
अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभाव भएसँगै नेपालमा निर्माण सामग्रीमा प्रयोग हुने सिमेन्ट, छड तथा इँटामा ठुलो प्रभाव पर्न थालेको छ । कोइलाको अभावको कारण देखाउँदै केही सिमेन्ट उद्योगहरूले मूल्य बढाउन थालेका छन् । यसरी नै कोइलाको अभाव बढ्दै जाने हो भने सिमेन्टको मूल्यमा ठूलै वृद्धि हुने जगदम्बा सिमेन्टका बिक्री शाखाका महाप्रबन्धक रोशनकुमार पाठक बताउँछन् । कोइलाको अभाव र अस्वस्थ प्रतिस्पर्धाले नेपालका सिमेन्ट उद्योगलाई कस्तो असर गर्छ भन्ने विषयमा पाठकसँग आर्थिक न्युज डटकमले गरेको कुराकानीको सम्पादित अंश:
अहिले जगदम्बा सिमेन्ट उद्योगको अवस्था कस्तो छ ?
महाभूकम्प पछि सामान्यरुपमा तङ्ग्रिँदै गरेको सिमेन्ट उद्योगमा अहिले भने केही अप्ठ्यारो परिस्थिति छ । भूकम्प लगतै सबैले आफ्नो आवास बलियोसँग बनाउनु पर्छ भन्ने अनुभूति भयो । सरकारले पनि ठूला ठूला परियोजना निर्माणका लागि घोषणा पनि गर्यो । र, सरकारको अनुदानमा विभिन्न आवास क्षेत्रहरू बने । गत दुई वर्षदेखि त्यो गति समात्न खोजिरहेको सिमेन्ट उद्योग फेरि सङ्कटमा परेको छ । कोरोना पछि त आवास भन्दा पनि कसरी बाँच्ने भन्ने सबैको ध्यान त्यतातिर केन्द्रित भयो ।
जगदम्बा सिमेन्ट आफैले यो सङ्कटको व्यवस्थापन कसरी गरिरहेको छ ?
महामारी सुरु भए लगतै सरकारले सम्पूर्ण क्षेत्र बन्द गर्यो । सो बेला हामीले पनि हाम्रा सबै उत्पादनहरू बन्द गर्यौँ । बिस्तारै महामारी रोकथामको बन्दाबन्दी सहज हुँदै गएपछि हामीले पनि हाम्रा कर्मचारीहरूलाई थोरै थोरै गरेर बोलाउन थाल्यौँ । हाम्रा कर्मचारीहरूलाई हामीले सात बारमा विभाजन गरेर कोहीलाई आइतबार त कोहीलाई सोमबार यसरी बार पिच्छे फरक फरक कर्मचारीलाई काममा बोलायौँ । सरकारले सार्वजनिक गरेको महामारीको आचारसंहितालाई पालना गर्दै एकै पटक धेरै जना कर्मचारी भेला हुने अवस्था सिर्जना नगरिकिन हाम्रो उद्योगको कामहरू सुचारु गर्यौँ ।
र, महामारीको सङ्कट अझै नसकिएको हुनाले अहिले पनि कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरू कम्पनीले नै उपलब्ध गराइरहेको छ । यो बिचमा धेरै कर्मचारीहरूलाई कोरोना भयो । तर, त्यसको व्यवस्थापन कार्यालयले नै गरिदिएको हुनाले थप समस्याका कोही पनि कर्मचारीहरू परेनन् । कर्मचारी व्यवस्थापनमा कम्पनीले गरेको कामबाट सबै जना खुसी छन् । कम्पनीकै पहलमा सबै कर्मचारीहरूले समयमा नै खोप लगाउन पाए ।
आन्तरिक बजारको माग भन्दा सप्लाइ बढी हुने गरी सिमेन्ट उद्योगहरू खुल्दै गएका छन् । यसले बजारमा कस्तो प्रभाव पारिरहेको छ ?
