
काठमाडौं । राजश्व चुहावट रोक्न भन्दै सरकारले बुधबारदेखि भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम शुरु गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सिस्टमको उद्घाटन गरे ।
उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहे पनि उनी उपस्थित भएनन् । विशेष कार्यव्यस्ताका कारण देखाउदै उपस्थित नभए पनि प्रधानमन्त्रीले लिखित मन्तव्य पठाएका थिए । प्रधानमन्त्रीको लिखित मन्तव्य राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले पढेर सुनाए ।
भेहिकल ट्र्याकिङ सिस्टमले सरकार र निजी क्षेत्र दुबैका लागि अतिउत्तम हुने प्रधानमन्त्रीले बताए । यसले कारोबारलाई थप पारदर्शी बनाउने उनले बताए ।
नयाँ आर्थिक वर्षको सुरुआतसँगै राजश्व अनुसन्धान विभागले सुरु गर्न लागेको भेहिकल ट्रयाकिङ सिस्टम तत्काल लागू नगर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आग्रह गरेको छ । ट्रयाकिङ सिस्टम लागू हुने पूर्वसन्ध्यामा प्रेस वक्तव्य जारी गर्दै महासंघले साउन १ गतेदेखि नै अनिवार्य रुपमा लागू नगर्न आग्रह गरेको हो ।
देशभित्र मालवस्तुको आन्तरिक ओसारपसारको निगरानी अब अनलाइन प्रणालीबाट गर्ने गरी राजश्व अनुसनधान विभागले उक्त सिस्टम साउन १ देखि लागू गर्ने घोषणा गरिसकेको छ । व्यवसायीहरु यतिबेला धेरैतिबाट समस्यामा परेको बेला पुनः अर्को नीति ल्याएर अपठेरोमा पार्न नहुने मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस