
काठमाडौं । जलवायु परिवर्तनका कारण उत्पन्न भएको चुनौतीलाई कम गर्न विश्वभरका नेताहरू स्कटल्यान्डको ग्लास्गोमा भेला भए । तर, विडम्बना सो सम्मेलनमा सहभागी बन्न गएकाहरूले चार सय भन्दा बढी त प्राइभेट जेट विमान नै उडाएका छन् । जसले गर्दा एकै पटक ठुलो मात्रामा कार्बन उत्सर्जन भएको छ ।
रोचक त यो छ की सो सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति ग्लास्गो गएनन् । उनले भर्चुअल माध्यमबाट नै त्यसमा सहभागिता जनाए । जसको आलोचना समेत भयो । तर, कम्तीमा यो चाहिँ राष्ट्रपति सी ले सही गरे की जलवायु परिवर्तनको सम्मेलनमा सहभागी बन्दा उनले थप पर्यावरणीय क्षति भने पुराएनन् ।
कोप २६ नाम दिएको संयुक्त राष्ट्र संघिय जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिने क्रममा कम भन्दा कम जीव हत्या हुने गरी कम मासु, कम गाडी कुदाउने र कम जहाज उडाउने गरिएको भए अवश्य पनि त्यसको नयाँ सन्देश जान्थ्यो । तर, त्यसो गर्न विश्वभरिका नेता तथा व्यापारीहरूले आवश्यक ठानेनन् ।
पर्यावरणीय संरक्षक अभियन्ता ग्रेटा थनवर्कले भनेझैँ वास्तवमै ठुलो धोका भएको छ । उनले विश्व नेताहरूलाई धोकेवाज त्यसै भनेकी होइनन् । किनकि उनीहरू वास्तवमै जलवायु परिवर्तनले पुर्याउने असरबारे चिन्तित छैनन ।
यो सम्मेलनका क्रममा भएको उडानहरूबारे चर्चित बेलायती पत्रिका डेल्ली मेलले एउटा रिपोर्ट नै तयार गरेको छ । जसमा भनिएको छ–यो क्रममा एउटा ठुलो ट्राफिक जाम नै भयो । पाहुनाहरूलाई छोडेका विमानहरू पार्किङ गर्न ३० माइल टाढा जानु परेको थियो ।
आइतबार मेल अनलाइनले यसबारे नजिकबाट नियाल्दै एउटा रिपोर्ट तयार गरेको थियो । जस अनुसार सो दिन मात्र ५२ वटा प्राइभेट जेटहरू ग्लास्गोमा अवतरण गरेका थिए । पर्यावरण संरक्षविद्हरुका अनुसार यो बेला ग्लोस्गो पुगेका प्राइभेट जेट विमानले मात्रै १३ हजार टन कार्बनडाइअक्साइड उत्सर्जन गरेका छन् । जुन त्यहाँका १६ सय जना बासिन्दाहरुले एक वर्षमा गर्ने उत्सर्जन भन्दा बढी हो ।
कोप २६ सम्मेलनमा भाग लिन वेल्सका प्रिन्स चाल्स पनि प्राइभेट विमान नै गए । तर रमाइलो कुरा यो छ की उनले रोममा भएको जी २० राष्ट्रहरूको सम्मेलनलाई सम्बोधन गर्दै पर्यावरणीय संरक्षणका लागि सचेत बन्नुपर्ने कुरा गरे । उता बेलायतका प्रधानमन्त्री बोरिस् जोनसोन रोमबाट ग्लोस्गो समेत प्राइभेट विमानमा नै पुगे । जहाँ उनी अवतरणका लागि २० मिनेट आकासम्मै घुम्नु परेको थियो । उनीभन्दा अगाडी रहेको दक्षिण कोरियाका प्रधानमन्त्री समेत प्राइभेट विमानमा नै थिए ।
समग्रमा हाम्रा प्रधानमन्त्री शेर बहादुर देउवाले समेत अत्यन्तै महत्त्व दिँदै आफ्नो पछिल्लो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा सहभागिता जनाएको यो सम्मेलनले यो सताब्दिको अन्त्यसम्ममा बढ्ने अनुमान गरिएको विश्वको तापक्रम नियन्त्रण गर्ने महत्त्वपूर्ण प्रतिबद्धता त व्यक्त गरेको छ तर, त्यो विश्वासनिय भने छैन ।
त्यसलाई किन विश्वसनीय नमानिएको हो भने अहिले विश्व नेताहरूले देखाएको हर्कत र गतिविधि हेर्दा हाम्रो गाउँघरमा देखिने जड्याहको उपदेश भन्दा फरक देखिँदैन । जहाँ उ रक्सीले मातेर खुट्टा लरबराउँदै भन्छ– जाँड रक्सी खानु खराब हो । यसले स्वास्थ्य बिगार्छ । धनको नास गर्छ ।
प्रतिक्रिया दिनुहोस