उद्योगहरू जति धेरै भए त्यति नै खरो प्रतिस्पर्धा हुनु स्वाभाविक हो । चाहे त्यो स्वदेशी लगानीको उद्योग होस् चाहे विदेशी लगानीको नै होस् । नेपाल सरकारले पनि पक्कै सोचेको होला स्वदेशी लगानीका उद्योगलाई कसरी संरक्षण गर्ने र विदेशी लगानीका उद्योगहरूलाई कसरी व्यवस्थापन गर्ने । विदेशी लगानीका उद्योगलाई मात्रै लगानी गर्न दिने हो भने स्वदेशी लगानीका उद्योगहरूको लगानी के गर्ने यसतर्फ पनि सरकारले सोच्नु पर्ने हुन्छ ।
स्वदेशी उद्योगहरूको लगानी पनि सुरक्षित हुने र विदेशी लगानी ल्याएर देशमा औद्योगिक क्षेत्रको विकास हुने गरी राज्यले नीति ल्याउनु पर्याे । अहिले पनि केही विदेशी लगानीका ठूला सिमेन्ट उद्योगहरू आउने तरखरमा छन् । अहिले भइरहेका उद्योगहरू नै नेपालको बजारमा बढी भइसकेको देख्दा देख्दै थप विदेशी उद्योग खोल्न दिनु कतिको जायज होला यो नीति निर्माण गर्ने मानिसहरूले सोच्ने विषय हो ।
अहिले बजारको अवस्था कस्तो हो त ?
अहिले सिमेन्ट उद्योगमा डिमान्ड र सप्लाईको मेल नभएको अवस्था हो । सप्लाई धेरै भएका कारण सिमेन्ट उद्योगहरूको उत्पादन बिक्री नभइरहेको अवस्था छ । बजारको यस्तो अस्वस्थ प्रतिस्पर्धाले कुनै पनि उद्योगलाई फाइदा भने पुगेको छैन । नेपालमा ठूल्ठूला परियोजनाहरूको निर्माण नभएका कारण सिमेन्टको माग नै छैन । ठुलो माग नै नभएपछि उद्योगहरूले उत्पादन गरेको सिमेन्ट घाटामै भए पनि बेच्नु पर्ने बाध्यता छ ।
देशमा ठूला ठूला परियोजनाहरू धमाधम निर्माण हुन थाले भने मात्रै नेपालको सिमेन्ट उद्योगको स्थायित्व हुन्छ । नभए अस्वस्थ प्रतिस्पर्धाका कारण सिमेन्ट उद्योगहरू नै आफै सङ्कटमा पर्न सक्ने अवस्था हुन्छ । यस्तो स्थिति लामो समयसम्म रहिरह्यो भने स्वदेशी तथा विदेशी उद्योगीको ठुलो लगानी जोखिममा पनि पर्न सक्छ । त्यसतर्फ राज्यले बेलैमा सोच्नु पर्ने हुन्छ ।
यसको विकल्प के त ?
पहिलो कुरा त आन्तरिक खपत बढाउनलाई सरकारी नीति हुनु पर्यो । अहिले उत्पादन गरिरहेका सिमेन्ट उद्योगहरूको उत्पादन निजी घरहरू निर्माणकर्ताहरुले मात्रै प्रयोग गरिरहेका छन् । यति धेरै उद्योगहरूको उत्पादन निजी आवासहरूको निर्माणमा मात्रै प्रयोग गरेर पुग्दैन । त्यसैले ठूला ठूला परियोजना नबनिकिन सिमेन्टको खपत बढाउन सकिँदैन । सिमेन्ट प्रयोगका क्षेत्रहरू विस्तार हुन जरुरी छ ।
नेपाल जस्तो भौगोलिक बनोट भएको क्षेत्रमा सडक निर्माण गर्दा ढलानको प्रयोग गरियो भने सिमेन्टको खपत पनि बढ्ने र सडक पनि बलियो हुन्छ । यसको चर्चा धेरै अगाडीदेखि चले पनि व्यवहारमा भने लागू हुन सकेको छैन । यसरी सडक बनाउँदा बलियो मात्र हुने होइन स्वदेशी उत्पादनबाट बन्ने भएकोले स्वदेशी उद्योगलाई सहयोग त पुग्छ नै साथै विदेशबाट यसको लागि कच्चा पदार्थ मगाउनु पर्ने अवस्था पनि अन्त्य हुन्छ । नेपालको सिमेन्ट विदेश निर्यात गर्नका लागि भने पूर्वाधारको जरुरी हुन्छ । त्यो पूर्वाधार बनिसकेको छैन । विदेशमा सिमेन्ट निर्यात गर्दा लाग्ने लागत घटाउनलाई मालबहाक रेल तथा ठुलो परिमाणमा ढुवानी गर्न सक्ने सवारी साधनको विकास हुनुपर्छ । अनि मात्रै हामीले निर्यात गर्ने सिमेन्टको मूल्य अन्य देशको मूल्यसँग प्रतिस्पर्धा गर्न सक्छ ।
हामीले सिमेन्ट निर्यात गर्ने भनेको हाम्रा छिमेकी मुलुक भारत र चीनमा हो । चीनतर्फ तत्कालै हामीले नेपालमा उत्पादन भएको सिमेन्ट निर्यात गर्न सक्ने पूर्वाधार नै बनेको छैन । भारततर्फको निर्यातमा ट्रकबाट सिमेन्ट बोकेर भारतसम्म पुर्याएर हाम्रो सिमेन्ट त्यहाँ बेच्न सकिने अवस्था पनि छैन । केही समय अघि जगदम्बा सिमेन्ट लगायत अन्य सिमेन्ट कम्पनीहरुले भारतमा ट्रक मार्फत सिमेन्ट बोकाएर निर्यात गर्ने प्रयास गरे । तर, उक्त प्रयास त्यहाँको सिमेन्टको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेपछि विफल भयो । तत्कालका लागि नेपालबाट अन्य देशमा सिमेन्ट निर्यात गर्न सक्ने सम्भावना छैन । तर, भविष्यमा भने नेपालको सिमेन्ट छिमेकी देशहरूमा लगेर बेच्न सकिने भने प्रचुर सम्भावना छ ।
सिमेन्टमा ग्रेडिङको आवश्यकता कतिको छ ?
