
काठमाडौं । नेपालले भारतीय बजारमा विद्युत् बेच्न अनुमति पाएको छ । कोइला अभावमा चरम ऊर्जा संकट भोगिरहेको भारतले इन्डियन इनर्जी एक्सचेन्ज बजारमा प्रतिस्पर्धामार्फत बिजुली बेच्न नेपाललाई अनुमति दिएको हो । भारत सरकारले सोमबार यस्तो अनुमति दिएकामा नेपालले मंगलबार पहिलोपटक प्रतिस्पर्धामा भाग लिएको थियो ।
प्रत्येक दिन बोलकबोलका आधारमा मूल्य निर्धारण हुने एक्सचेन्ज बजारमा नेपालले बुधबार बेच्ने बिजुलीका लागि प्रतियुनिट औसत ४ रुपैयाँ ३३ पैसा (२.७१ भारु) कबोलेको प्राधिकरणले जनाएको छ । यसअघि नेपालबाट भारतमा साटासाट अर्थात् पैंचोको अवधारणामा मात्रै विद्युत् जाने गरेको थियो । बर्खायाममा बढी भएको विद्युत् भारतलाई दिएर नेपालले हिउँदमा फिर्ता लिने गरेको थियो । एकतर्फी रूपमा भारतले विद्युत् बेच्ने अवस्थाको समेत अब अन्त्य भएको छ । इन्डियन इनर्जी एक्सचेन्जमा भाग लिने नेपाल पहिलो मुलुकसमेत बनेको छ ।
अब विद्युत् खरिदबिक्रीका लागि एक दिनअघि प्रतिस्पर्धा गर्ने गरी (डे अहेड मार्केट) नेपालले भारतलाई विद्युत् बेच्नेछ । इन्डियन इनर्जी एक्सचेन्ज बजारमा विद्युत् बेच्न नेपालले अब हरेक दिन बिहान १० देखि १२ बजेसम्म चल्ने बोलकबोल प्रक्रियामा भाग लिनुपर्नेछ । डे अहेड मार्केटमा विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रतियुनिट बिक्रीदर तय हुन्छ ।
एक दिनको बोलकबोलबाट प्रतिस्पर्धी दर तय भएपछि अघिल्लो दिन रातको १२ बजेदेखि अर्को दिनको राति १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् बेच्न सकिन्छ । भारतले एक दिनमा हरेक १५ मिनेटको एउटा ब्लक बनाएर दैनिक ९६ वटा ब्लकमा विद्युत् किनबेच गर्ने गरेको छ ।
यसमा नेपालले बुधबारका लागि न्यूनतम १।६० भारुदेखि अधिकतम ४।६८ भारु राखेर विद्युत् बेच्न लागेको हो । विद्युत् व्यापारका लागि स्वीकृति पाएसँगै नेपालले मंगलबार रातिबाट ३९ मेगावाट विद्युत् भारत पठाउनेछ । २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारतलाई बिक्री गर्न लागिएको प्राधिकरणले जनाएको छ । यी दुवै भारतीय लगानीका आयोजना हुन् । अरू आयोजनाबाट पनि विद्युत् बेच्न नेपालले सहमति मागेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । तर यी दुई आयोजनाबाट उत्पादित विद्युत् मात्रै किन्न भारतले स्वीकृति दिएको हो ।
प्रतिक्रिया दिनुहोस