aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

रङ्गी–विरङ्गी मिठाइप्रति कसरी सजग हुने ?

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • विहीबार, १८ कार्तिक २०७८
रङ्गी–विरङ्गी मिठाइप्रति कसरी सजग हुने ?

काठमाडौं । सामान्यतयाः चाडपर्वमा मिठाईजन्य पदार्थ अधिक प्रयोग गरिन्छ। उपभोक्तालाई आकर्षण गर्न रङ्गीचङ्गी बनाइएका जेरी, लड्डु, पेंडा, लालमोहन, लाखामरी, रसवरीलगायतका मिठाईहरू बिक्रीमा राखिन्छ। 

भिडभाड र हतारका बेला उपभोक्ताले गुणस्तरयुक्त र गुणस्तरहीन उपभोक्ताले छुट्ट्याउन सक्दैनन्। यसैले अखाद्य रङ्ग मिसावट, बासी, म्याद नाघेका कच्चापदार्थ प्रयोग भएका मिष्ठान्न पो छ कि ? यो स्वास्थ्यका लागि कति स्वास्थ्यजनक छ भनेर पनि सजग हुन जरुरी छ। किनभने बजारमा चाडपर्वकै मौका छोपेर कतिपय व्यवसायीले म्याद नाघेका घ्यू, तेल, मसला र खान नमिल्ने रङ प्रयोग गरेको पाइएका छन्। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज १८ देखि २२ सम्म २ सय ४९ खाद्य बजार, खाद्य उद्योग, होटल रेष्टुराँ अनुगमन गरेको थियो। अनुगमनका क्रममा दूषित तथा म्याद समाप्त भएका खाद्य पदार्थ प्रशस्तै पाइएको विभागले जनाएको छ। 

२ लाख ६० हजार रुपैयाँको उपभोग्य म्याद सकिएका तेल, मसला पदार्थ, दुग्ध पदार्थ, पेय पदार्थलहरू जफत तथा नष्ट गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।

दूषित जेरी बिक्री गरेको अभियोगमा वैशाख १४ गते कञ्चनपुरको मिलन होटलविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा नै दायर गरिएको छ। २०७७ साउन ५ गते काभ्रेको दुर्गा एन्ड चाट पसललाई समेत दूषित लड्डु बिक्री गरेको भन्दै मुद्दा हालिएको छ। २०७६ भदौमा बनेपाको आचार्य जलपान गृहलाई पनि दूषित लड्डु बेचेको अभियोगमा मुद्दा दायर गरिएको थियो।

विभागले आर्थिक वर्ष २०७७र७८ मा ९० र २०७६र७७ मा ५५ वटा गुणस्तरहीन वस्तु बिक्री गर्ने बिक्रेतालाई कारबाही गरेको छ।  विशेष गरेर चाडपर्वमा गुणस्तरहीन मिठाई बिक्री गर्न सक्ने भएकाले स्थानीय तहसँग मिलेर अनुगमनमा कडाइ गरेको प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। ‘दैनिक रूपमा देशैभर मिठाई तथा मिठाईजन्य पसलहरूमा अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘विभागसँग मिठाईमा पुरानो तेलको प्रयोग भएको छ कि छैन भनेर पत्ता लगाउने मेसिन छ।

 मेसिनको सहयोगले परीक्षण गरिरहेका छौं।’ सडे गलेको, फोहोरमैला वा विषाक्त अवस्थामा राखिएको खाद्य पदार्थ बिक्री गरेमा जरिवाना तथा कैद हुनेछ। यस्तो कार्य गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ। 

खाद्य नियमावलीले ११ प्रकारका रङलाई मात्र मान्यता दिएको छ। प्रवक्ता महर्जन भरसक रङहरू प्रयोग नगर्न सुझाव दिन्छन्। ‘प्रयोग गर्नै परे खाद्य गुणस्तरको मापदण्डअनुसार हुनुपर्छ,’ उनले भने। 

उपभोक्ताहरूले पनि झलक्क हेर्दा आकर्षक देखिने यस्ता अखाद्य रङबाट समेत हुनुपर्ने उनको भनाइ छ। ‘स्वास्थ्यलाई हानी गर्ने अखाद्य रङ मिसावट गरिएका मिठाईबाट उपभोक्ता सजग हुनुपर्‍यो,’ उनी भन्छन्। ‘यस्तो मिठाई ग्राहकले किन्दै नकिनेपछि व्यवसायीले पनि मिसाउनै छोड्छन्।’ रङसँगै अन्य कच्चापदार्थ उपभोग गर्न लायक छ वा छैन, भान्छाको सरसफाइबारे पनि सजग हुनुपर्छ। 

खाद्य नियमावली २०६४ ९पाँचौं संशोधन० अनुसार खाद्य पदार्थमा प्रयोग गर्न स्वीकृत कोलटार रङहरू सिन्थेटिक डाइज, टिक डाइज हुन्। रासायनिक संयोगबाट निर्मित कोलटार रङ वा ती रङहरूको समिश्रण बाहेक अन्य कोलटार खाद्य पदार्थमा प्रयोग गर्न पाइँदैन। कोलटार खानका लागि तयार खाद्य पदार्थमा प्रतिकिलो २ सय मिलिग्राममा नबढाइ प्रयोग गर्न सकिन्छ। 

कोलटार रङ सबै प्रकारको आइसक्रिम, चीज, फुलबाट बनेका परिकार, बिस्कुट, केक, पेस्ट्री, मिठाई, चिया, कफी, कोक, मदिरारहित पेय वस्तु, कष्टार्ड पाउडर, जेली पाउडर, प्रशोधित वा संरक्षित फलफूल र हरियो सागपात, सुप पाउडर,  सुगन्धित पदार्थ जस्ता खाद्य पदार्थमा मात्र प्रयोग गर्नुपर्छ। पकाएर खानुपर्ने खाद्य पदार्थमा कोलटार प्रयोग गर्न निषेध गरिएको छ। 

प्रतिक्रिया दिनुहोस