यो पटक निश्चित रूपमा जितेका छन्। उनले आफ्नो रणनीतिक कार्य सम्पन्न गरेका छन्। किमसँग अब आणविक हतियार र १३,००० किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्र छ जुन विश्वको कुनै पनि ठाउँमा पुग्न सक्छ।
अमेरिकाले बढाएको मित्रताको हात
यो सामरिक क्षमता विकासको प्रभाव नाटकीय रूपमा उत्तर कोरियाको अमेरिका र चीन सँगको सम्बन्धमा देखिन थाल्यो। सन् २०१८ मा अमेरिकाले ट्रम्प-किम शिखर वार्ता हुने घोषणा गर्यो। यो घोषणाको प्रभाव उत्तर कोरियाको चीनसँगको सम्बन्धमा पनि पर्यो। किम जोङ्ग उन उत्तर कोरियाका नेता भए पछि ६ वर्षसम्म पनि चीनको भ्रमणमा गएका थिएनन्। जबकि उनका हजुरबुवा किम इल सुंग र बुवा किम जोङ्ग इल चीनको पटक पटक भ्रमणमा जान्थे। माओ त्से तुङ्ग पालामा चीन र उत्तर कोरियाको सम्बन्धलाई ओठ र दाँतको रूपमा हेरिन्थ्यो। कोरियाली युद्धको क्रममा चीनले नै उत्तर कोरियालाई आफ्ना लाखौँ सैनिकको बलमा अमेरिकी आधिपत्य बाट बचाएको थियो। यस क्रममा लाखौँ चिनिया सैनिकको मृत्यु भएको थियो। जसमध्ये माओ त्से तुङ्गका जेठा छोरा माओ अनाइंग पनि थिए।
तर, किम जोङ्ग उनको पालामा चीनसँगको सम्बन्ध धेरै हदसम्म चिसिएको थियो। चीन उत्तर कोरियाको लगातारको मिसाइल र आणविक परीक्षणबाट आजित हुन थालिसकेको थियो। र, अमेरिकाले उत्तर कोरिया विरुद्ध नाकाबन्दी लगाउन राष्ट्र सङ्घमा ल्याउने प्रस्तावलाई समर्थन दिन थालेको थियो। चीनका सञ्चार माध्यममा उत्तर कोरिया र किमलाई आलोचना गरेका खबर छापिन थालेका थिए। त्यस्तै उत्तर कोरियामा पनि चीन विरुद्ध असन्तुष्टिपूर्ण खबरहरू छापिन थालेका थिए।
तर, उत्तर कोरियाले चीनलाई बेवास्ता गर्दै अमेरिकासँग सम्बन्ध बढाउनु चीनका लागि पनि लाजमर्दो अवस्था हुन्थ्यो। तसर्थ, चीनले किम जोङ्ग उनलाई ट्रम्पसँगको शिखर वार्ता अघि आफ्नो देश आउन निम्तायो। त्यसयता किम र सी जिन्पिंग बिच ५ चोटि भेटघाट भैसकेको छ। चीनले नै किम जोङ्ग उन र अमेरिकी राष्ट्रपति ट्रम्प बिच सिंगापुरमा हुने शिखर वार्ताको लागि आफ्ना प्रधानमन्त्रीले चढ्ने जेट समेत उपलब्ध गराएको थियो।
किम जोङ्ग उन र ट्रम्प बिच सिंगापुरमा सन् २०१८ जुन १२ का दिन शिखर वार्ता भयो। यो वार्ता उत्तर कोरियाको लागि यस कारण महत्त्वपूर्ण थियो कि कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिसँग कोरियाका नेताको यो पहिलो भेट थियो। उत्तर कोरियाली नेताहरूले विगत लामो समयदेखि अमेरिकी राष्ट्रपतिसँग सिधा वार्ता गर्ने चाहना राखेका थिए। तर, यस प्रकारको शिखर वार्ता गर्न न त किम जोङ्ग उनका बुवा किम जोङ्ग इल न उनका हजुरबुवा नै सफल भएका थिए।
सिंगापुर शिखर वार्तापछि फेरी सन् २०१९ फेब्रुअरी २७-२८ मा भियतनामको राजधानी हनोईमा अर्को ट्रम्प-किम भेटघाट भयो। तर, यो पूर्ण रूपमा असफल भयो। त्यही वर्ष फेरी जुन ३० मा यी दुई बिच कोरियाली सिमानामा भेटघाट भयो। यो क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियामा पाइला टेक्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बने। भलै यसको सांकेतिक महत्त्व मात्र छ। यी विभिन्न रक्षा सम्बन्धी उपलब्धि र शिखर वार्ताका बाबजुद पनि उत्तर कोरिया आर्थिक रूपमा बलियो हुन सङ्घर्षरत छ। उसमाथि अमेरिकाले संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रस्ताव मार्फत लागु गरेका नाकाबन्दीको थुप्रो छ। उसले आयात गर्ने इन्धनमा ९० प्रतिसतसम्म रोक लगाएको छ र उसको प्रमुख निर्यात कोइलामाथि ९० प्रतिसतसम्म प्रतिबन्ध लगाइएको छ। तर, यसको बाबजुद पनि उत्तर कोरिया दृढताका साथ उभिएको छ।
कोरोना विरुद्धको महँगो सङ्घर्ष
नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन आए पछि उत्तर कोरिया अमेरिकाको प्राथमिकतामा पर्न छोडेको छ। बाइडेन प्रशासनले उत्तर कोरियाबारे कूटनीति सँगै कठोर निवारक नीति लिने बताएको छ। यो ओबामा सरकारको रणनीतिक धैर्यता नीतिलाई पछ्याउने सङ्केत हो। एकातर्फ अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घ मार्फत लागु गरिएका नाकाबन्दीले उत्तर कोरियाको आर्थिक अवस्था सकसपूर्ण बन्दै गइरहेको छ भने अर्को तर्फ त्यसपछि लगत्तै कोभिड १९ महामारीले यसमा झन् समस्या थपेको छ।
उत्तर कोरियाले रोकथाम नै उपचार भन्दा उत्तम हुन्छ भन्ने जनस्वास्थ्यको नीति अनुरूप आफ्नो देश भित्र कोरोना भाइरसलाई भित्र छिर्नै नदिन आफूलाई विश्वबाट पूर्ण रूपमा अलग राख्यो। आफ्नो अधिकांश व्यापार हुने चीनसँगको सम्पर्क पनि उत्तर कोरियाले विच्छेद गर्यो। जसका कारण चीनसँगको उत्तर कोरियाको व्यापार धेरै घटेर गयो। उत्तर कोरियाको लागि पेट्रोलियम पदार्थ, रासायनिक मल र अपुग खाद्यान्न जोहो गर्ने एक मात्र बाटो चीन नै थियो। त्यस्तै, उसले चीनतर्फ गर्ने कच्चा पदार्थ र केही उपभोग्य बस्तुको निर्यात पनि ठप्प भयो। सन् २०२० मा चीनबाट हुने आयात ८१ प्रतिसतसम्म घट्यो। उत्तर कोरियाले कति कठोरतापूर्वक आफूलाई विदेशसँग अलगथलग गरेको थियो भन्ने कुराको उदाहरणको रूपमा एउटा घटनालाई लिन सकिन्छ।
उत्तर कोरियाका लागि रुसको दूतावासका कर्मचारीहरू आफ्नो देश फर्किदा कुनै सवारी साधन नचलेको हुनाले रेलको ट्रलीलाई हातले ठेल्दै आफ्नो देश प्रवेश गरेका थिए। यस्ता कठोर कदमका कारण उत्तर कोरियामा कोभिड -१९ महामारी फैलिन पाएन। अहिलेसम्म उत्तर कोरियाले आफ्नो देशमा एउटा पनि कोभिड सङ्क्रमित नभेटिएको र एक जनाको पनि मृत्यु नभएको दाबी गरिरहेको छ। तर, महामारी नियन्त्रण गर्नमा यो देशले पाएको सफलताको चर्को मूल्य पनि उसले चुकाउनु पर्यो।
फेरी खाद्य सङ्कट कै कुरा
आधुनिक कृषि प्रणाली संसार भरिनै पेट्रोलियम पदार्थ माथि निर्भर छ। उत्तर कोरिया यसको अपवाद होइन। पेट्रोलियम पदार्थको अभावमा कृषिमा रोपाइँ देखी रासायनिक मल खाद हाल्ने, बाली काट्ने अनि उत्पादनलाई बजारसम्म पुर्याउने काममा अवरोध पुग्छ। अहिले त्यहाँ त्यही भइरहेको छ। यसैबिच गत वर्ष उत्तर कोरियामा आएको चक्रवातका कारण आएको बाढीले कृषि क्षेत्रमा झन् ठुलो क्षति पुर्यायो। जसले गर्दा यो वर्ष खाद्यान्नको अभाव हुन सक्ने कुरा उत्तर कोरियाका नेता किम जोङ्ग उनले स्वीकार गरेका छन्। साथै उनले देशको आर्थिक योजना पनि विफल भएको भनेर स्वीकार गरेका छन्।
यो कठोर परिस्थितिका कारण उत्तर कोरियाली नेता किम जोङ्ग उनले आफ्नो सरकारलाई फेरी अर्को कठिन अभियान (Arduous March) चलाउन आग्रह गरेका छन्। यसै बिच अहिले पश्चिमी सञ्चार माध्यमले हाल उत्तर कोरियामा खाद्य सङ्कट फेरी सुरु भएको र त्यहाँका नेता किम जोङ्ग उनले जनतालाई २०२५ सम्म कम खाना खान सुझाव दिएको खबर प्रसारित गरिरहेका छन्। हुन त उत्तर कोरियाबारे पश्चिमी सञ्चार माध्यमका अधिकांश खबरहरू नकारात्मक र भ्रम फैलाउने हुने गर्छन्। प्राय जसो ती खबरहरू भरपर्दा र विश्वास योग्य पनि हुँदैनन् । पश्चिमी सञ्चार माध्यमका विपरीत उत्तर कोरियाबारे केन्द्रित समाचार एजेन्सीहरूका अनुसार त्यहाँ अघिल्ला महिनाको तुलनामा खाद्यान्नको भाउ घटेको बताइरहेका छन्। त्यस्तै चीनबाट हुने आयात पनि बिस्तारै बढ्न थालेको तथ्याङ्क प्रस्तुत गरेका छन्।
त्यसैले उत्तर कोरियाको यो आत्मनिर्भरताको कथा नेपालको लागि पनि उपयोगी हुन सक्छ। हामी आयात धान्न नसक्ने अवस्थामा पुगेका छौँ। व्यापार घाटा यति बढेको छ कि हाम्रो शोधानान्तर अवस्था कमजोर बनिसकेको छ। हाम्रो खाद्य उत्पादनले पुग्न छाडेको बर्सौँ भइसक्यो। हामीसँग रहेका अन्य विकल्पहरू सकिँदै छन्। त्यसैले हामीले पनि उत्तर कोरिया झैँ आत्मनिर्भरताको 'जुछे' अभियान पो थाल्ने हो कि ?
प्रतिक्रिया दिनुहोस