नेपाल नापतौल तथा गुणस्तर विभागले सिमेन्टका लागि निर्धारण गरेका गुणस्तरको मापन गर्ने एउटा विधि हो । यसमा ओपीसी र पिपिसी दुवै सिमेन्टमा गुणस्तर मापन गरेर ग्रेडिङ छुटाइन्छ । नेपाल सरकारले केही समयअघिदेखि ओपीसी सिमेन्टको ग्रेड न्यूनतम ४३ हुनुपर्ने र अर्को ५३ ग्रेड हुनुपर्ने मापदण्ड बनाएको छ । सरकारले सिमेन्टको न्यूनतम गुणस्तर ४३ र ५३ ग्रेड हुनुपर्ने बनाएपछि सबैजसो उद्योगहरूले यो ग्रेड लिनका लागि आवेदन दिएका छन् । धेरैजसो सिमेन्ट उद्योगहरूले यो ग्रेड पाइसकेको अवस्था पनि छ ।
प्राविधिकरुपमा ४३ ग्रेडको सिमेन्ट र ५३ ग्रेडको सिमेन्ट कहाँ कहाँ प्रयोग गर्ने भन्ने चाहिँ प्रमुख कुरा हो । र, अहिले आम उपभोक्ताका बिचमा पनि यो विषय सबैभन्दा बढी चासो भएको विषय पनि हो । पहिला त पूर्वाधार निर्माण गर्ने व्यक्ति तथा संस्थाले निक्र्यौल गर्नु पर्यो । कुन पूर्वाधार बनाउँदै छु र त्यसमा कुन सिमेन्ट आवश्यक पर्छ । उपभोक्ताले बनाउने पूर्वाधार ढलान, प्लास्टरको समय अवधिले पनि कुन ग्रेडको सिमेन्ट प्रयोग गर्ने हो भन्ने निर्धारण गर्छ । यदि पूर्वाधार निर्माण गर्न लामो समय छ भने त्यस्ता पूर्वाधारमा पिएससी सिमेन्ट पनि प्रयोग गर्न सकिन्छ ।
कुन सिमेन्ट कस्तो ठाउँमा प्रयोग गर्ने भन्ने विषयको छनौट आफूले बनाउन लागेको पूर्वाधार आवासीय हो की व्यवसायीक हो त्यसमा पनि निर्भर हुन्छ । साथै इन्जिनियरहरूको सल्लाहमा पनि भर पर्छ । उनीहरूले कुन संरचनाको लागि कुन सिमेन्ट ठिक हो भन्ने प्रायः सल्लाह दिन्छन् । सामान्य आवासीय घरहरूको लागि ४३ ग्रेडको सिमेन्ट प्रयोग गरिएको पाइन्छ भने ठूला ठूला परियोजनामा ५३ ग्रेडको सिमेन्ट प्रयोग गरिएको पाइन्छ । पानी भित्रै ढलान गर्नु पर्ने हाइड्रो ,डाम जस्तो संरचनाहरुमा धेरै चाडो सेट हुने सिमेन्ट प्रयोग गरेको पाइन्छ । जुन अहिले नेपालमा पाइँदैन ।
जगदम्बा सिमेन्टले पिएससी सिमेन्ट पनि उत्पादन गर्दै आएको छ । कस्तो खालको संरचनामा यसको प्रयोग हुन्छ ?
यसलाई ब्ल्याण्डेड सिमेन्ट भनिन्छ । पिपिसी सिमेन्ट र पिएससी सिमेन्ट दुवै ब्ल्याण्डेड सिमेन्ट हो । पिपिसी सिमेन्ट प्रयोग गर्ने ठाउँमा नै प्राय जसो पिएससी सिमेन्टहरू प्रयोग हुने गर्दछ । जहाँ क्रयाक्स बढी हुन्छ, त्यो ठाउँमा पिएससी सिमेन्ट प्रयोग गर्ने हो भने क्रयाक्स कम हुने सम्भावना हुन्छ । साधरणतया यो सिमेन्ट जोडाई, प्लास्टरहरूमा बढी प्रयोग गरिन्छ ।
त्यस्तै सानो खालको संरचना छ भने त्यस्तोको ढलाईमा पनि प्रयोग हुने गर्दछ । जहाँ पानीको केही अभाव छ भने त्यस्तो ठाउँमा पिएससी सिमेन्ट प्रयोग गर्ने गरिन्छ । बजारमा पिपिसी र पिएससी सिमेन्टको समान मूल्य छ । पिएससी सिमेन्टलाई बनाउने कच्चा पदार्थलाई व्यवस्थापन गर्न अलिकति चुनौती पनि छ । त्यसले गर्दा पनि अरू उद्योगपतिहरूको चासो कम भएको हुन सक्छ । ९, १० वर्ष अगाडी पिएससी सिमेन्टको बारेमा बुझाउन अलि गारो थियो । मानिसहरूले प्रयोग गर्न चाहँदैन थिए । तर हामीले ग्राहकलाई बुझाउँदै गयौँ र आजको दिनमा पिएससी सिमेन्ट राम्रो नै बिक्री गरिरहेका छौँ ।हाल वीरगन्ज, नारायनघाटदेखि पूर्वमा पुरै पिएससी सिमेन्ट बिक्री हुने गर्छ । काठमाडौंमा हामीले पिपिसी र पिएससी बराबर मात्रामा बेचिरहेका छौँ ।
हाल अन्तर्राष्ट्रिय बजारमा कोइला अभाव छ । नेपालको सिमेन्ट उद्योगमा यसको प्रभाव कत्तिको परेको छ ?
कोइलाको कारणले गर्दा निर्माण सामग्रीसँग प्रत्यक्ष सरोकार राख्ने उद्योगहरू सिमेन्ट, छड र इँटामा यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । अझै निकै ठुलो प्रभाव पर्ने स्थिति देखिरहेको छ । आजको दिनमा इन्डियाबाट नेपाल आउने कोइलाहरू सप्लाई कम भइरहेको छ । नेपालमा भएका क्लिंङ्कर उद्योगहरूले अहिलेसम्म पनि पर्याप्त मात्रामा कोइलाहरू पाईरहेका छैनन् । भारतमै यति ठुलो कोइलाको उपयोग छ की यो उनीहरूले पनि यहाँ दिन सक्ने अवस्था छैन । जसको असर छडमा पनि देखिएको छ । यसले गर्दा अहिले छडको मूल्य १० रुपैयाँसम्म बढेको छ ।
इँटा उद्योगहरूले त कोइला नै नपाएको गुनासो गइरहेको छन् । उनीहरु अब कसरी इँटा बनाउने बनेर निराश बनेको स्थिति छ । सिमेन्टकै कुरा गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा कोइलामा भएको मूल्य वृद्धिको कारणले नेपालमा सिमेन्टको मुल्यमा १५ देखि २२ प्रतिशतसम्म मूल्य वृद्धि हुन जान्छ। जसका कारण सिमेन्टमा प्रति बोरा १०० रुपैयाँ देखि १२० रुपैयाँसम्म मूल्य वृद्धि हुने सम्भावना देखिन्छ । जुन आम उपभोक्ताको लगानीमा ठुलो वृद्धि हुनेछ ।
साधारण संरचना बनाउँदा एउटा घरको ५ देखि ७ लाखसम्म लगानी बढ्ने देखिरहेको छौं । यो सारै नै दुखदायी नै छ । हामीसँग साधन स्रोत, आफ्नै कोइला उद्योग छैन जसले गर्दा बाध्य भएर स्वीकार्नु परेको छ । विगत १५, २० दिन देखि आगामी कार्तिक मङ्सिरसम्ममा कम्तीमा पनि सिमेन्टमा १०० रुपैयाँसम्म मूल्य वृद्धि हुने अवस्था देखिएको छ ।
प्रतिक्रिया दिनुहोस