aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

श्रीमती हत्या गराउने रमेश नेपाली सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
श्रीमती हत्या गराउने रमेश नेपाली सार्वजनिक

पाेखरा । पोखराका रमेश नेपालीले आफ्नै श्रीमती लक्ष्मी नेपालीलाई जंगलमा लगेर भारतबाट ल्याएका 'कन्ट्रयाक्ट किलर' मार्फत हत्या गरेकाे थियाे । 

बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले अभियुक्त भनिएका रमेश नेपाली र उनका सहयोगीहरुलाई सार्वजनिक गरेको छ । आफ्नो श्रीमती हत्या गर्ने योजना बिगत एक बर्ष देखी भएको र मामाकी छोरी संगको सम्बन्धका कारण श्रीमती मार्ने योजना बनाएको प्रहरीसामु उनले बताएका थिए । 

मोबाईल पसल गर्दै आएका उनी एक महिलाको हत्या गर्नुछ भन्दै  साथीहरुसंग सहल्लाह गरेर भारतबाट मार्ने मान्छे बोलाएर मारेको प्रहरीले सार्वजनिक गरेको छ । 

यता लक्ष्मी नेपालीको पक्ष र मामाकी छोरी भनिएकी अनु नेपालीका  पक्ष बिच प्रहरी कार्यालयमै हात हालाहालको अवस्था समेत आएको थियो । 

प्रहरीका अनुसार असार १ गते श्रीमती लक्ष्मी नेपालीलाई रमेशले औषधि गर्न जाउँ भनी पोखरा महानगर २२ पुम्दिभुम्दि स्थित ठूलढुंगाको जंगलमा लगेका थिए। त्यसअघि नै रमेशले हत्या गर्ने योजना बुनिसकेका थिए। 

रमेशले श्रीमतीलाई औषधि गर्न एकान्त जंगलमा लगेसँगै उनका सहयोगी आएर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रमेशले हत्या स्वीकारेका छन्।

हत्या गर्ने योजनाअनुरुप नै रमेशले दुई भारतीय नागरिक (किलर) लाई पैसा दिनेगरी जिम्मा लगाएका थिए। ती भारतीय नागरिक भने फरार छन्। उनीहरुलाई ९ लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको प्रहरीको भनाई छ।

ती भारतीय नागरिकलाई रमेशले ५ लाख दिइसकेका छन् भने ४ लाख दिन बाँकी देखिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

‘श्रीमती हत्याको योजना १ वर्ष अगाडिबाटै भएको देखिन्छ’ अनुसन्धानमा खटेका उपरीक्षक कार्कीले भने। रमेशको आफ्नै साली अनु परियारसँग राम्रो सम्वन्ध रहेको र दुवैको निर्णयमा श्रीमतीलाई पन्छाउने उद्देश्यले हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ।

त्यस्तै ४ महिना अघि लक्ष्मीको युनियन लाइफ इन्सुरेन्समा १ करोडको बीमा भएको कार्कीले बताए। सालीसँगको प्रेमका लागि यो घटना घटाएको हो वा बीमाको पैसाका लागि हो भन्ने छानबिन भइरहेको छ’ कार्कीले भने ‘यद्यपी रमेशको सालीसँग सुमधुर सम्वन्ध रहेको देखिन्छ।’

प्रहरीले साली अनुसहित हत्यामा सहयोगी भूमिका खेलेका अन्य दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर घर भइ पोखरा महेन्द्रपुलमा बस्ने ३२ वर्षीय संजय शर्मा, सर्लाही घर भइ पोखरा ८ पृथ्वीचोकमा बस्ने २६ वर्षिया चित रञ्जन कुमार शाह छन्। 

सिद्धार्थ राजमार्गदेखि ५ सय मिटर दुरी तल शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। २४ दिन पछि शव भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस