काठमाडौं । नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू)सञ्चालनको तयारी पनि गरेको छ ।
विगत आठ वर्षको अवधिमा २० देशका ७६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको तालिम पूरा गरेका छन् । नेपाली सेनाले काभ्रेको पाँचखालमा यूएन शान्ति कार्य, बाराको अमलेखगञ्जमा जङ्गल वारफेयर (युद्धकला), मुस्ताङमा माउण्टेन वारफेयर, काठमाडौँको शिवपुरीमा कमाण्ड तथा स्टाफ कलेज र भक्तपुरको खरिपाटीमा अधिकृत क्याडेट तालिम सञ्चालन गर्दै आएको छ ।
तीमध्ये प्यारा जम्प, रेञ्जर (कमाण्डो), विपद् व्यवस्थापन तथा प्रतिआतङ्कवादसँग सम्बन्धित् सैनिक अभ्यसमा चीन, भारत र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डसँग संयुक्त रूपमा सञ्चालन हँदै आएको छ ।
सैनिक तालिम, प्रशिक्षण र अभ्यासप्रति विभिन्न राष्ट्रका सेनाको सहभागिता प्रत्येक वर्ष बढ्दै गएको सेनाले जनाएको छ । नेपाली सेनाले २०६७ सालबाट विभिन्न सैनिक तालिम केन्द्र तथा प्रतिष्ठानमा सञ्चालित प्रशिक्षणमा विदेशी सेनालाई सहभागी गराउने निर्णय गरेको थियो । कबष्लष्प
यो निर्णयसँगै विदेशी सेनाका लागि नेपालको भू–बनोट, हावापानी र प्रशिक्षण आकर्षक तथा प्रभावकारी बन्दै गएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, कमाण्ड तथा स्टाफ कलेजबाट ७९, सैनिक तालिम प्रतिष्ठान खरिपाटीबाट २४, माउण्टेन वारफेयरबाट २७७, जङ्गल वारफेयरमा ६२, प्यारा २१ र शान्तिकार्य तालिम केन्द्र पाँचखालबाट २९० जना विदेशी सैनिकले प्रशिक्षण लिइसकेका छन् ।
राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिलगायत विश्वको बदलिँदो परिस्थति र अवस्थाको विषयमा उच्च अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न सेनाले प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको तयारी गरेको हो । गोरखापत्र दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस